४ आश्विन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार

कोशीसँगको हारले ललितपुर–११ पनि बाहिरियो

३ जेठ, काठमाडौं – ललितपुर मेयर्स–११ तेस्रो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० प्रतियोगिता २०२४ मा कोशी प्रदेशसँग ६ विकेटले पराजित भएसँगै फाइनल दौडबाट बाहिरिएको छ ।

८९ रनको लक्ष्य पछ्याएको कोशीले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विकेटकिपर काजोल श्रेष्ठ ४५ बलमा ३ चौकासहित ३६, अप्सरी बेगम ७ र टिका साहले २५ रन बनाइन् । ललितपुर मेयर्स ११ की कृतिका मरासिनीले ३ र सरस्वती कुमारी चौधरीले १ विकेट लिइन् ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको ललितपुर मेयर्स ११ ले २० ओभरमा ९ विकेट गुमाउँदै ८८ रन बनायो । आश्मा पुलामी मगरले ३२ बलमा २ चौकासहित २६ र किरण कुँवरले १३ रन बनाइन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सरस्वती कुमार चौधरी ६, कप्तान पुजा महतो, एलिसा यादव र सृष्टि जैसी ८-८रनमा आउट भए । कोशीकी अप्सरी बेगमले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिइन् । एलिसा खडियाले ४ ओभरमा २ मेडनसहित ९ रन खर्चेर २, सबनम राई र हिरन्मई रोयले १-१ विकेट लिइन् ।

एपीएफ ४ खेलमा ८ अंकका साथ फाइनलमा पुगी सकेको छ । सुदूरपश्चिम ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । ललितपुर ११ ले ४ खेलमा १ मा जित र ३ मा हार हात पार्दै तेस्रो स्थानमा रहेर बाहिरियो । कोशी पनि ४ खेलमा २ अंकका साथ चौथो स्थानमा रहेर बाहिरियो ।

बागमती प्रदेश ३ खेलमा २ अंकका साथ पुछारमा छ । सुदूरले शुक्रबार बागमतीसँग खेल्नेछ । उक्त खेलमा सुदूर विजयी भएमा फाइनलमा पुग्नेछ । तर बागमती विजयी भएमा भने सुदूरको नेटरनरेटमा भर पर्नेछ ।

बागमतीको नेटरनरेट माइनस १.४३० र सुदूरको ०.६३४ छ । त्यसैले बागमती फाइनलमा पुग्न अविश्वसनीय फराकिलो जितको अन्तर हात पार्नुपर्छ । फाइनल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्