३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

पालमा बस्छन् बूढीनन्दाका प्रहरी

४ असार, बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालयको भवन साघुँरो हुँदा केही प्रहरी पालमा बस्न बाध्य छन् ।

आफ्नै भवन नहुँदा कोल्टी विमानस्थलको घर भाडामा लिएर इलाका प्रहरी कार्यालय सञ्चालन गरिएको छ । कार्यालयमा प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वमा ३५ जना प्रहरी छन् ।

भवनमा बस्ने ठाउँ नहुँदा केही प्रहरी पालमा बस्ने गरेका छन् भने केही बजारमा घर भाडामा लिएर बस्ने गरेको इलाका प्रहरी कार्यालय बूढीनन्दाका प्रहरी निरीक्षक केशव खड्काले बताए ।

कार्यालयमा तीन महिला प्रहरी कार्यरत छन् । उनीहरूका लागि छुट्टै कोठाको व्यवस्था नहुँदा बजारमा कोठा भाडा लिएर बस्ने गरेका छन् । नहुँदा नियमित कामदेखि थुनुवा राख्न समस्या भएको खड्काले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बूढीनन्दाले बाजुराका चारवटा पालिकाको सुरक्षा हेर्ने गरेको छ । त्यो क्षेत्रमा ५३ हजारभन्दा बढी जनसङ्ख्या छ । भौगोलिक विकटता र ठूलो भूगोल भएकाले इलाकामा थप प्रहरीको आवश्यकता रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिपकुमार गिरीले बताए । उनले भने, ‘तर भवन नहुँदा थप प्रहरी पठाउन सकिएको छैन ।’

भवन निर्माणका लागि पर्याप्त जग्गा नहुँदा निर्माण गर्न नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भवनका लागि कम्तीमा पनि ५ रोपनी जग्गा आवश्यक रहेको प्रहरीले जनाएको छ । गिरीले भने, ‘जग्गाका लागि स्थानीय सरकारसँग समन्वय गरे पनि व्यवस्थापन हुन सकेको छैन ।’

भवन र जग्गा व्यवस्थापन नहुँदा केही वर्ष पहिला बूढीनन्दा नगरपालिकामा रहेको नेपाली सेनाको ब्यारेक फिर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्