४ आश्विन २०८१, शुक्रबार
अन्तराष्ट्रिय मुख्‍य समाचार राजनीति समाज

कोरियामा जस्तै शैक्षिक सम्मेलन नेपालमा गर्न मन्त्रीको सुझाव

६ असार, सोल । नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक)ले आफ्नो २०औं स्थापना दिवसको अवसरमा ‘सोनसिक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन–२०२४’को आयोजना गरिएको छ । ‘सहकार्यात्मक नेतृत्व : दिगो विकासका लागि अन्तरविषयगत नवप्रवर्धन र वैज्ञानिक उत्कृष्टताको उत्प्रेरक’ भन्ने विषयलाई  मुख्य आधार मानेर सम्मेलन आयोजना गरिएको हो ।

जुन १५ र १६ तारिखमा दक्षिण कोरियाको छनानमा अवस्थित नामसउल विश्वविद्यालयमा भएको सम्मेलनमा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कोरियालगायत विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली वैज्ञानिक तथा शिक्षाविद्हरुलाई एक हुन सम्मेलनले ठूलो भूमिका खेलेको र यस्ता प्रकारका सम्मेलनहरु नेपालमै गर्नको लागि प्रस्तावना लिएर आउन अनुरोध गरिन ।

विश्वभर फैलिएका नेपाली वैज्ञानिक तथा शिक्षाविद्हरुलाई राष्ट्रप्रति थप जिम्मेवार बन्दै शिक्षाको आधुनिकीकरणमा वैदेशिक शैक्षिक संस्था तथा नीतिगत तहबाट समन्वयन र सहकार्य गरी नेपाललाई सहयोग गर्न पनि उनले अपील गरिन । शिक्षा र अनुसन्धानले मात्रै समाजलाई सभ्य बनाउन र मानव जीवनको औचित्यलाई अझै परिष्कृत गर्नसक्ने भन्दै यस्तो कार्यक्रम मार्फत सबैलाई जोड्न प्रयास गरेकोमा आयोजकलाई विशेष धन्यवाद दिइन ।

सम्मेलनमा नामसउल विश्वविद्यालयका प्रेसिडेन्ट प्राडा स्युङ योङ युन्, कोरियास्थित नेपाली दूतावासका उपनियोग प्रमुख पुष्पराज भट्टराई, एनआइआइइडी टिम नेता किम ना युन, विभिन्न क्षेत्रका विज्ञ, वैज्ञानिक तथा शिक्षा र अनुसंधान क्षेत्रका विशिष्ट व्यक्तित्व लगायत दुईसय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानकर्ता, विशेषज्ञ र विद्यार्थीहरुको सहभागिता थियो ।

उदघाटन सत्रमा कोरियाका लागि नेपाली राजदुत ज्योति प्याकुरेल भन्डारी आउन तय भए पनि अकस्मात स्वास्थ्य समस्याका कारण आउन नसके पछि उहाको सन्देश सोनसिकका अध्यक्ष मेघनाथ पौडेलले पढेर सुनाएका थिए ।

आयोजक समितिका संयोजक किरण सुवालले स्वागत तथा समाजका अध्यक्ष मेघनाथ पौडेलले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका सचिव नारायण सराफ, सोनसिक मिडिया उपसमिति संयोजक डा.कमला केसी, र नामसउल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी कान्ति खतिवडाले संयुक्त रुपमा गरेका थिए ।

सोनसिकले नेपाली  विद्यार्थीको हक हितका लागि भनेर पहिलो पटक सोनसिकको आफ्नै एप ल्याएको छ । उक्त  एपलाई  नेपाली दूतावासका उपनियोग प्रमुख पुष्पराज भट्टराईले सार्वजनिक गरे ।

सन् २००४ मा स्थापना भएको सोनसिकले यस बर्ष विभिन्न कार्यक्रमहरु गर्दै आफ्नो स्थापनाको २० औं बर्ष मनाईरहेको छ । विश्वभरका आफना अलुम्नाइ  मार्फत नेटवर्क विस्तार गरिरहेको सोनसिकले शैक्षिक, सांस्कृतिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

यस वर्ष नामसउल विश्वविद्यालयको तीसौं वार्षिक उत्सवको अवसर पारेर उक्त सम्मेलन सोनसिक र विश्वविद्यालयको सहकार्यमा सम्पन्न भएको हो। सम्मेलनलाई नेपाली राजदुतावासले मुख्य प्रायोजन गरेको थियो भने एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस, जिमोनी ट्रान्स, लर्न कोरियन विथ विवेक, सिद्धार्थ फुटबल क्लब थेगू तथा रोयल इन्डियन रेष्टुरेन्टले प्रायोजन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्