१० मंसिर २०८१, सोमबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

सडक तथा पुल निर्माण

६ जेठ, गण्डकी । गण्डकी प्रदेश सरकारको सहयोगमा पोखरा महानगरपालिका–१६ मा विभिन्न सडक तथा पुल निर्माण सम्पन्न भएका छन् । वडाभित्रका भूतेखोला मोटरेबल पुल, घुरकुना दाद्रे र्‍याले सडकका साथै भित्तेबजार सडक स्तरोन्नति सम्पन्न भएको हो ।

यी तीनवटै योजना आर्थिक वर्ष ०७९/८० मा सुरु भएर आर्थिक वर्ष ०८०/८१ मा सम्पन्न भएको पूर्वाधार विकास कार्यालय कास्कीका सिडिई शोभियत खड्काले जानकारी दिए ।

उनका अनुसार सम्पन्न योजनामध्ये भित्तेबजार सडक स्तरोन्नतिको ठेक्का सम्झौता रकम रु तीन करोड ८१ लाख रुपैयाँ भएकामा तीन करोड ७१ लाखमा सम्पन्न भएको हो । अमित बिल्डर्स खासाङ गाउँपालिका मुस्ताङले निर्माण गरेको सडक सात सय मिटर लम्बाइ तथा आठ मिटर चौडाइ रहेको छ ।

त्यस्तै भूतेखोला मोटरेबल पुल तीन करोड २८ लाखमा सम्पन्न भएको छ । भदौरे निर्माण सेवा पोखराले निर्माण गरेको १४ मिटरको लम्बाइको पुल योजनाको निर्धारित समयभन्दा चार महिना अगाडि सम्पन्न भएको हो । त्यस्तै वडाको घुरकुना दाद्रे र्‍याले सडक तीन करोड ५८ लामा सम्झौता भए पनि तीन करोड ७६ लाख लागत लागेको जनाइएको छ ।

बस्ती बग्न सक्ने जोखिम देखिएर ग्याबिनको काम थप गर्नु पर्दा लागत केही बढेको जनाइएको छ । कूल तीन किमी सडकमध्ये आठ सय ४० मिटरमा कालोपत्र तथा बाँकीमा ग्राभेल र नाला निर्माण गरिएको छ । यो सडक अर्मलाकोट हुँदै आटीघर मौजा, दूधपोखरी, सिक्लेस, हुँदै मनाङसम्म जाने सडक हो ।

सम्पन्न सडक तथा पुलको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विकास गाउँमा जाने तर गाउँका बासिन्दा सहर झर्ने क्रम बढ्नु चुनौतीपूर्ण भएको बताए।

विकास गाउँमा पुगेपछि त्यसबाट अधिकतम फाइदा लिँदै अग्र्यानिक खेती, घरबासलगायत काममार्फत पर्यटन मैत्री वातावरण सिर्जना गरी गाउँमा घुम्नका लागि पाहुना पुग्ने वातावरण तयार गर्नुपर्ने बताए ।

अर्मलामा बेलाबेलामा प्राकृतिक विपत्ति आएकोतर्फ सङ्केत गर्दै उनले प्रकृतिलाई बचाउने गरी पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए । जनसङ्ख्या वृद्धि भए पनि खोलाघरलाई कायमै राख्नुपर्नेमा जोड दिँदै उनले निकास मिचेर नभई निकास दिएर विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा पोखरा –१६ का वडा सदस्य रामचन्द्र आचार्य, पूर्ववडाध्यक्ष जीवन आचार्य, स्थानीय लीलाधर आचार्य, श्यामलाल लामिछानेलगायतले वडाभित्रका विकास निर्माणका कार्य एवम् भोग्नुपरेका समस्यालगायतले प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्