४ आश्विन २०८१, शुक्रबार
अन्तराष्ट्रिय मुख्‍य समाचार

रुसी राष्ट्रपति पुटिनलाई उत्तर कोरियाको उच्च सम्मान

६ असार,  प्योङयाङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको राज्यतहको उच्च सम्मान ‘किम इल सुङ अर्डरबाट सम्मानित भएका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले व्यक्तिगत रुपमा पुटिनलाई राज्यतहको यो सम्मान दिने निर्णय गरेका थिए ।

रुस र युक्रेनबीचको युध्द जारी रहेका बेला २४ वर्षपछि उत्तर कोरियाको राजधानी प्योङयाङ आएका रुसी राष्ट्रपति पुटिन सम्मानित भएका हुन् । उत्तर कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले जनाए अनुसार, किमले ‘दुई देश बीचको सम्बन्धको विकासमा विशेष योगदान पुर्या‍उने हाम्रो सरकार र जनताको असीम सम्मान र विश्वासको प्रतीकको रूपमा पुटिनलाई सम्मानित गरिएको हो,’भनेका छन् ।

समारोहमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभ, प्रथम उपप्रधानमन्त्री डेनिस मान्टुरोभ, उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाक, राष्ट्रपतिका प्रेस सचिव दिमित्री पेस्कोभ, राष्ट्रपतिका सहयोगी युरी उशाकोभ, रक्षामन्त्री एन्ड्रे बेलोसोभ र उत्तर कोरियाका लागि रुसी राजदूत अलेक्जेन्डर मात्सेगोरा पनि सम्मान समारोहमा सहभागी थिए ।

किम इल सुङ अर्डर’ १९७२ मा उत्तर कोरियाका संस्थापक नेताको सम्मानमा स्थापत गरिएको थियो । यसले किम इल सुङको पोट्राटसँग पाँच–पोइन्टेड तारा प्रतिनिधित्व गर्दछ ।

पुटिनले मंगलबार र बुधबार प्योङयाङको राजकीय भ्रमण गरेका थिए । किमले पुटिनलाई सेप्टेम्बर २०२३ मा रूसको भ्रमण गर्दा उत्तर कोरिया भ्रमण गर्न निम्तो दिएका थिए ।

उत्तर कोरियाली नेता किम जोङ उनसँग पुटिनको वार्ताले व्यापक रणनीतिक साझेदारीको लागि एक सन्धि र चिकित्सा, चिकित्सा शिक्षा र विज्ञानका क्षेत्रमा सहयोग गर्ने सम्झौता भएको छ । साथै दुई देशको सीमामा रहेको तुम्नाया नदीमा मोटर पुल निर्माण गर्ने सम्झौता पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्