५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

मोटरसाइकल चोरीको आरोपमा ६ जना पक्राउ

६ वैशाख, काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न मितिमा चोरी भएका पाँच थान मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेर मकवानपुर प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा हेटौडा उपमहानगरपालिका-१६ का २० वर्षीय मिलन पाख्रिन, सोही ठाउँका ३० वर्षीय रत्नबहादुर गोले, बकैया गाउँपालिका-८ का १९ वर्षीय सञ्जिव भोलन, सोही ठाउँका ३३ वर्षीय रमेश लोप्चन, इन्द्रसरोबर गाउँपालिका-५ का २९ वर्षीय सुवास बम्जन र अशोक स्याङ्तान छन् ।

सुरुमा २ जेठमा मिलन पाख्रिन र रत्नबहादुर गोलेलाई चोरीको बागमती प्रदेश–०२–०३ प २१९६ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुलाई सोधपुछ गर्दा सञ्जिव भोलनले बिक्रि गरेको बताएपछि भोलनलाई बागमती प्रदेश–०२–०४१ प ३९०८ नम्बरको २२० सिसीको चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा रमेश लोप्चन, सुवास बम्जनले मोटरसाइकल दिएको भोलनले बताएपछि उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनीहरुले मोटरसाइकल चोरी गरेर पार्टपुर्जाहरु अशोक स्याङ्तानलाई बेच्ने गरेको बताएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबाट विभिन्न मितिमा चोरी भएका ५ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । चोरी गर्नका लागि चाबी तोड्न प्रयोग गरिएको ‘मास्टर की’ समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकाहरुविरुद्ध चोरीको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्