४ आश्विन २०८१, शुक्रबार
अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

खरखरे भिरमा पहिरो रोकथानको पहल गरिँदै

३१ जेठ, लमजुङ । सङ्घीय सरकारको रु १६ करोड ४८ लाखमा खरखरे भिरमा पहिरो रोकथामका लागि पहल थालिएको छ । बेँसीसहर चामे सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित उक्त पहिरो रोकथामका लागि पर्खाल निर्माण गर्न थालिएको हो ।

हालसम्म करिब ८० प्रतिशत काम सम्पन्न भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ । उक्त खण्डमा तीन सय मिटर पर्खाल सडक ढलान गर्नुपर्नेमा हालसम्म दुई सय २० मिटर ढलान, सडकको तलमाथि एक सय मिटर ग्याभिन जाली राखिएको योजनाका सूचना अधिकारी एवं इञ्जिनियर किरण पोखरेलले जानकारी दिए ।

उनका अनुसार पहिरो गएको मुख्य भागमा पर्खाल उठाएर संरक्षण गर्ने, सडक माथिको भागबाट माटो खस्न नदिन पर्खाल बलियो बनाउन बाँकी छ । “अब ८० मिटर सडक ढलान गर्ने बाँकी छ । सो काम सम्पन्न भएसँगै पहिरोको रोकथाम र संरक्षण हुनेछ”,इञ्जिनियर पोखरेलले भने ।

अध्ययन गर्दाको अवस्था भन्दा काम गर्दा पहिरोको अवस्था फरक रहेकाले ढिलाइ भएको उनको भनाइ छ । पहिरोको मुख्य भाग संवेदनसिल रहेकाले हाल उक्त क्षेत्रमा काम नगरिएको इञ्जिनियर पोखरेलले बताए ।

खरखरे भिरको लागि बोलपत्र आह्वान गरेर रु २० करोड लागत अनुमान गरिएकामा रु १६ करोड ४८ लाखमा निर्माण सम्पन्ने गर्नेगरी खरीढुङ्गा गोल्मेस्वर जेभीले जिम्मा लिएको थियो ।

सम्झौता अनुसार गत मङ्सिर ९ गतेभित्र सम्पन्न हुनुपर्नेमा काम सम्पन्न हुन नसक्दा आगामी मङ्सिर ८ गतेभित्र सम्पन्न गर्नेगरी म्याद थप भएको सूचना अधिकारी एवं इञ्जिनियर पोखरेलले बताए । सोही पहिरो नजिकै बाटो तथा पुल निर्माणका लागि रु चार करोडको काम सानो खरिढुङ्गा निर्माण सेवाले जिम्मा लिएको छ ।

खरखरे भिरको पहिरोको वरिपरी टेवा पर्खाल लगाउने र सडक ढलान गरिए पनि यस वर्षको बर्खामा पहिरो जाने सम्भावना भने कायम नै रहेको इञ्जिनियर पोखरेलको भनाइ छ । “पहिरो हटाउँदै सडक खुलाउने तयारीमा छौँ । विगतको भन्दा कम समस्या हुने अनुमा गरेका छौँ”,उनले भने ।

मनाङ जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुसार विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौली तनहुँले निमार्ण सुरु गरेको थियो । विसं २०५७ देखि तत्कालीन नेपाली सेनाले सो सडक बनाउने जिम्मा पाएको थियो ।

बेँसीसहरमा रहेको तत्कालीन नेपाली सेनाले विसं २०६९ मा यस सडकको निर्माण पूरा गर्दै डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । पैसठ्ठी किलोमिटर रहेको उक्त सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्दछ । यस सडकलाई अवरुद्ध गर्ने मुख्य पहिरोमध्ये एक खरखरे भिरको हो ।

करिब छ वर्षअघिदेखि जान थालेको सो पहिरोले बर्सेनि बर्खामा समस्या उत्पन्न गर्दै आएको छ । सडक माथिदेखि तल मस्र्याङ्दी नदीसम्म ठूलो पहिरो जाने गरेको स्थानीय बताउँछन् । यस सडकको बेँसीसहरदेखि चामेसम्मको अधिकांश भाग जीर्ण अवस्थामा छन् । विषेश गरी बर्खाको समयमा ठाउँठाउँमा पहिरो जाने, सडक भासिने गर्दा सडक अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्