४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार

सञ्जय बुढाथोकीलाई स्ववियू परिषद् अध्यक्ष नस्वीकार्ने नेविसंघ नेताहरुको चेतावनी, निर्णय सच्याउन नेतृत्वलाई सुझाव

१८ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघबाट विभिन्न क्याम्पसमा निर्वाचित भएका स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरुले केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले मनपरी ढंगले स्ववीयू परिषद्मा नियुक्ति गरेको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले केन्द्रीय अध्यक्ष शेर्पाले गलत निर्णय लिएको बताए ।

शंकर देव क्याम्पसका स्ववियू सचिव मदनराज उपाध्यायले स्वतन्त्र विद्यार्थी युनियन आफैंमा निर्वाचित संस्था भएकाले स्ववियू परिषद् पनि निर्वाचित हुनुपर्ने बताए । आफूहरु लोकतान्त्रिक प्रक्रियालाई मान्ने र स्ववियू परिषद्को निर्वाचन जित्ने जोसुकैलाई अध्यक्ष मान्न तयार रहेको बताए ।

कैलाश कुट क्याम्पस स्ववियू सभापति शुवर्ण गौतमले नेविसंघभित्रको गलत प्रवृत्तिले संगठनलाई एनजीओजसरी चलाउन खोजेको टिप्पणी गरे । १४ वर्षपछि भएको स्ववियू निर्वाचनबाट नेविसंघ पहिलो भइरहँदा पनि नेविसंघ केन्द्रीय समितिले स्ववियू परिषद्को चुनाव गराउन नसकेको भन्दै आपत्ति जनाए । उनले केन्द्रीय अध्यक्ष शेर्पाले आफूनिकट मान्छेहरुलाई नियुक्त गरेको बताए ।

सरस्वती बहुमुखी क्याम्पसका स्ववीयू सभापति मुस्कानराज गौतमले स्ववियू परिषद्को अधिवेशन हुनुपर्ने बताए । नेविसंघका केन्द्रीय अध्यक्ष शेर्पाको मनोमानी आफूहरुलाई स्वीकार्य नरहेको बताए ।
त्यस्तै, पब्लिक युथ क्याम्पसका स्ववियू सभापति नविन पाण्डेले स्ववियू परिषद् वैधानिक तरिकाले हुनुपर्ने बताए । उनले नेविसंघका केन्द्रीय अध्यक्ष शेर्पाले अलोकतान्त्रिक तरिकाले आफ्नो पकेटको मान्छेलाई स्ववियू परिषद् जिम्मा लगाएको उनको आरोप छ । पाण्डेले अधिवेशनमार्फत स्ववियू परिषद्को अध्यक्ष चुनिनुपर्ने पक्षमा नेविसंघबाट निर्वाचित भएका ८५ भन्दा बढी सभापतिहरुको बहुमत रहेको बताए । जसरी भएपनि स्ववियू परिषद्को अधिवेशन गराएरै छाड्ने उनको भनाइ छ ।

शंकरदेव क्याम्पस स्ववियू सभापति शुसान्त बस्नेतले स्ववियू परिषद्को अधिवेशन कुनै पनि हालतमा हुनुपर्ने बताए । नेविसंघ केन्द्रीय अध्यक्ष शेर्पासँग हिसाबकिताब गर्न आफूहरु तयार रहेको पनि उनले बताए । उनले देशभरीको स्ववियू सभापतिहरुको भेला बोलाएर नेविसंघ केन्द्रीय कार्यालयमा हस्तक्षेप गरी आफैंलाई नेविसंघको केन्द्रीय अध्यक्ष घोषणा गराउने समेत चेतावनी दिए ।स्ववियू परिषद्का अध्यक्ष एवं नेविसंघका केन्द्रीय सदस्य निराजन नेपालले नेविसंघका अध्यक्ष शेर्पाविरुद्ध विद्रोह गर्ने बताए । अध्यक्ष शेर्पाले सञ्जय बुढाथोकीलाई स्ववियू परिषद्को अध्यक्षमा मनोनित गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्