प्रेमको लय भाग २ (कथा)
प्रेमको लय भाग २ (कथा)
– मुना चौधरी
एक हप्तादेखि प्रेमराज निरन्तर काम खोज्न भौतारिरहेका छन् । उनको भावनासित खेल्ने मधुलाई उनले कहिले माफ गर्ने छैनन् । छोरीलाई मातृ सुखबाट वञ्चित गर्ने र मातृदायित्वबाट पन्छिने मधुलाई उनले कहिले मुटुमा बस्न दिने छैनन् अब । अब केवल उनको हृदयमा छोरी राज गर्छिन् । छोरीको बारेमा मात्र सोच्छन् । आँखामा छोरीलाई मात्र अटाएका छन् । छोरी बाहेक उनको मुटु कसैका लागि ढुकढुकाउँदैन । मुटुभरि छोरीको आकृति सजाएका छन् । छोरीलाई राजकुमारी बनाएर मुटुमा बसाएका छन् । जे सोच्छन र जे गर्छन् छोरीका लागि मात्र गर्छन् । छोरीबाहेक अब उनलाई कसैप्रति विश्वास छैन ।
छोरीको मन दुखे प्रेमराजको मन पनी दुख्छ । छोरीलाई भोक लागे उनलाई भोकको अनुभव हुन्छ । छोरीलाई कुनै सामानको कमी भए उनी अभाव अनुभव गर्छन् । छोरीको आँखामा आँसु आए उनका आँखा रसाउँछन् । छोरी खुसी भए उनलाई संसार उज्यालो लाग्छ । छोरीलाई सबैथोक पुगे उनी ढुक्क हुन्छन् । छोरीको पेट भरे उनको मन अघाँउछ । छोरीको सबै आवश्यक्ता पूरा भए उनी आफूलाई भरिपूर्ण अनुभव गर्छन् ।
एक हप्तापछि घर नजिकैको स्कुले उनकी छोरीलाई भर्ना लियो । छोरी स्कुल जान थालिन् । बिहानै भात पाकाएर खुवाएर छोरीलाई स्कुल पठाउँछन् । आफू काम खोज्न निस्कन्छन् । उनी आफ्नो व्यक्तिगत विवरण लिएर घर वरिपरिका क्याफे, रेस्टुरेन्ट, होटेल, सुपर मार्केटहरुमा काम खोज्न निस्किन्छन् । ठाउँ ठाउँमा व्यक्तिगत विवरण बुझाइसकेका छन् । उनले गाउँकै भाइ रविनलाई फोन गरेर भने,
मधुले मलाई छोडेर गएको तँलाई अस्ति नै फोन गरेर बताइसकेँ । मेरो अवस्था तँलाई अवगत नै छ । कसरी हुन्छ मलाई काममा लगाइदे केटो । तनावमा छु म ।
दाइ चिनेजानेका सबै साथीहरुलाई काम खोज्न भनिसकेको छु । कतै खाली भयो भने म हजुरलाई जानकारी गराउँछु । पैसा वा कुनै सहयोग चाहिए अप्ठ्यारो नमानी मलाई भन्नुहोला दाइ । म जति सक्छु सहयोग गर्छु । हजुरले आफू पनि सकेजति ठाउँमा काम खोज्दै गर्नुस् ।
मेरो जिउमा ऊर्जा नै छैन केटो । नेपाल फर्केर गइहालूँ लाग्छ । म छोरीलाई पाल्न सक्छु कि सक्दिनँ । काम पाइरहेको छैन । कसरी बाँच्ने केटो ? उनले निरास हुँदै भने ।
दाइ । नचाहिने कुरा नगर्नुस् । जानेलाई जान दिनुस् । भाउजू जानुभो यसको अर्थ हजुरको जीवन यही समाप्त भएको हैन नि दाइ । भाउजूबिना बाँचेर देखाइदिनुस् । पैसा कमाएर देखाइदिनुस् । छोरीलाई ठुलो मान्छे बनाइदिनुस् । अनि भाउजूलाई पश्चाताप लागोस् न । आत्मग्लानी अनुभव होस् न । व्यर्थमा स्वर्ग जस्तो परिवार र बुढालाई छोडेर गलत गरेछु अनुुभव होस् न । रित्तो हात गाउँ फर्किने हैन बुढा । छोरीको भविष्य बनाएर र सम्पत्ति कमाएर फर्किनुस् । अब धेरै चिन्ता लिने हैन है बुढा । आश्वासन दिँदै रविनले भने ।
