४ आश्विन २०८१, शुक्रबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

गण्डकी प्रदेशसभा : नीति तथा कार्यक्रम सम्बन्धमा छलफल

३१ जेठ, गण्डकी । गण्डकी प्रदेशसभामा आर्थिक वर्ष २०८१ – ८२ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा छलफल सुरु भएको छ । प्रदेशसभाको आजको बैठकको प्रारम्भमा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त छलफलमा भाग लिँदै गण्डकी प्रदेशसभामा प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारीले सरकारको नीति तथा कार्यक्रममा आमसञ्चारका सम्बन्धमा कहीँकतै उल्लेख नभएको बताएका छन् । लोकतन्त्रमा प्रेसलाई चौथो अङ्ग मानिएको तर नीति तथा कार्यक्रममा आमसञ्चारको विषय नआउनु उचित नभएको जिकिर गरे ।

प्रदेशसभा सदस्य अधिकारीले भूमि बैंक सम्बन्धमा नीति निर्माण गर्नुपर्ने बताए । उनले यससँग सम्बन्धित स्पष्ट नीति आउनुपर्ने धारणा राखे । योजना बैंकको सम्बन्धमा सार्वभौम संसद्ले थाहा पाउनुपर्ने उनको भनाइ थियो । “कृषि भूमिको अतिक्रमण र खण्डकीकरणको नियन्त्रणको विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको छैन”,प्रदेशसभा सदस्य अधिकारीले भने ।

कृषिको आधुनिकीकरण, व्यवसायीकरण, उद्यमशीलतामा सहकारी क्षेत्रको परिचालनको विषय उल्लेख नभएको उनले बताए । सहकारीको विकृतिका सम्बन्धमा प्रदेश सरकार गम्भिर बन्नुपर्ने प्रदेशसभा सदस्य अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्