४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

६ दशकदेखि ज्ञान बाँड्दै लालचन्द्र राजभण्डारी

३० वैशाख, गण्डकी । तपाईँलाई आज हामी कम्तिमा ६० वर्ष पुरानो किताब दोकानमा लैजाँदै छौँ । त्यो बागलुङ बजारको लालीगुराँसचोकमा विसं २०२१ मा खुलेको लालचन्द्र-राजेशचन्द्र राजभण्डारी किताब दोकान हो ।

पुस्तक, पत्रपत्रिका तथा स्टेशननरी बेचेर स्थानीयस्तरमा छ दशकदेखि ज्ञान बाँड्दै आएका लालचन्द्र राजभण्डारी दोकानको कुनापट्टि एउटा कुर्सी राखेर टुसुक्क बसिरहेका छन् । त्यहीबेला हामी पनि ८२ वर्षीय राजभण्डारीसँग भलाकुसारी गर्न टुप्लुक्क पुग्यौं। भण्डारीले छ दशकसम्म किताब बेचेर हासिल गरेको अनुभव जान्नु थियो हामीलाई ।

‘आरामै हुनुहुन्छ गुरु ?’  हाम्रो कुराकानी सुरू भयो नमस्कारको अभिवादनसँगै ।

कसैका लागि शिक्षादिक्षा दिने गुरु ।कोहीका लागि राजनीतिक-सामाजिक गुरु । कसैले यसै सम्मानपूर्वक पुर्काने गुरु । बस् ! लालचन्द्र गुरु । त्यसैले हामीले पनि गुरु भनेरै सम्बोधन गर्यौ ।

 

‘आरामै छु बाबु !’

अब उनीसँगको कुराकानी सुरूभयो । कुराकानीबाट थाहा भयो, उनले एउटा पुस्तक व्यवसायीका रूपमा स्थानीयलाई ज्ञान बाड्ने र तिनै पुस्तक पढेर आफूले पनि समकालीन समाज, राज्य व्यवस्था र राजनीतिलाई बुझेका रहेछन् । त्यही बुझाइले उनलाई बहुदलका पक्षमा प्रखररूपमा उभिन सघाउ पुग्यो र अरूलाई पनि परिवर्तको आन्दोलनमा सघाउने चेतना फैलियो ।

६५ वर्षअघिको कुरा हो । विसं २०१६ मा उनले पाल्पाबाट एसएलसी दिए । हालको बागलुङ नगरपालिका-३ स्थित विद्यामन्दिर माध्यमिक विद्यालयमा १० कक्षासम्म अध्ययन गरे पनि त्यसताका एसएलसी दिन कि पाल्पा कि काठमाडौँ जानुपर्ने भएकाले उनले पाल्पाबाट एसएलसी दिएका थिए । एसएलसीपछि काठमाडौँको त्रिचन्द्र कलेजबाट उनको उच्च शिक्षा अध्ययन सुरू भयो ।

उनकी बहिनी गङ्गा र भाइ कृष्णचन्द्र घरमै बसेर पढिरहेका थिए । पछि भाइ कृष्णचन्द्र चिकित्सा अध्ययनका लागि भारत गए । त्यसपछि घरमा व्ययभार थपियो । उनका स्थानीय किनाराटोलमा कपडा दोकान सञ्चालन गरिहरेका बुबा तेजबहादुरलाई छोराछोरीको पढाइ खर्च धान्न गाह्रो हुँदै गयो ।

यतिसम्म समस्या भयो कि विद्यालयको शुल्क तिर्न नसकेपछि छोरी गङ्गाको पढाइ बीचमै रोकिने अवस्था आयो । छोरा कृष्णचन्द्रले पनि पढाइ छोडेर घर फर्कनुपर्‍यो ।

त्यसपछि लालचन्द्रले पनि आफ्नो पढाइलाई निरन्तरता दिनसकेनन् । उनी काठमाडौँ छोडर बागलुङ फर्किए । यहाँ आएपछि उनले आफैँले पढेको विद्यामन्दिर माविमा अध्यापन गर्न थाले । ‘विसं २०१८ देखि तीन वर्षसम्म शिक्षक भएर काम गरेँ । कक्षा आठ र नौमा गणित र नेपाली विषय पठाउँथेँ’, उनले स्मरण गरे, ‘पछि प्रधानध्यापकसँग कुरा नमिलेपछि पढाउन छाडेँ र विसं २०२१ पुसदेखि हो यो पुस्तक दोकान सुरु गरेको ।’

भाइबहिनीको पढाइलाई निरन्तरता दिन आफूले पढ्न छाडेर पढाउने पेसा र व्यवसाय रोजेको लालचन्द्रको भनाइ छ ।  त्योबेला बागलुङ बजार बसिसकेको थिएन। चारैतिर फाँटैफाँट थियो । फाट्टफुट्ट घर बन्न थालेका थिए ।

