४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

भारतीय दुई कम्पनीको मसलाको आयातमा तत्काल रोक

३ जेठ, काठमाडौं । नेपालले भारतमा उत्पादित दुई मसला कम्पनीको ब्राण्डको आयातमा तत्काल रोग लगाउने निर्णय भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतका एमडीएच र एभरेस्ट ब्राण्डका चार वटा मसलाको गुणस्तरमा प्रश्न उठेपछि बिहिबार रोक लगाउने निर्णय गरेको हो ।

विभागका महानिर्देशक मतिना जोशी वैद्यका अनुसार एमडीएच र एभरेस्ट ब्राण्डका का साम्बर मसला, करी पाउडर र फिश करी मसलाको आयातमा तत्काल रोक लगाउन सम्बद्ध सरकारी निकायहरूलाई पत्राचार गरिएको छ ।

‘यी मसलाको पदार्थहरुको आयात अनुमति तत्काल स्थगित गर्ने र आयात बिन्दुमा रहेको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यलयलाई आयात अनुमति जारी नगर्ने भनेर पत्राचार भइसकेको छ,’ वैद्यले अनलाइनखबरसँग भनिन् ।

हङ्कङको खाद्य तथा वातावरणीय स्वच्छता विभाग र सिंगापुर खाद्य एजेन्सीले भारतीय कम्पनीहरुको एमडीएच र एभरेस्टका मसलामा ‘एथलीन अक्साइड’ नामक क्यान्सर गराउने रासायनिक पदार्थ मिश्रण भएको भन्दै प्रतिबन्ध लगाइएको छ ।

हङ्कङ तथा सिंगापुरले आयातमा रोक लगाएसँगै उक्त कम्पनीका मसला आयत हुने देशले अनुसन्धान गरिरहेका छन् ।

 

‘एथलीन अक्साइड’ को प्रयोगबारे संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ संगठन र खाद्य तथा कृषि संगठनले गठन गरेको ‘कोडेक्स एलिमेन्टारिअस कमिशन’ ले बनाएको मापदण्डका आधारमा यस्तो रोक लगाइएको महानिर्देशक वैद्यले जानकारी दिइन् ।

सदस्यराष्ट्र भएकाले नेपालले पनि उक्त संस्थाले बनाएको मापदण्ड पालना गर्दै आएको छ ।

आयात अनुमति रोक्न पत्राचार गरेका मसलाहरूमा एमडीएचबाट उत्पादित तीन प्रकारका मसला र एभरेस्टबाट उत्पादित एउटा मसला छन् ।

डोसा र इडलीसँगै खाइने दाल र तरकारीको परिकार बनाउन प्रयोग हुने एमडीएचको साम्बर मसला (१००) ग्राम, तरकारीमा प्रयोग हुने मद्रास करी पाउडर (१००) ग्राम र करी पाउडर मिक्स (१००) ग्राम मसला हुन् ।

त्यस्तै एभरेस्टबाट उत्पादित माछाको परिकारमा प्रयोग गरिने फिश करी (५० ) ग्राम को आयातमा रोक लगाउन पत्राचार गरिएको वैद्यले जाकारी दिइन् । विभागको अनुसार ती मसलाहरु हालका लागि प्रतिबन्ध नभई आयातमा मात्रै रोक लगाइएको छ ।

ती कम्पनीबाट उत्पादित ब्राण्डका मसला बजार भए फिर्ता गर्नका लागि आयातकर्तालाई निर्देशन दिने निर्णय समेत भएको वैद्यले जानकारी दिइन् ।

‘राष्ट्रिय खाद्य तथा दान रिफरेन्स प्रयोगशालालाई उत्पादित मसलाको ‘एथलीन अक्साइड’को परीक्षणलाई उच्च प्राथमकितामा राखी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छौं,’ वैद्यले भनिन्, ‘परीक्षणमा हानिकारक पदार्थ भेटिए अन्य मसलाहरूमा पनि प्रतिबन्ध हुनसक्छ ।’

 

प्रतिक्रिया दिनुहोस्