ईभीमा बढ्यो कर, कुन रेन्जमा कति ?
१५ जेठ, काठमाडौं । सरकारले विद्युतीय गाडी (ईभी) मा कर बढाएको छ । ईभीको अन्तःशुल्क र भन्सार दरमा परिवर्तन गरेको हो । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा ईभीको कर बढाएका हुन् ।
१० सिटयुक्त ईभीमा अनएसेम्बल्ड र अन्यमा १० प्रतिशतबाट १५ प्रतिशत भन्सार पुर्याइएको छ । सोही प्रकारका ईभीमा अन्तःशुल्क पनि अनएसेम्बल्ड र अन्य दुवै प्रकारमा ५ प्रतिशत लगाउने भएको छ । यसमा यसअघि अन्तःशुल्क लगाइएको थिएन ।
५० किलोवाटसम्मको मोटर भएका ईभीमा पनि भन्सार बढाइएको छ भने अन्तःशुल्क लगाइने छ । उक्त मोटर क्षमता भएको ईभीमा १० प्रतिशत रहेको भन्सार महसुल १५ प्रतिशत पुर्याइएको छ ।
५० किलोवाटसम्म क्षमता भएका ईभीमा ५ प्रतिशत अन्तःशुल्क पनि लगाइने भएको हो । यसअघि अन्तःशुल्क लगाइएको थिएन ।
५० देखि १०० किलोवाट मोटर क्षमता भएका ईभीमा भन्सार र अन्तःशुल्क दुईमा समान ५ प्रतिशतले बढाइएको छ । उक्त क्षमताका ईभीमा अनएसेम्बल्ड अन्तःशुल्क नलाग्ने व्यवस्था रहेकोमा अब १५ प्रतिशत लाग्ने भएको छ । सोही क्षमताका अन्य ईभीमा १० प्रतिशत रहेको अन्तःशुल्क १५ प्रतिशत पुग्दा उक्त क्षमताका अनएसेम्बल्ड र अन्य दुवैमा भन्सार १५ प्रतिशतबाट २० प्रतिशत पुर्याइएको छ ।
१०० देखि २०० किलोवाट क्षमतायुक्त ईभीमा भन्सार १० प्रतिशतले बढ्दा अन्तःशुल्क भने यथावत राखिएको छ । उक्त मोटर क्षमताको अनएसेम्बल्ड ईभीमा यसअघि अन्तःशुल्क नचलाए पनि अब २० प्रतिशत लाग्ने भएको छ भने तयारी भएर पैठारी हुनेको अन्तःशुल्क २० प्रतिशत नै यथावत छ ।
तर, १०० देखि २०० किलोवाट मोटर क्षमतायुक्त ईभीको भन्सार महसुल भने २० बाट ३० प्रतिशत पुगेको हो । बढेको भन्सार अनएसेम्बल्ड र अन्य दुवैका लागि हो ।
२०० किलोवाटभन्दा बढीको भन्सार बढ्दा अन्तःशुल्क घट्यो
२०० किलोवाटभन्दा बढीको मोटर क्षमता भएका ईभीमा भन्सार बढ्दा अन्तःशुल्क भने घटेको छ । उक्त मोटर क्षमता भएका ईभीमा अनएसेम्बल्ड र अन्य दुवै प्रकारमा भन्सार ४० प्रतिशतबाट २० प्रतिशत बिन्दुले बढेर ६० प्रतिशत पुग्दा अन्तःशुल्क १० प्रतिशत बिन्दुले घटेको छ ।
उक्त क्षमताको अनएसेम्बल्ड ईभीमा अन्तःशुल्क शून्य रहेकोमा अब ३५ प्रतिशत लाग्ने भएको छ भने अन्यमा ४५ प्रतिशत रहेकोमा अन्तःशुल्क ३५ प्रतिशतमा घटेको हो ।
३०० किलोवाटभन्दा धेरै मोटर क्षमता भएका ईभीमा पनि २० प्रतिशत बिन्दुले भन्सार महसुल बढाउँदा अन्तःशुल्क भने १० प्रतिशत बिन्दुले घटेको छ ।
उक्त मोटर क्षमतायुक्त ईभीको भन्सार महसुल ६० बाट ८० प्रतिशत पुर्याउँदा अन्तःशुल्क भने ६० बाट ५० प्रतिशतमा झरेको छ । यसमा अनएसेम्बल्ड भए अन्तःशुल्क नलाग्ने हालको व्यवस्थामा अब भने त्यसमा पनि ५० प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ ।
सामान ढुवानी गर्ने ईभीमा पनि सरकारले अन्तःशुल्क लगाउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्