केटो, तेरो कुरा सही हो । तेरो कुरा सुनेर थोरै भए पनि मन शान्त भयो मेरो ।
मधुले उनलाई अलपत्र पारेर गइन् । उनीसँग जम्मा सय युरो थियो । उनी नेपालबाट आएका वेला मधुले नै उनलाई घरखर्च चलाउन दिएकी थिइन् । थोर थोरै पैसा खर्च गरिरहेका थिए । छोरीलाई चाहिने खानेकुराहरु मात्र किन्थे । छोरीको स्कुलमा शुल्क लाग्दैन्थ्यो । यहाँ शिक्षा निशुल्क दिइन्छ ।
उनले रविनलाई पैसा माग्न सकेनन् । आर्थिक अभावबारे बताउन सकेनन् । उनी गाउँमा पनि कसैसित कहिले पैसा मागेका थिएनन् बाआमा बाहेक । बाआमालाई नेपालबाट ऋण लिएर पैसा पठाइदिनुस् समेत भन्न सकेनन् । मधु उनलाई छोडेर गएदेखि गाउँमा उनका बाआमा पनि चिन्तित छन् । उनले बाआमालाई अरु चिन्ता थप्न चाहेनन् ।
बेलुकी रविन उनलाई भेट्न आए । रविनले उनलाई सोधे, दाइ हजुरसित पैसा छ कि नाइ ?
एक सय मात्र थियो । खर्च भयो । पचास युरो मात्र बाँकी छ ।
कसैसँग सापटी मगाइ दे न केटो । म काम गर्न थालेपछि फिर्ता गर्छु ।
रविनले, म हुँदा हुँदै अरुसित किन सापटी माग्ने दाइ ?
रविनले खल्तीबाट झिकेर एक हजार युरो उनलाई थमाइदिए ।
केटो, धन्यवाद । म काम गर्न थालेपछि तँलाई फिर्ता गर्छु । हतार छैन बुढा विस्तारै एक वर्षपछि दिए नि हुन्छ । नदिए नि केही फरक पर्दैन ।
उनी बिहानै छोरीलाई स्कुल छोडेर काम खोज्न निस्केका छन् । उनलाई अङ्ग्रेजी भाषा राम्ररी बोल्न आउँदैन । अलिअलि मात्र बुझ्छन् तर, फर्काउन आउँदैन । न त पोर्तुगिज भाषा बोल्न आउँछ । काम खोज्न जाँदा पोुर्तुगिज वा अङ्ग्रेजीमा बोल भन्छन् । उनलाई हो, होइन मात्र भन्न आउँछ । उनी यहाँ न पोर्तुगिज बोल्न सक्छन् न अङ्ग्रेजी ।
नेपालमा आफूलाई उनी खुबै बाठो ठान्थे । उनी जस्तो बोल्ने, जान्ने, बुझ्ने र अरुलाई सहयोग गर्ने कोही थिएनन् गाउँमा । गाउँघरमा झगडा पर्यो भने छिनोफानो गर्न उही अगाडि जान्थे । कोही बिरामी पर्यो भने सहयोग गर्दै अस्पताल तुरुन्तै लग्थे तर, यहाँ भाषा बुझ्न नसकेकोमा र बोल्न नजानेकोमा उनी लाटो भएका छन् । अबुझ भएका छन् । जति टाठो भए पनि बोल्न आएन भने लाटो नै त हो ।
उनकी छोरीको स्कुल छुट्टी थियो । उनी काम खोज्न निस्किनुपर्ने थियो । छोरीलाई खाना खुवाएर,
घरमै बस् । म नआउन्जेल बाहिर नजा एक्लै । भनेर काम खोज्न निस्के ।
काम खोज्दा खोज्दै उनलाई थकाइ लाग्यो । भाषा पनि नबुझिने । बोल्न पनि नआउने । कस्तो देश ? नेपाली नै नबोल्ने । नेपालीहरु जस्तै मध्यम कदका तर, धेरै गोरा मान्छेहरु बाटामा मात्र देख्थे उनले । उनले मनमनै विचरा गर्थे, यिनीहरुले पनि नेपाली बोलेका भए मलाई कति सजिलो हुन्थ्यो । सास्ती झेल्नुपर्दैन्थ्यो ।
नेपालबाट भर्खर आउँदा मधुले छोरीलाई एउटा मोबाइल किनेर दिएकी थिइन् । त्यही मोबाइलमा मधुले छोरीलाई दिउँसो फोन गरिन् । फोन गर्दा छोरीले सोधिन्,
आमा हजुर घर किन आउनुहुन्न ?