राधाकृष्णटोलको पुरानो घरमा उनले पुस्तक दोकान सुरू गरे । पहिलोपटक जनकपुरबाट पुस्तक ल्याएर दोकान खोलेको क्षण लालचन्द्रको मनस्पटलमा ताजै छ । ‘त्यो बेला मङ्सिरमा शैक्षिक शत्र सकिने भएकाले पुस लागेपछि पुस्तक दोकान सुरू गरेका थियौँ”, उनले भने, ‘सुरूमा पाठ्यपुस्तक र परीक्षा सहयोगी पुस्तक बढी बेचिन्थ्यो, पछि धार्मिक, साहित्यिक पुस्तक र पत्रपत्रिकासमेत बेच्न थाल्यौँ।’

जनकपुरबाट भैरहवा हुँदै गाडीमा पोखरा आएका पुस्तकलाई पोखरादेखि भरिया लगाएर बागलुङ ल्याउने गरेको उनले सुनाए ।

भरियाले दुई सय ज्याला लिएर पोखराबाट दुई दिनमा पुस्तक बागलुङ पुर्‍याउँथे। ‘हुलाकबाट पनि पुस्तक, पत्रपत्रिका दोकानमा आउँथ्यो। पुस्तक मगाउँदा पनि हुलाकबाटै चिठ्ठीमा लेखेर पठाउनुपथ्र्यो, फोन सुविधा थिएन’, लालचन्द्रले ति दिन सम्झिए ।

उनले जेठो दाइ सूर्यचन्द्रसँग मिलेर पसल सुरू गरेका थिउ । नाम ‘लालचन्द्र-सूर्यचन्द्र पुस्तक तथा स्टेशनरी दोकान’ थियो । विसं २०२७ मा भाइ कृष्णचन्द्रको नाम जोडेर ‘लालचन्द्र-कृष्णचन्द्र पुस्तक तथा स्टेशनरी दोकान’को नामाकरण गरे ।

फेरि विसं २०३४ पछि जेठो छोरा राजेशचन्द्रको नामसहित ‘लालचन्द्र-राजेशचन्द्र पुस्तक, पत्रपत्रिका तथा स्टेशनरी दोकान’लाई निरन्तरता दिए । जुन अहिले बागलुङको दोस्रो पुरानो पुस्तक पसलका रूपमा परिचित छ ।

विसं २०५० तिर बागलुङ गाडी आएपछि भरिया लगाएर पुस्तक ल्याउनुपर्ने बाध्यता हट्यो। पोखरा, काठमाडौँलगायतका स्थानबाट पुस्तक तथा पत्रपत्रिका सहजै आउन थाले ।

अरु पुस्तक तथा स्टेशनरी व्यवसायी पनि थपिँदै गए । बजार विस्तार हुँदै गयो । त्यतिबेला म्याग्दीको राखु, दरबाङ, पर्वतको फलेवास, पश्चिम बागलुङको बुर्तिबाङसम्मका मानिस त्यहाँ पुस्तक किन्न पुग्ने गर्थे ।

किताब किनेर रातारात घर फर्कनलाई गाउँलेहरु राँको लिएर आउने गरेको उनले स्मरण गरे । ‘पर्वत, म्याग्दीमा पुस्तक पसल थिएन, सबै यही आउनुपर्थ्यो’, उनले भने, ‘पत्रपत्रिका किन्न र पढ्न कर्मचारीदेखि सर्वसाधारणको भीड लाग्थ्यो ।’

उबेला मातृभूमि, समीक्षा, विमर्शलगायत पत्रपत्रिका उनको पसलमा नियमित आउँथे । राजदूताबास र विभिन्न प्रकाशन संस्थाका माध्यमद्वारा चीन तथा भारतबाट निस्कने अखबार र पुस्तकहरु पनि उनको पसलमा पुग्थे तर राज्यको नजरबाट प्रगतिशील पुस्तकहरू जोगाउन उनलाई हम्मेहम्मे पर्थ्यो ।

‘प्रगतिशील पुस्तक, पत्रपत्रिका पनि आउने भएकाले तत्कालीन सत्ताको नजरमा हामी तारो बनेका थियौँ’, उनले भने, ‘बहुदल पक्षधर भएको आरोपमा स्थानीय प्रशासनले बेलाबेला दुःख दिने गर्थ्यो तर डराउने स्वभाव थिएन मेरो । गलत कुरा गर्यो भने अञ्चालाधीश, सिडिओहरुको पनि आलोचना गर्थेँ ।’

उनले पसलमा आएका पुस्तक र पत्रपत्रिका बेच्नुमात्रै भएन आफूले पनि पढेर ज्ञान आर्जन गरे । त्यही ज्ञानले पछि पञ्चायत विरोधी आन्दोलनमा पनि सक्रिय हुने अवस्था बनायो ।

