८ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार समाज

जताततै पहिरो : ४५ सडकखण्ड अवरुद्ध

२३ असार , काठमाडौं । शुक्रबार रातिदेखिको परेको अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न सडक र राजमार्गहरु अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको रिपोर्ट अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशका १७ स्थानमा पहिरो खस्दा विभिन्न सडक तथा राजमार्गहरु अवरद्ध भएका छन् ।

त्यस्तै,लुम्बिनी प्रदेशका १७, कर्णाली प्रदेशका तीन, सुदूरपश्चिमका पाँच, बागमतीका ६, कोशीका तीन र गण्डकी प्रदेशका नौं स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ ।

पहिरोका कारण केही स्थानमा एकतर्फी रुपमा सडक संचालन भइरहेका छन् भने केही ठाउँहरुमा पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

संखुवासभाको मकालु गाउँपालिका–३ मा आएको बाढीले दक्षिण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बाढी पहिराले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी–किमाथांका सडक ठप्प भएको छ ।

यस्तै, रसुवाको स्याफ्रुवेशी धाम्बुचेत सडक खण्डमा पहिरो खस्दा सडक सूचारू गर्न १० दिन लाग्ने नेपाली प्रहरीले जनाएको छ ।

अविरल वर्षाले गर्दा पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–३ मा खसेको पहिरोले हटाई अहिले एकतर्फी सडक संचालनमा आएको  छ ।  यस्तै  कान्ती  लोकपथ र  बीपी राजमार्ग पनि एकतर्फी संचालनमा आएका छन् ।

बाढीले गर्दा मनाङको चामे बेशिसहर सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।  सडक सुचारू गर्न ५ देखि ६ दिन लाग्ने जनाइएको छ ।

यसैगरी, कालीगण्डकी करिडोर अन्तर्गत नवलपरासी पूर्वको गैडाकोटमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्