११ लाख चन्दा उठाएर स्थानीयले बनाए ५ किलोमिटर सडक
३२ जेठ, हेटौंडा। मकवानपुरको विकट कैलाश गाउँपालिकामा स्थानीयले चन्दा उठाएर ५ किलोमिटरभन्दा बढी सडक निर्माण गरेका छन् । समुदाय जुट्दा गाउँमा सडक निर्माण गर्न सकिने गतिलो उदाहरण बनेको हो, कैलाश-४ गर्खाल, चम्पाखानी देउराली सडक।
भौगोलिक रुपमा विकट कैलाश-४, स्थित चम्पाखानी, धुसराङ र देउरालीका तामाङ र चेपाङ समुदायका ४४ जना स्थानीयले छाक कटाएर जम्मा गरेको नगद र एक महिनाको मेहनतको प्रतिफल साढे २ किलोमिटर नयाँ ट्रयाकसहित पाँच किलो मिटर बाटो निर्माण भएको हो ।
राक्सिराङ गाउँपालिकाको वडा नम्बर-३ लावती हुँदै कैलाश गाउँपालिका वडा नम्बर-४ गर्खाल, चम्पाखानी देउराली सडक जोडिएपछि अब गाउँका उत्पादन बजार र बजारबाट आवश्यक सामग्री गाउँसम्म ढुवानीका लागि सहज भएको छ ।
स्थानीले हजार-दुई हजारदेखि आफ्नो गच्छे अनुसारको चन्दा २ लाख ७५ हजार, एकसय रुपैंया, स्थानीय देउराली सामुदायिक संस्थाबाट ५ लाख ७२ हजार ९ सय सत्तरी, श्रमदान २ लाख ६१ हजार ६ सय गरी ११ लाख ९ हजार ६ सय ७० रुपैया लागतमा ५ किलोमिटर ग्रामीण सडक निर्माण गरिएको छ ।
सहयोगमा कैलाश गाउँपालिकाले ५ सय लिटर डिजल, लालीगुराँस सिमेन्ट उद्योगबाट १४ घण्टा ब्रेकर मेसिन र राक्सिराङ गाउँपालिकाबाट १३ घण्टा मेसिन सहयोग प्राप्त भएको जनाइएको छ ।
स्थानीयले सडक निर्माणका लागि बजेट छुट्याउन तीन तहकै सरकारसँग अनुरोध गर्दा पनि बजेट उपलब्ध हुन नसकेको भन्दै चन्दा उठाएरै सडक निर्माण गरेको जनाइएको छ । मुठ्ठीदान तथा श्रम योगदान गर्दै गाउँमा बाटो निर्माण गरिएको कैलाश गाउँपालिकाको निवर्तमान अध्यक्ष टंक मोक्तानले बताए ।
स्थानीयले गत १८ वैशाखबाट काम सुरु गरी २० जेठसम्म सडक निर्माणको काम सकेका हुन् । नयाँ सडक खन्ने तथा नयाँ ट्रयाक खुला गरी निर्माण गरिएको बाटोसँग स्थानीयले विकास तथा समृद्घिको सपना जोडिएकाले यसमा आगामी दिनमा सबै तहका सरकारको सहयोग आवश्यक देखिएको निवर्तमान गाउँपालिकाले बताए ।
पिछडिएको बस्ती त्यसमा पनि अनिकालका बेलामा छाक कटाएर निर्माण गरिएको यो ग्रामीण सडक उद्घाटन गरिएको छ । ‘हामीले पटक पटक स्थानीय र प्रदेश सरकारसँग बाटो खन्नका लागि आवश्यक बजेट व्यवस्था गर्न भन्यौं। तर हाम्रो आवाज सुनिएन,’ बाटो निर्माणका लागि अगुवाई गरेका स्थानीय केशव मुक्तानले सुनाए, ‘तर, हामी एक छाक गास काटेर भए पनि आफ्नो लागि बाटो आफैं खन्न सफल भयौं,’
मोक्तानकै नेतृत्वमा गाउँमा भएको एक छिनको सानो भेलाले मुठ्ठीदानमार्फत संकलित आर्थिकबाट बाटो निर्माण गर्ने निर्णय गरेको थियो ।
‘बाटो खन्न कति दिन लाग्छ लागोस्, काम पूरा नगरी विश्राम नलिने भन्दै चन्दा सहयोग उठाउन सुरु गरियो,’ उनले भने, ‘यसरी हामी स्थानीय गाउँलेबाट संकलित २ लाख ७५ हजार एक सय रुपैंया हामीले तेल किन्नमा खर्च गर्यौं, ’ उठेको पैसा तेल किन्नमा सकिएपछि तेल ढुवानीका लागि कतिपयले सहयोग गरेको उनले सुनाए ।
सडक निर्माणका लागि आफूहरुले गरेको माग सुनुवाई नहुँदा दुःख लागेको ४ नम्बर वडा सदस्य निमराज चेपाङले बताए । सडक निर्माणका लागि ५ लाख ७२ हजार ९ सय ६० रुपैंया चन्दा सहयोग गर्ने स्थानीय देउराली सामुदायिक संस्थाका अध्यक्ष रामसिं थिङ गाउँका मान्छेले खाईनखाई जम्मा गरेको पैसाको सही सदुपयोग गर्न पाइएको बताउँछन् ।
थिङका अनुसार यो संस्थामा रहेका २४ जना सदस्यले मासिक पचास रुपैंया जम्मा गर्दै आइरहेका छन् । यस्तै अत्यावश्यक सहयोगात्मक काममा संस्थाबाट खर्च गरिदै आइएको उनको भनाइ छ ।
ग्रामीण सडक निर्माणका लागि अगुवाई गरेका विष्णुराम चेपाङले अबका दिनमा यो चेपाङ तथा तामाङ बस्तीका बिरामी र सुत्केरीलाई यातायातमार्फत अस्पताल लैजान सकिने भएकाले आफूहरुलाई निकै खुशी लागेको बताए ।
छिमेकी पालिका राक्सिराङ-३ का पूर्ववडाध्यक्ष बाबुलाल स्याङतान विकासपछि आगामी दिनमा गाउँलेको जीवनशैली परिवर्तन हुने बताउँछन् । ‘यहाँको तेजपत्ता, साग, स्कुस अब यतिकै खेर फाल्नुपर्दैन, गाडीमा हालेर बजार पठाउँदा गाउँमा पैसा आउँछ । यहाँका मान्छेले अब पैसा कमाउने छन् ।
उनीहरुको जीवनस्तरमा अब परिवर्तन देख्न सकिनेछ,’ विगतमा एक बोरा चामल किन्न ५ हजार खर्च हुने गरेकोमा अब त्यसको आधा अर्थात् २५ सय खर्च लगाए पुग्ने हुँदा सडक निर्माणबाट धेरै पाटामा लाभ हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्