तेरो बाबाले मेरो बारेमा तँलाई के भन्नुभएको छ ? मधुले सोधिन्
बाबाले त हजुर काम गर्न टाढा जानुभाको छ । दुई चार महिनापछि फर्किनुहुन्छ भन्नुभाको छ । कहिले फर्किनुहुन्छ आमा ?
म आउँदै छु छोरी । आधा घन्टापछि आइपुग्छु ।
आधा घन्टापछि मधु आइन् । छोरी उनलाई देख्नेबित्तिकै खुसी भइन् । अँगालो हालिन् । अँगालो हाँल्दै भनिन्,
आमा म नेपाल हुँदा हजुर यहाँ हुनुहुन्थ्यो । म यहाँ हुँदा अर्के ठाउँ काम गर्न जानुभो । सबैका आमा बाबासँगै बस्छन् । हजुर किन म र बाबासित बस्नुहुन्न ?
मेरो काम गर्ने ठाउँ टाढा छ छोरी । म सधैँ घर आउँन भ्याउँदिन बाबा । मेरो बिदा हुने बित्तिकै आउछु छोरो । बाबा कहाँ जानु भएको छ ?
काम खोज्न । छोरीले भनिन् ।
छोरीको कुरा सुनेर उनी भावुक भइन् । उनका आँखा रसाए । छोरीले नदेख्ने गरी मधुले आँसु पुछिन् । उनले छोरीलाई लुगाहरु किनेर ल्याइदिएकी थिइन् । लुगाले भरिएको झोला छोरीलाई दिइन् । साथै हातमा पाँच हजार युरो दिँदै भनिन् ।
यो रुपैयाँ बाबालाई दे छोरो हस् । अब म जान्छु । मेरो बिदा भएपछि म फेरि आउँछु ।
बाबा फर्केपछि जानुस् न आमा ।
मलाई ढिला हुन्छ छोरो । काममा जानु छ ।
उनी रुँदै निस्किन छोरीको अनुहार देखेर । उता छोरीलाई लैजाऊँ वसन्त रिसाउने । यता फर्केर आए कुन मुखले आउने ? यता आए वसन्तविना बाँच्न नसक्ने । उता गए छोरीको अनुहारले सताउने । उनी दोधारमा अल्झेकी छिन् । न वसन्तलाई छोड्न सक्छिन न छोरीको माया मार्न सक्छिन् ।
मधु छोरीसित धेरैबेर नबसेकीले छोरी उदास भइन् । उनी आमासित धेरै कुरा गर्न चाहन्थिन् । खेल्न चाहन्थिन् । आमासित हाँस्न चाहन्थिन । रुन चाहन्थिन् । हरेक सुख, दुख आमसित बाँड्न चाहन्थिन् तर, त्यस्तो केही भएन ।
बेलुकी काम खोजेर प्रेमराज घर फर्के । उनलाई देखेर छोरी धेरै खुसी भइन् । खुसी हुँदै बुबालाई नयाँ लुगा देखाउँदै भनिन्,
बाबा हजुरलाई थाहा छ ? आमा आउनु भएको थियो नि । यी हेर्नुस् मलाई कति धेरै नयाँ नाना ल्याइदिनुभाको आमाले । आमालाई काममा जान हतार थियो त्यही भएर जानुभो । कामबाट छुट्टी भएपछि फेरि आउनुहुन्छ ।
छोरीको कुरा सुनेर प्रेमराज केही बोलेनन् । तर, छोरीलाई खुसी देखेर उनी मुस्कुराए । उनीहरु छुटिएको छोरीलाई केही थाहा छैन । उनलाई यति मात्र थाहा छ उनकी आमा मधु टाढा काम गर्छिन् । त्यही भएर घर आउँदिनन् । बिदा भएको वेला मात्र आउँछिन् ।
