३ आश्विन २०८१, बिहीबार
समाचार समाज

मातृभाषाको पत्रकारितालाई प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाको निष्कर्ष, ८ बुँदे घोषणापत्र जारी

२२ जेठ, काठमाडौं। मातृभाषाको पत्रकारिताको प्रवर्द्धनका लागि दक्षिण एसियाका पत्रकारहरुबीच एक जुट हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

जेठ १९ गते ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र २० गते मध्यपुर थिमीमा भएको दुई दिने सम्मेलनमा उपस्थि सरोकारवालाहरूले यस्तो जोड दिएका हुन् ।

राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले घोषणापत्रले मातृभाषा पत्रकारिताको विशेषता, त्यसको महत्व तथा एजेण्डाका विषयमा दक्षिण एसियाली पत्रकारहरुबीच ऐक्यबद्धता र सहकार्यको लागि आधारभूभि तयार गरेको बताए ।

उनले भने, ‘यसले सय वर्षअघि नेपालभाषामा पत्रकारिता सुरू गर्ने धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)को व्यक्तित्व र योगदानलाई अन्तर्राष्ट्रियकरण भएको छ। सम्मेलनको एउटा अर्को महत्वपूर्ण उपलब्धि हुन् ।’

साथै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न गर्दै उनीहरूले साझा ऐक्यबद्धता र सहकार्य गर्ने सम्बन्धी ८ बुँदे घोषणापत्र पारित गरेका छन् ।

घोषणापत्रमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय अध्यक्ष गजुरधन राई, सार्क जर्नालिष्ट फोरमका केन्द्रीय अध्यक्ष राजु लामा, सार्क जर्नालिष्ट फोरमका महासचिव एमडी अब्दुल रहेमान, फोरमको भारत च्याप्टरका अध्यक्ष सुधांशु अनिरुद्ध र भुटान पत्रकार संघका किन्ले डिमले हस्ताक्षर गरेका छन् ।

वि.सं १९८२ साल(नेपाल संवत् १०४५) मा भारतको कलकत्ताबाट पाटन निवासी धर्मादित्य धर्माचार्य(जगतमान वैद्य) ले बुद्ध धर्म त्यसपछि बुद्धधर्म र नेपालभाषा गरी पा“च वर्षसम्म निरन्तर प्रकाशित पत्रिका प्रकाशन गरेका थिए । उक्त पत्रिका १९ अंकसम्म प्रकाशित भएपछि बन्द भएको थियो।

नेपाल भाषाको पत्रकारिताको इतिहास सय वर्ष पुगेको सन्दर्भमा मातृभाषा पत्रकारिता शताब्दी वर्ष अन्तर्गत सो सम्मेलन आयोजना गरिएको थियो।

नेवाः पत्रकार राष्ट्रिय दबूले सार्क जर्नालिष्ट फोरम तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संग सहकार्य गरी सो कार्यक्रम आयोजना गरेको थियो।सम्मेलनको पहिलो दिन नेपालमा मातृभाषाको पत्रकारिताको प्रवृतिको अबको बाटो, विश्वमा मातृभाषाको पत्रकारिताको अवस्था, दोस्रो दिन मातृभाषा पत्रकारिताको विकासको लागि सरकारले के गर्नुपर्दछ भन्ने विषयमा सहभागी दक्षिण एसियाका पत्रकारहरुबीच प्यानल छलफल भएको थियो।

सम्मेलनमा वरिष्ठ पत्रकार पुष्करभक्त माथेमा, सुरजवीर बज्राचार्य, सहयोग रञ्जित र श्रीजना नेवाले, नेपालभाषाको पत्रकारिता, धर्मादित्य धर्माचार्य र मातृभाषाको पत्रकारिता बारे कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै भारतमा सामुदायिक रेडियो, भारत मातृभाषा पत्रकारिताको विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो।

घोषणापत्रमा मातृभाषा पत्रकारिता दिवसलाई अझ व्यापक गर्ने, विविध भाषाभाषीहरुले पुस्तौंदेखि अभ्यासद्वारा संग्रह गरिराखेको ज्ञान, सीप र प्रविधि विश्वव्यापी रुपमा हराउने क्रममा रहेकोले त्यसको संरक्षणको लागि मातृभाषा पत्रकारिताको माध्यमलाई प्रभावकारी र शक्तिशाली माध्यम बनाउने उल्लेख गरिएको छ । नेपालका प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको जन्मजयन्ती (हरेक वर्ष बुद्धजयन्तीको अघिल्लो दिन) को दिन मनाउँदै आएको छ ।

यस्तै विविध भाषाभाषी, बहुल जातजाति र समुदायलाई सम्बन्धित मातृभाषाको माध्यमबाट सुसूचित हुने र अभिव्यक्ति स्वतन्त्रताको हकप्रति ऐक्यबद्धता प्रकट गर्दै घोषणापत्रमा दक्षिण एसियाली राष्ट्र, जनताबीच सुमधुर बनाउन मातृभाषाको पत्रकारिता माध्यमबाट बढावा दिने भनिएको छ।

साथै मातृभाषा जोगाउन तथा त्यसका लागि मातृभाषाका पत्रकार र सञ्चारमाध्यमलाई विशेष सहुलियत, अनुदान तथा पत्रकारहरुलाई सीप विकासको लागि सहायता प्रदान गर्ने र मातृभाषा पत्रकारिता सम्मेलन नियमित रुपमा विभिन्न राष्ट्रमा आयोजना गर्ने प्रतिबद्धता पनि उल्लेख गरिएको छ।

हरेक साता विश्वमा दुई वटा भाषा लोपहुने गरेको संयुक्त राष्ट्रसंघको निष्कर्ष र मातृभाषा सम्बन्धी घोषणलाई आधार लिएर सो घोषणा जारी गरिएको घोषणापत्रमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्