४ आश्विन २०८१, शुक्रबार
अर्थ

तेस्रो लगानी सम्मेलन आजदेखि, ५५ देशका लगानीकर्ता नेपालमा

१६ वैशाख,काठमाडौँ । एक सय पचास वटा परियोजना ‘सोकेस’ मा राख्दै आइतबारदेखि ‘इमर्जिङ नेपाल लगानी सम्मेलन २०२४’ सुरु हुँदै छ । यसअघिका दुई वटा सम्मेलनको निरन्तरताकै रूपमा आयोजना गर्न लागिएको तेस्रो लगानी सम्मेलन काठमाडौँमा आयोजना हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार बिहान औपचारिक उद्घाटन गरेपछि सुरु हुने सम्मेलन सोमबार बेलुकासम्म सञ्चालन हुने छ । उद्घाटन सत्रमा प्रधानमन्त्रीसहित २३ जनाले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनको दुई दिनको अवधिभर नेपालले लगानी भित्र्याउन चाहेका परियोजनाका विषयमा विदेशी र स्वदेशी लगानीकर्तालाई जानकारी गराउने कार्यक्रम राखिएको छ । सोकेसका रूपमा रहने त्यस्ता परियोजनाको प्रदर्शनीबाहेक सम्मेलनभर विभिन्न १० वटा विषयगत छलफल सत्र, नेपालमा लगानीको सम्भावना, विदेशी लगानीकर्ताको अनुभव र सार्वजनिक निजी साझेदारीका विषयमा समेत छुट्टै बृहत् छलफलको कार्यक्रम राखिएको छ ।

त्यस्तै तोकिएका निश्चित लगानीकर्ताको समूहलाई सोझै प्रधानमन्त्रीलाई भेट्न सक्ने र आफ्ना योजना सार्वजनिक गर्न सक्ने कार्यक्रम पनि सोही क्रममा राखिएको छ । यसबाहेक दुई दर्जन जति बिटुबी (व्यवसायी व्यवसायीबिच सोझै हुने छलफल) पनि सो क्रममा हुने छ । सम्मेलनकै क्रममा लगानी टुङ्गिएका परियोजनामा सम्झौतासमेत हुने छ । सम्मेलन अवधिभर भएका सम्झौता र उपलब्धिको विवरण सार्वजनिक गर्दै सोमबार समापन गर्ने कार्यक्रम राखिएको छ ।

सम्मेलनको सचिवालयका रूपमा काम गरिरहेको लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्न उपाध्यायका अनुसार सम्मेलनका लागि तय गरिएका विषयगत सत्र र छलफल सत्रका लागि ५० जनाभन्दा बढी वक्ता टुङ्गो लागेका छन् । सम्मेलनमा सहभागिताका लागि कार्यालयका तर्फबाट दुई हजार चार सय जनाभन्दा बढीलाई निम्तो पठाइएकोमा एक हजार सात सय जनाभन्दा बढीले सहभागिता जनाउने सुनिश्चित भइसकेको उनले बताए ।

चीनका सहभागी धेरै

लगानी बाेर्ड कार्यालयका अनुसार सम्मेलनका लागि ५५ भन्दा बढी देशका लगानीकर्ता, दातृ निकाय, कूटनीतिक नियोगका प्रतिनिधि आउने सुनिश्चित भएको छ । जसमध्ये सबैभन्दा धेरै चीनबाट २६५ जना सहभागी आउने टुङ्गो लागिसकेको प्रवक्ता उपाध्यायले जानकारी दिए । त्यस्तै भारतबाट १४३ जना, संयुक्त राज्य अमेरिकाबाट ३३ जना, जापानबाट २८ जना, बेलायतबाट १४ र बङ्गलादेश तथा संयुक्त अरब इमिरेट्सबाट १३/१३ जनाले सहभागिता जनाउने छन् । १२ जनाभन्दा कम सहभागी हुने देशहरूमा जर्मनी, दक्षिण कोरियो, अस्टे«लिया, मलेसिया, पाकिस्तान, सिङ्गापुर, कतार, घाना रहेका छन् ।

यसबाहेक सम्मेलनमा साउदी अरब, फ्रान्स, बहराइन, स्विट्जरल्यान्ड, फिनल्यान्ड, रसिया, अस्ट्रिया, श्रीलङ्का, कोलम्बिया, फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट पनि लगानीकर्ता सम्मेलनमा सहभागी हुने छन् । इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड्स, पोल्यान्ड, इन्डोनेसिया, ताजिकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको, साइप्रस, आयरलाइन्ड, स्लोभेनिया, भियतनाम, बोस्निया एन्ड हर्जगोभिना, इरिटेअ, मोरक्को, टर्की, भानुआतु, मौरिटानिया र हङकङबाट पनि एक एक जना लगानीकर्ता आउने सुनिश्चित भएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्