मधुले बाछोरी दुबैजनालाई छाडेर गइसकेकी छिन् भनेर बताउन सकेका छैनन प्रेमराजले । आमाको स्नेह पाउन आएकी छोरीलाई तेरी आमा अर्कैसित भागी भनेर कसरी भन्ने ? फेरि उनी बुझने उमेरकी छैनन् । उनी ठुली भएपछि उनलाई सबै कुरा बताउँछु भनेर अहिले प्रेमराजले छोरीलाई केही बताएका छैनन् । उनको बाल मस्तिष्कमा नकारात्मक असर पर्न सक्छ । मानसिक रुपमा कमजोर पर्न सक्छिन् । बेसहारा अनुभव गर्न सक्छिन् सोचेर उनले छोरीलाई केही बताएका छैनन् । प्रेमराजको गह भरिएका छन् छोरीले नदेखून भनेर उनी बाथरुम गएर मुख धोए । उनी बाथरुमबाट निस्केपछि छोरीले उनलाई पाँच हजार युरो दिँदै भनिन्,
बाबा यो रुपैयाँ आमाले हजुरलाई दे भनेर मलाई दिनुभो ।
उनले केही बोलेनन् । छोरीले दिएको पैसा चुप लागेर लिए ।
उनलाई मधुको खाता नम्बर थाहा थियो । बिहान छोरीलाई स्कुल पठाएर मधुको खातामा पैसा जम्मा गर्न गए । उनले मधुको पैसा उनकै खातामा जम्मा गरेर आए । मधुलाई भाइवरमा खोजे । पहिलाकै नम्बरमा फेरि सक्रिय देखायो, उनले मधुलाई मेसेज गरे,
प्रिय अन्जान,
अब तँ न मेरी छोरीकी आमा होस् । न मेरी स्वास्नी । तँलाई सम्बोधन गर्ने मैले शब्द नै भेटाइनँ । त्यसैले मैले तँलाई अन्जान भनेर सम्बोधन गरेँ । मेरो लागि तँ अन्जान होस् आजदेखि । म तँलाई चिन्दिनँ ।
प्रिय अन्जान तँ जो कोही होस्, हामी बाछोरीको बीचमा नआएकै राम्रो तर खैर केही छैन मेरो मन र सोच त्यति सांघुरो छैन । छोरीलाई पनि आमाको मायाको खाँचो छ । त्यही भएर म तँलाई मेरी छोरीसित नभेट् भन्न सिक्दनँ । छोरी मेरो कमजोरी र तागत दुबै हुन् । उसकै तागतले मलाई बाँच्ने प्रेरणा दिएको छ र उसकै कमजोरीले मलाई दयावान् हुन सिकाएको छ । छोरी मेरो जीवनमा नभइदिएकी भए तेरो सिद्धान्तले मलाई प्रमाणित गरेझैँ म कठपुतली मात्र बाँकी रहने थिएँ । छोरी मेरो सास हो । उसलाई मबाट छुटाउने कहिले सोच नल्या । ऊ मबाट छुटी भने म बिना हड्डी र रगतको मासुको थुप्रो मात्र बाँकी रहनेछु । मैले तँलाई विन्ती गरेको हैन । तेरो अपरिपक्क निर्णयमाथि प्रश्न उठाएको हुँ ।
मैले अहिलेसम्म तेराबारे छोरीलाई केही बताएको छैन । छोरी १८ वर्षकी भएपछि सबै कुरा बताउने छु । त्यसपछि छोरीले के निर्णय लिन्छे त्यो भविष्यको गर्भमा नै लुकेको छ ।
तैँले मलाई भिखारी सम्झेर पैसा दिएर गइस् हैन । मलाई तेरो पैसा चाहिँदैन तेरै खातामा हालिदिएको छु । तँ पैसाको लागि मर्थिस् म तेरो लागि । तैले मलाई यहाँ ल्याएर अलपत्र पारिस् । न जिउँदो छोडिस् न मर्ने बनाइस् । मलाई यहाँ ल्याएर तँलाई लाग्दो हो ममाथि तैँले ठूलो उपकार गरिस् तर मलाई यो कुनै कुनाबाट उपकार लागेन ।
