३ आश्विन २०८१, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार

अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हरायो

२४ जेठ, अमेरिका – घरेलु टोली अमेरिकाले आईसीसी टी–२० विश्वकप २०२४ मा पाकिस्तानमाथि सुपर ओभरमा जित हात पारेको छ । समूह ए मा लगातार दोस्रो जितका साथ अमेरिकाले सुपर–८ को सम्भावना मजबुत बनाएको छ । अमेरिकाले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानलाई हराएको हो ।

पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक पर्दथ्यो । सौरभ नेत्रवालकरले १३ रन खर्चिदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए । सौरभले पहिलो बल इफ्तिखर अहमदलाई डट राखे । दोस्रो बलमा काउकर्नरमा चौका हाने । लगत्तै तेस्रो बल वाइड फ्याँले । तेस्रो बलमा इफ्तिखर लङअनमा क्याच आउट भए । बाँकी तीन बलमा १४ रन चाहिँएको थियो । त्यसपछि वाइड र लेग वाइमा चौका गयो । दुई बलमा ९ रन चाहिँदा २ रन बटुले । अन्तिम बलमा पाकिस्तानलाई जित्नलाई ७ रन चाहिँएको थियो । एक रन दिदै अमेरिका सुपर ओभरमा विजयी भयो ।

सुपर ओभरमा मोहम्मद आमिरले १८ रन खर्चिएका थिए । आमिरले पहिलो बल आरोन जोन्सलाई चौका, दोस्रोमा दुई र तेस्रोमा एक दिए । चौथो बल वाइड हुँदा अमेरिकाले थप अतिरिक्त लेग वाइ जोडेको थियो । पाँचौं बलमा वाइडसहित दुई दिए । पाँचौं बलमा एक रन बटुले । अन्तिम बलमा वाइडसहित तीन रन खर्चिए । त्यसपछि एक रन दिएपछि अमेरिकाले १८ रन जोगेको थियो ।

१६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनायो । अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिँदा हरिस रौफले १४ रन खर्चिदै सुपर ओभरमा पुर्याएका थिए ।

अन्तिम ओभरको सुरुवाती तीन बल हरिस रौफले ३ रन दिएका थिए । तर चौथो बलमा आरोन जोन्सले छक्का हानेपछि खेल थप रोचक बनेको थियो । अन्तिम बलमा जित्नलाई ५ रन चाहिँदा नितेश कुमारले चौका प्रहार गर्दै बराबर गराएका थिए ।

अमेरिकाका कप्तान मोनांक पटेलले ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । ओपनर स्टिभ टेलर १६ बलमा १ चौकासहित १२ रनमा आउट भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि मोनांक र एन्ड्रिस गौसले ४८ बलमा ६८ रनको साझेदारी गर्दै जितको आधार तय गरे ।

गौस २६ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । आरोन जोन्स २६ बलमा २ चौका र २ छक्कासहित ३६ र नितेश कुमारले १४ रन बनाए । पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले १–१ विकेट लिए ।

त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । कप्तान बाबर आजमले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४ तथा स्पिन अलराउण्डर सादब खानले २५ बलमा १ चौका र ३ छक्कासहित ४० बनाएपनि जित्नलाई पर्याप्त हुन सकेन ।

एक समय ४.४ ओभरमा २६–३ को अवस्थामा पुगेको पाकिस्तानलाई बाबर र सादबले ७२ रनको साझेदारी इख बचाएका थिए । शाहिन शाह अफ्रिदीले १६ बलमा १ चौका र २ छक्कासहित २३ रनमा नट आउट रहे । इफ्तिखर अहमद १४ बलमा ३ चौकासहित १८, हरिस रौफले ३, मोहम्मद रिजवान ९, उस्मान खान ३ र फखार जमान ११ रनमा आउट भए ।
अमेरिकाका नोष्थुश केजिंगेले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । अली खान र जसदीप सिंहको नाममा १–१ विकेट रह्यो ।

अमेरिकाले पहिलो खेलमा क्यानडालाई ७ विकेटले हराएको थियो । अमेरिकाले अव १२ जुनमा भारत र १४ जुनमा आयरल्यान्डसँग खेल्नेछ । पाकिस्तानले अव ९ जुनमा न्यूयोर्कमा भारतसँग खेल्नेछ । समूह ए मा भारत, पाकिस्तान, अमेरिका, क्यानडा र आयरल्यान्ड छन् ।

 

प्रतिक्रिया दिनुहोस्