झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा खटिएका २ प्रहरी पुरस्कृत
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/06/Donkey-Rescue.jpg)
३२ जेठ, काठमाडौं । कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा खटिएका २ प्रहरी पुरस्कृत भएका छन् ।
प्रहरी प्रधान कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालयले उद्धारमा खटिएका दुई प्रहरीलाई छुट्टाछुट्टै पुरस्कृत गरेका हुन् ।पुरस्कृत हुनेमा इलाका प्रहरी कार्यालय कालेकाँडा अछामका असई रामसिंह फराल र सोही कार्यालयका हवल्दार गंगाराम चौधरी छन् । उनीहरुलाई अभिलेखमा जनिने गरी नगदसहित पुरस्कृत गरिएको कर्णाली प्रदेशका डीआईजी रवीन्द्र केसीले बताए ।
त्यसैगरी उनीहरुलाई प्रहरी प्रधान कार्यालयले पनि पुरस्कृत गरेको छ । साहसिक कार्य गरेको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।२७ जेठमा अछामको पञ्चदेवल नगरपालिका–९ चिल्तडास्थित कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लठ्ठा चुडिएपछि १३ वटा खच्चड बीचमै फसेका थिए । उद्दार गरिएका मध्ये २ खच्चड मरेका थिए भने ११ खच्चड जीवितै थिए ।
यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्छ ।
प्रतिक्रिया दिनुहोस्