पर्वतमा किसानलाई आत्मनिर्भर बनाउन पालिकाको अनुदान
२१ वैशाख,पर्वत । पशुपालनबाट किसानसँगै गाउँपालिकालाई पनि आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको महाशिला गाउँपालिकाले पशुपालक किसानलाई अनुदान दिने भएको छ ।
महाशिला गाउँपालिका र हेफर इन्टरनेशनलको साझेदारीमा किसानसँग महाशिला कृषि कार्यक्रमअन्तर्गत पालिकाका छवटै वडामा व्यावसायिक रूपमा पशुपालन गरेका किसानलाई रु ३१ लाख ५० हजार अनुदान वितरण गरिने भएको छ ।
महाशिला गाउँपलिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालका अनुसार पालिकाले व्यावसायिक पाख्रापालन गर्ने, गाईगोरु, भैँसीपालन गर्ने किसानलाई उक्त अनुदान दिनेछ । चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटबाट एक सयजना बाख्रापालन गर्ने किसानलाई खोर सुधारका लागि रु २५ लाख प्रदान गरिने छ ।
अनुदान लिने किसानले कम्तीमा पाँचवटा माउबाख्रा पालेको हुनुपर्ने प्रावधान छ । अनुदान पालिकाका छवटै वडाका पशुपालन गर्ने निजी फार्म, कृषक समूह, सहकारी वा साझेदारी फार्मलाई पनि समेटिएको छ ।
त्यसैगरी भकारो सुधार कार्यक्रमका लागि रु तीन लाख ५० हजार अनुदान वितरण गरिने भएको छ । गाउँपालिकाभित्रका ५० जना किसानलाई भकारो सुधारका लागि अनुदान दिने उनले बताए।
कम्तीमा एउटा गाई, एक हल गोरु र एउटा भैँसी पालेका किसानलाइ रु सात हजारका दरले अनुदान दिइने छ । पालिकाको एउटा वडामा १५ रोपनी क्षेत्रफलमा घाँसको स्रोत केन्द्र बनाउनका रु एक लाख ५० हजार अनुदान दिइने छ । स्रोत केन्द्रबाट पालिकाका छवटै वडामा घाँसको बीउ र बिरुवा विस्तार गरिने छ ।
पालिकाभित्रका विभिन्न २८ वटा कृषक समूहलाई घाँसको बीउ र बिरुवा वितरण गर्न पालिकाले अनुदान दिने भएको छ । चालु आर्थिक वर्षमा रु एक लाख ५० हजार बीउ तथा बिरुवा वितरणका लागि अनुदान दिइने अध्यक्ष भुसालले जानकारी दिए ।
अनुदान लिनका लागि कृषक, सहकारी वा साझेदारी फार्मले पन्ध्र दिनभित्र संस्था वा फार्म दर्ताको प्रमाणपत्र, नागरिकता, निवेदन, जग्गाको जग्गाधनी पुर्जाजस्ता कागजात पालिकाको पशु सेवा शाखामा पेस गर्न अनुरोध गरिएको छ । पालिकाले केही वर्षअघिदेखि मासु र दूध उत्पादनमा पनि अनुदान दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्