आन्दोलनका क्रममा पञ्चायती व्यवस्थाको विरोधमा सार्वजनिक ठाउँमा मन्तव्य दिएका कारण त्यसबेलाका अञ्चलाधीशले जिल्लाका अड्डा प्रमुखलाई आफ्नो पसलबाट किताब, मसलन्द नकिन्नु भनेर उर्दी नै जारी गरेको उनको सम्झनामै छ । पञ्चायतकालमा माक्र्स, माओ र लेनिनका पुस्तक लुकाइछिपाइ बेच्ने गरेको उनले बताए ।

पारिवारिक बाध्यताले व्यवसाय सुरू गरे पनि व्यावसायिक लाभसँगै शिक्षित समुदायको सेवा, बौद्धिक सङ्गत र जनचेतना अभिवृद्धिको ध्येयले आफूले पुस्तक दोकानलाई निरन्तरता दिएको उनको भनाइ छ ।

‘अहिलेजस्तो सूचना प्रविधिको विकास भएको थिएन, हप्तौँपछि बल्ल पत्रपत्रिका बागलुङ आइपुग्थे’, लालचन्द्रले भने, ‘पत्रपत्रिका नपढेसम्म देशविदेशमा के भइरहेको छ भन्ने थाहा हुँदैन्थ्यो । त्यसैले लाभका लागि मात्र नभई स्थानीयस्तर सूचना र ज्ञान बाड्न योगदान गर्ने उद्देश्यले पनि पसललाई निरन्तरता दिनुपर्यो ।’

पुस्तक व्यवसायी लालचन्द्र विसं २०३६ मा बागलुङ उद्योग वाणिज्य सङ्घको अध्यक्षसमेत बनेका थिए । वैचारिकरूपमा प्रष्ट र निडर स्वभावका उनी बहुदल पक्षधर भएकै कारण विसं २०२७ र २०३७ मा दुईपटक जेलसमेत परेका थिए ।

वाम विचारधारा बोक्ने उनी विसं २०४९ को स्थानीय चुनावमा तत्कालीन कालिका गाउँ सिवकास समितिको उपाध्यक्षमा निर्वाचित भएका थिए । उनले विसं १९९७ मा स्थापित विद्यामन्दिर मावि र विसं २००३ मा स्थापित विद्यामन्दिर पुस्तकालयलगायत शैक्षिक संस्थाको नेतृत्वसमेत गरिसकेका छन् ।

उनी पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घलगायत कैयन सङ्घसंस्थाबाट सम्मानितसमेत भइसकेका छन् ।

८२ वषको उमेरसम्म पनि आफ्नो पुस्तक व्यवसाय र सामाजिक जीवनमा पनि सक्रिय छन्। व्यवसायमा जीवनसङ्गीनी शोभा, छोराहरू राजेशचन्द्र, मुकेशचन्द्रलगायतको दरिलो साथ छ ।

‘सानैदेखि पुस्तकसँग खेलिरहेको भएर होला अध्ययनमा पनि मेरो गहिरो रुचि छ, अहिले पनि नियमित पुस्तक पढिरहेको हुन्छु’, लालचन्द्रले भने, ‘मपछि पनि छोरानातिको पुस्ताले यो व्यवसायलाई निरन्तरता दिउन् भन्ने चाहना छ ।’

सबैभन्दा रोचक त उनको पसलमा ५३ वर्षअघिको कुर्सी छ । त्यही कुर्सीमा बसेर उनले अहिले पनि व्यवसाय गरिरहेका छन् । समय, उमेर सबै फेरियो तर त्यही कुसी किन नफेर्नुभएको ? हाम्रो प्रश्नको जवाफमा उनी भन्छन्, ‘नयाँ कुर्सी किन्न नसकेर होइन नि यो त माया लागेर नफेरेको ।’

उनी पछिल्लो समय देशमा कुर्सीकै लागि राजनीतिक दलहरूबीच भइरहेको खिचातानीलाई आफ्नो कुर्सीले व्याङ्ग्य गरिरहेको सुनाउँछन् ।

‘मैले पुस्तक व्यवसायका साथै राजनीति पनि गरे । तत्कालीन अवस्थामा गाविसको उपाध्यक्षसमेत बने तर कहिले लोभ जागेन । अरुलाई प्रेरणा दिने भूमिकामा रहेका राजनीतिकर्मीले अरुले सक्ने व्यवहार पनि गर्नुपर्छ’, उनले भने, ‘तर अहिले त परिवर्तनका लागि लड्ने नेताहरू नै कुर्सीकै लागि झगडा गरिरहेका छन् । त्यो देख्दा खिन्न लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्