३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

विराटनगरका बस्ती जलमग्न

१२ असार, विराटनगर । भारी वर्षाले मोरङको विराटनगर महानगरपालिकाका विभिन्न वडाका बस्ती डुबानमा परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ५, ६, ११ र १२ नम्बर वडाका बस्ती डुबानमा परेका हुन् । त्यहाँका घरमा पानी पसेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ ।

विराटनगर १२ को सम्पन्न बस्तीसहित विभिन्न क्षेत्र डुवानमा परेको वडा अध्यक्ष हिरालाल कामतले बताए । डुबानबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको उनले बताए ।

वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार बिहानबाट परेको वर्षाले विशाल चोक, सम्झना चोक, पृथ्वी चोक लगायत धेरै स्थान जलमग्न भएका छन् । अध्यक्ष न्यौपानका अनुसार ३ सय बढी सर्वसारधाणको घरमा पानी पसेको छ ।
विराटनगर महानगरपालिका वडा नम्बर ४ को राजवंशी चोक आसपास पनि परेको पानी बस्तीमा पसेको छ ।

बाढी प्रभावितलाई राख्नका लागि वडाभित्रका विद्यालय तथा सामुदायिक भवनलाई तयारी अवस्थामा राखिएको उनले बताए ।

बस्तीमा बाढी नपसेको तर वर्षाको पानीले निकास नपाउँदा जलमग्न भएको प्रहरीले जनाएको छ । कोशी राजमार्गको मुनालपथ खण्ड पनि पानीले निकास नपाउँदा जलमग्न छ ।

मोरङको हरैंचा स्टेसनमा गत २४ घण्टाको अवधिमा ९५ मिलिमिटर र लेटाङमा ३८.६ मिलिमिटर वर्षा मापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्