३ आश्विन २०८१, बिहीबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

रहरले थालेको बाख्रापालन फार्म बीउको स्रोत केन्द्र बन्यो

५ असार, म्याग्दी । बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर श्रीषले रहरमा सुरु गरेको बाख्रापालन व्यावसायिक बनेपछि अगुवा किसानको पहिचान बनाएका छन् । १३ वर्षअघि खाडी मुलुकको वैदेशिक रोजगारलाई छाडेर मारेर उनले स्थानीय जातका बाख्रापालन सुरु गरेका थिए । जीविकोपार्जन र स्वरोजगार बन्ने उद्देश्यले सानो लगानीमा सुरु गरेको बाख्रापालनलाई व्यावसायिक बनाउनुभएका उहाँले अहिले उन्नत जातका बोयर बाख्राको स्रोत केन्द्र स्थापना गरेका छन् ।

व्यावसायी श्रीषले सञ्चालन गरेको श्रीष पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्ममा विगत पाँच वर्षदेखि शुद्ध बोयर जातका बाख्रापालन हुँदै आएको छ । उनले बोयर बाख्रा भने ९ वर्षदेखिपालन गर्न सुरु गरेका थिए । उनीद्वारा सञ्चालित फार्मलाई राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराले बाह्य स्रोत केन्द्को रुपमा समावेश गरेको छ ।

लामो समयसम्म मासु उपभोगका लागि बाख्रापालन गरेको र पछिल्लो समय फार्मलाई बीउका लागि शुद्ध बोयर बाख्र्रा उत्पादन केन्द्रको रुपमा विकास गरेको फार्मका सञ्चालक श्रीषले बताए । श्रीषको फार्ममा अहिले ४५ वटा शुद्ध बोयर बाख्रा छन् । फार्ममा तीन वटा ब्याडे बोका छन् । फार्ममा रहेका २० वटा माउ बाख्राले पाठापाठी जन्माउँछन् । फार्मबाट वार्षिक रुपमा ५० वटा शुद्ध बोयर बाख्रा र बोका बीउको लागि बिक्री हुँदै आएको श्रीषले बताए ।

“यहाँबाट देशका विभिन्न ५५ जिल्लामा बीउको रुपमा बाख्रा लगिएको छ, वार्षिक रुपमा १७ लाख बराबरको बोयर बाख्रा बिक्री गर्दै आएको छु’’श्रीषले भने । व्यवस्थित र व्यावसायिक रुपमा स्थापित यो बाख्रा फार्ममा देशका विभिन्न ठाउँबाट नयाँ किसान अध्यायन अवलोकनका लागि समेत आउने गर्छन् ।बाख्रापालनको लागि श्रीषले ६० रोपनी जग्गामा घाँसका बिरुवा रोपेका छन् ।

केही वर्ष अघिसम्म वार्षिक रुपमा एक करोड बढीको बोयर बिक्री गर्नुभएका श्रीषले पछिल्लो समय स्वदेशमा युवाहरुको अभाव र विदेश पलायन हुने क्रमले बाख्रापालनतर्फ आकर्षण घटेको कारण आफूले फार्ममा बोयर बाख्राको सङ्ख्या बढाउन समस्या भएको बताए ।

“बाख्रापालनमा लगानी, मेहनत, परिश्रम र आम्दानी सबैको चाँजो मिल्नुपर्छ, मैले बाख्रापालनबाटै घरखर्च धानेको छु, बाख्रापालनबाट म सन्तुष्ट नै छु’’–श्रीषले भने । श्रीषले बाख्रा फार्ममा खोर बनाउन मात्रै ५० लाख बढी लगानी गरेका छन् । आफूले बाख्रापालन गरेपछि धेरै जना यो पेसामा जोडिन आउने र जाने क्रम भए पनि आफू भने आफ्नै घरमा आफ्नै पौरखमा रमाउन बाख्रापालनलाई व्यवस्थित र व्यावसायिक बनाएर बसेको उनको भनाइ छ ।

राज्यले पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर अनुदान लगायतमा धेरथोर सहयोग गरे पनि पछिल्लो समय कृषि सहुलियत ऋण पाउन मुस्किल पर्ने र बीमा बापतको रकम भुक्तानीमा ढिलासुस्ती हुँदा आफूहरु समस्यामा परेको किसान श्रीषले गुनासो गरे।

प्रतिक्रिया दिनुहोस्