५ आश्विन २०८१, शनिबार
समाचार समाज

चार प्रदेशमा भारी वर्षा, सप्तरीमा १०२ मिलिमिटर पानी पर्‍यो

३० वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहित चार प्रदेशमा मध्यमदेखि भारी वर्षा भएको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभावका कारण वर्षा भएको विभागको भनाइ छ ।

मौसम विद् सञ्जीव अधिकारीका अनुसार कोशीको मोरङ, संखुवासभा र ओखलढुंगामा भारी वर्षा भएको छ भने मधेश प्रदेशको सप्तरी, सर्लाही, बारा र पर्सामा भारी वर्षा भएको छ ।
उनले मधेश प्रदेशको सप्तरीमा मात्रै १०२ मिलिमिटर वर्षा भएको बताए ।

यस्तै बागमतीमा मध्यमसम्म वर्षा भएको छ। मकवानपुर र सिन्धुपाल्चोकमा ३० देखि ४० मिलिमिटरसम्मको मध्यम वर्षा भएको मौसमविद अधिकारीले जानकारी दिए ।

उनका अनुसार काठमाडौंउपत्यकामा दिनभरी मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ भने राति पनि वर्षा हुने सम्भावना रहेको छ ।

यस्तै गण्डकी र लुम्बीनीको पाल्पा, नवलपुरमा भारी वर्षा भएको छ भने वर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना निकै कम रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्