१३ मंसिर २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति

समाचार टिप्पणी : सुहाङको ‘लक्की सेभेन’ मत

१९ वैशाख, काठमाडौं । २०८१ सालको पहिलो पन्ध्रौं दिनमा देशका दुई स्थानमा उपनिर्वाचन भए । इलाम क्षेत्र नम्बर २ मा संघीय संसद र बझाङमा प्रदेश सभा सदस्यको । दुवै क्षेत्रमा सत्ता गठबन्धनले जितेको छ, उम्मेदवार थिए एमालेका ।

उपनिर्वाचनभरी इलाम भने निकै चर्चामा रह्यो । बझाङ अलि ओझेलमा थियो । इलाम चर्चाको पनि शिखरमा रहनुको कारण स्पष्टै थियो, पहिलो त त्यहाँबाट प्रतिनिधि सभाका लागि नयाँ सदस्य चुनिँदै थिए । दोस्रो, त्यो क्षेत्रमा उपनिर्वाचन हुँदा प्रमुख दलहरुले प्रतिष्ठाको विषय बनाएका थिए ।

संविधान सभाको दुई पटक अध्यक्ष र प्रतिनिधि सभाको पटक पटक सभामुख भइसकेका सुवास नेम्वाङलाई इलामको क्षेत्र नम्बर २ ले नै चुनेर पठाएको थियो । गएको भदौमा उनको आकस्मिक निधन भएपछि त्यो क्षेत्र रिक्त हुनपुग्यो । तसर्थ त्यसको परिपूर्ति गर्न उपनिर्वाचन अनिवार्य थियो, १५ वैशाखमा त्यही पद परिपूर्ति गरियो ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङ आफ्ना दिवंगत पिताको उत्तराधिकारी बनेका छन् । गत निर्वाचनमा आफ्ना पितालाई झिनो मत अन्तरले पछ्याएका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई भारी मतले पछि पारेर सुहाङ प्रतिनिधि सभा सदस्य चुनिएका छन् २७ हजार ७ सय ७२ मत पाएर । उनी गठबन्धनका पनि उम्मेदवार थिए । डम्बरले एक्लै प्रतिष्पर्धा गरेर २१ हजार ९ सय ४२ मत पाए । कांग्रेसले घोषित रुपमा अरु कसैसँग गठबन्धन गरेको थिएन ।

निर्वाचन प्रचार अभियानमा धुलो उडाउन अग्रणी देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी सहानुभूतिको पात्र मात्र बनेको छ । इलामले उसलाई त्यति सत्कार गरेन । उग्र शैलीका उम्मेदवार उभ्याएर रास्वपाले आफ्नै वजन घटाएको टिकाटिप्पणी भइरहेका छन् । बरु पहिचानको नारा लगाएका स्वतन्त्र उम्मेदवारले उल्लेखनीय मत पाएर आफ्नो परिचय भने स्थापित गरेका छन् ।

उपनिर्वाचन सकिएको छ । बधाई सभा पनि समापन भएको छ । अब जित्ने प्रतिनिधि एकातिर र पराजितहरु अर्कातिर व्यस्त हुनेछन् । भूमिका बदलिएको छ भने समीक्षा गर्नेलाई समय प्रशस्त मिलेको छ ।

जित्ने उम्मेदवारको परीक्षाको अवधि सुरु भएको छ । उनले गरेका वाचा र देखाएका सपनाहरु मतदाताले औंला भाँचेर गणना गरिरहने छन् । पराजितले पनि फर्केर मतदातालाई धन्यवाद दिने उदारता र राजनीतिक संस्कार प्रदर्शन गर्छन् गर्दैनन् भनेर पनि हिसाबकिताब अवश्य नै हुने छ ।

यहाँ अर्को महत्वपूर्ण पक्ष के छ भने उपनिर्वाचनका बेला गाउँगाउँ पुगेर मतदातालाई आफ्ना उम्मेदवारका पक्षमा मत याचना गरेका नेताहरुले स्थानीय जनताको दैनन्दिनको भोगाइ र कठिनाइहरु पनि देखे कि आश्वासन मात्र दिएर फर्किए ? उनीहरुको इमान र उत्तरदायित्व इलाम र बझाङका मतदाताले अवश्य पनि लेखाजोखा गर्ने नै छन् ।

सरकारको नीति तथा कार्यक्रम आउने समय भएको छ । राष्ट्रिय बजेट पनि निर्माणको क्रममा छ । यस्तो अवसरमा ती दुइ क्षेत्रका जनताले भोगेका समस्यालाई प्रत्यक्ष देखेर आएका नेताहरुले समाधानको पहल पनि गर्लान् कि राजधानी ओर्लनासाथ बिर्से भन्ने कुरा निकट भविष्यमा देखिँदै जाने छ ।

उपनिर्वाचनभरी इलाममा डेरा जमाएर बसेका कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, प्रचार अभियानमा पुगेका अर्का महामन्त्री गगन थापा, नेता शेखर कोइराला र अरु धेरै नेताहरु निर्वाचन क्षेत्रका गाउँगाउँ पुगेका थिए ।

पूर्व उपसभामुख शिवमाया तुम्वाहाम्फे एमालेको निर्वाचन कमाण्डर नै थिइन । अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु पटक पटक इलाम पुगेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रबि लामिछाने पनि प्रचारमा पुगेका थिए भने स्वर्णिम वाग्ले लगायतका रास्वपा नेताले समेत गाउँको अनुहार प्रत्यक्ष देखेका थिए । अरु दलका नेता कार्यकर्ताको ओहोरदोहोर पनि कम थिएन ।

निर्वाचनमा हारजित त हुन्छ नै । एउटाले जित्छ बाँकी अरु त हार्छन् नै । तर यो जित र हारले जनताको समस्याको समाधान गर्नेतिर लाग्न रोक्न मिल्ला र ? सम्भवतः नेताहरुसँग निर्वाचन क्षेत्रका जनताले यस्तो प्रश्न गरिरहेका हुनेछन् ।

मत संख्या २७ हजार ७ सय ७२ एउटा सिम्वोल बनेको छ । सुहाङले पाएको यो मत प्राविधिक मूल्याङनको विषय मात्र बन्नु हुँदैन । न यो कुनै दल विशेषको मात्र हक लाग्ने मत हो । यो मतमा युवा पुस्ताको लगानी छ । आशा र भरोसाको पनि सम्बन्ध छ ।

सुहाङ भलै एमालेका उम्मेदवार हुन् तर प्रतिनिधि सभामा प्रवेश गर्दैगर्दा उनीसँग युवा पुस्ताको मतदाता र आगामी निर्वाचनहरुमा मतदानयोग्य बन्दै गरेको नयाँ पुस्ताको पनि ध्यान जोडिन पुगेको छ । बधाई लिँदै गरेका सुहाङलाई अहिले नै धेरै जवाफदेही बनाउनु उपयुक्त नहोला ।

 

प्रतिक्रिया दिनुहोस्