५ कार्तिक २०८१, सोमबार
मुख्‍य समाचार राजनीति

सदनमा सांसदको चिन्ता : ‘विकासका नाममा विनाश बढ्दै गयो’

१४ असार ,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले सडक सञ्जाल विस्तारका क्रममा जथाभावी डोजरले नभत्काउन सदन मार्फत सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा सांसद अनिषा नेपालीले पछिल्लो समयमा विकासको नाममा झन–झन विनास बढ्दै गएको जनाउँदै हिमाली र पहाडी जिल्लामा जथाभावी बाटो निर्माण गर्ने क्रममा महत्वपूर्ण स्थान भत्काउने काम तत्काल बन्द गर्न आग्रह गरे।

सांसद अच्युतप्रसाद मैनालीले बारा जिल्लाको तामागढी–सिम्रनगण सडक खण्ड सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि जनताले मुआब्जा नपाएको हुँदा तत्काल मुआब्जा वितरण गर्न माग गरे।

सांसद अजयकुमार चौरसियाले सरकारले ठूला–ठूला परियोजनामा लिएको ऋण तिर्न सक्ने अवस्था नभएको जनाउँदै अबका दिनमा नेपालले विदेशी ऋण लिने गम्भीर बन्न जोड दिए। सांसद अब्दुल खाँनले भारतबाट आएका पर्यटनको लागि पशुपति क्षेत्रलगायमा व्यवस्थित बसोबासको प्रबन्ध मिलाउनुपर्छ भने।

सांसद अमनलाल मोदीले सरकारले ल्याएको स्वाथ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए। सांसद जीवन परियारले कास्की जिल्लालगायतका जिल्लामा भारी वर्षाका कारण भएको बाढीपहिरो पीडितले राहत नपाएको बताए । सांसद जुलीकुमारी महतो महासेठले एसइई परीक्षामा ५२ प्रतिशत अनुत्तीर्ण भएको विषयमा सरकार गम्भीर हुनुपर्छ भने ।

सांसद टेकबहादुर गुरुङले मनाङ र मुस्ताङलगायतका जिल्लामा विकास निर्माणका काममा ध्यान दिन सरकारलाई अनुरोध गरे । सांसद अम्मरबहादुर थापाले गत साल जाजरकोटमा गएको भूकम्पबाट प्रभावित जनतालाई अहिलेसम्म पनि राहात र क्षतिपूर्ति नपाएको बताए ।

सांसद अमरबहादुर रायमाझीले राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउनुपर्ने माग गरे । सांसद आस्माकुमारी चौधरीले जग्गा खण्डिकरणका कारण खेतीयोग्य जमिनमा क्षति पुगेको जनाउँदै सरकारको धयानाकर्षण गराए।

सांसद ईश्वरी घर्तीले वैज्ञानिक तथा उन्नत खेतीको विकास गरी सङ्गठित कृषि बजारको व्यवस्था गर्नुपर्ने माग गरे । बैठकमा ईश्वरबहादुर रिजाल, असिम शाह र अर्जुननरसिंह केसीलगायतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्