४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार

संसदीय समिति बनाउन सहमति जुटेन, कांग्रेसले संसद बैठक अवरोध गर्ने

३ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न दलहरुका बिचमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ ।

आज बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै दिउँसो ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । दलहरुका बीचमा सहमतिको प्रयास भएको भएपनि नेपाली कांग्रेसले भने अनुरुपको संसदीय छानबिन समिति बनाउन सत्तारुढ दलहरु (सरकार) तयार नभएपछि कांग्रेसले अवरोध कायम राख्ने भएको छ ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले सहमतीको बिन्दुमा पुग्न नसकिएको बताएकी हुन् । उनले सहमति जुट्न नसकेका कारण कांग्रेसले आफ्नो मागलाई यथास्थितिमा राख्दै बैठक अवरोध राख्ने जानकारी दिइन् ।

उनले भनिन्, ‘अहिले सहमतिको बिन्दुमा पुग्न सकेन । तत्काल हामी सदनमा यथावस्थामा आफ्नो माग राखेर उभिने पक्षमा छौँ । केही कुराहरु अपुग भयो । केही कुराहरु नसमेटिएको हुनाले केही समय चाहिएको जस्तो अनुभुति भएको छ । विषयवस्तु गृहमन्त्रीले बोल्नु र नबोल्नुमा सरोकार रहेन । हामीले राखेको सरोकार भनेको संसदीय छानबिन समिति गठन हुनुपर्छ । संसदीय छानबिन समिति डा. रामशरण महतदेखि जनार्दन शर्माको पालासम्म गठन हुने । अहिलेको पालामा चाहीँ नहुने भन्ने अभ्यास कहाँबाट शुरु गर्न खोजेको हो यो चाहीँ नमिलेको छ । सरकारमा संलग्न दलहरुको कारणले अड्किएको हो ।’

त्यस्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकार सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार भएपनि गृहमन्त्री रवि लामिछाने केन्द्रित भएर छानबिन गर्न तयार नभएको बताए । उनले गृहमन्त्री लामिाछानेकेन्द्रित छानबिन गर्नुपर्ने आफूहरुको मागमा सहमति नजुटेको कारण कुरा नमिलेको बताए ।

उनले भने, ‘कुरो मिलेको छैन । छानबिन समिति जुन हामीले माग गरेका छौँ । त्यसमा रविजी लगायत सहकारीमा दुरुपयोग, ठगि भएको छ । सबैलाई समेटेर छानबिन हुनुपर्छ भन्ने हाम्रो माग हो । त्यसको लागि सत्तापक्ष तयार हुनुभएको छैन । उहाँहरुको सामान्यतया सहकारीहरुको कहाँ के समस्या छ त्यसको हेर्ने, त्यसको छानबिन गर्ने भन्ने किसिमले आएको हुनाले सहमति हुन सकेको छैन । अन्य पनि छानबिन होस् त्यसमा आपत्ति छैन । तर रविजीको विषयमा छानबिन अवरुद्ध भइरहेको छ । त्यस हुनाले संसदीय छानबिन समितिले नै माग गर्‍यौँ । त्यो विषयलाई ओझेलमा पारेर त्यसलाई सामान्यिकरण गर्दाखेरी त्यसको लक्ष्य हासिल हुन सक्दैन । त्यस हुनाले कुरा मिलेको छैन ।’

उनले सरकारले गृहमन्त्री लामिछानेको विषयलाई सामान्यिकरण गरेर छानबिन समिति बनाउन खोजेको भन्दै सो कुरा कांग्रेसलाई मान्य नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्