उल्टै मलाई मेरो माटोसित छुटाइस् । मेरो गाउँसित मलाई बेखबर बनाइस् । बाआमाको शीतल छहारी खोसेर मरुभूमिमा ल्याएर उभ्याइस् । जब म प्लेनमा उडेँ मैले धेरै थोक गुमाएँ । हल्ला गर्ने साथीहरुको रमाइलो भिड गुमाएँ । आँखाभरि अटाएका सपनाहरु उडे । मेरा रहरहरु हावासँगै विलिन भए । भोज, भतेर आफन्तहरुको भिड पछाडि कतै धेरै पर छुट्यो । मैले टेक्ने माटो छुट्यो । सास फेर्ने हावा विरानो भयो । मैले खाने खाना पराई भयो । मेरो बोली सुन्ने कोही भएन । मलाई बुझ्ने कोही भएन । त्यतिवेला सम्झे केवल तेरो प्रेमको लय । तेरो प्रेमको लयमा बगेर आएँ तर, तेरो प्रेमले निर्ममतापूर्वक मेरो मुटुमा टेकेर गयो । कुल्चेर गयो । म रहिरहेँ तर मसित गाँसिएका सबै थोक कतै गुमाइसकेको छु । मेरो सपना सपना रहेन अब । गुमनाम भयो मजस्तै । निद्रा आँखाबाट ओझेल परेको छ । चाडपर्व झुक्किएर पनि दैलामा कहिले टेक्दैन । अनि कसरी म, म रहेँ त ? केवल छोरीको भविष्य हेर्न आफूलाई बचाएर राखेको छु । जोगाएर राखेको छु ।
कुनैवेला तँलाई मन पराउने हजाराै थिए त्यतिवेला ती सबैसित लडेर मैले तँलाई आफनो बनाएँ । मलाई संसार जितेको अनुभव भएको थियो । आज तैँले मलाई छोडेर अरुलाई रोजिस् र हजारौँसित लड्ने मान्छे म तैँले रोजेको एकजना मान्छेसित लड्न सकिनँ प्रिय अन्जान । हेर् त संसारसित लड्न सक्ने मान्छे म आज तेरो रोजाइको अगाडि विवश छु । हारेको छु । लाचार छु ।
मेरो स्वाभिमानलाई कुल्चिस् । मलाई बेरोजगार सम्झेर छोडिस् ।
हो म हुँ बेरोजगार । तर म भिखारी हैन । म मा पनि इमान छ । मेरो भावनालाई कुल्चेर गइस् । आज भिखारी सम्झेर पैसा दिइस् । मलाई बाघको छालामा स्यालको रजाइँ गर्ने ठानिस् होला, अल्छी, स्वास्नीलाई पाल्न नसक्ने बेकम्मा देखिस् होला । तर म त्यति बेकम्मा छैन प्रिय अन्जान ।
यी सात वर्षमा तैले जति पैसा नेपाल पठाएकी थिस् मलाई । मैले ती सबै पैसा नेपालमा रहेको तेरै बैँक खातामा जम्मा गरिदिएको छु । यी सात वर्षमा तैँले १५ लाख ६ हजार २ सय ९९ रुपैयाँ पठाएकी थिस् । सबै तेरै खातामा छ । नेपाल गएको वेला तँ आफनो पैसा प्रयोग गर्न सक्छेस् ।
मैले फर्निचरको काम गरेर छोरीको पढाइखर्च तिरेको छु । तेरो एक सुको चलाएको छैन ।
मान्छे परिवारको लागि मरिहत्ते गर्छ । एक देशबाट अर्को देश परिवारलाई खोज्न जान्छन् । मान्छेहरु परिवारका लागि संसार त्याग्छन् तर, तँ यस्तो व्यक्ति होस् जसले संसारको लागि परिवार त्यागिस् ।
अबदेखि कुनै पनि रुपमा मलाई वा मेरी छोरीलाई आर्थिक सहयोग नगर् ।
म तेरो इच्छाको अगाडि हाँरे । म यस्तो हरुवा हुँ जो तेरो इच्छा पूरा गर्न । सकिनँ । तँलाई बुझ्न सकिनँ । तर, मेरो मन जूनझैं सफा छ । मैले तँलाई नबुझे तैँले मलाई बुझ्न सक्थिस् । तर, अहँ बुझ्ने प्रयास गरिनस् । तेरो इच्छा पूरा भएपछि ममा दाग देखिस् । तँलाई जित्न नसके पनि म आफूलाई जितेको छु । मलाई यही कुरामा गर्व लाग्छ । कसैसित अनैतिक सम्बन्ध गासिनँ । यो मेरो इमान्दारीता हो र परिवारप्रतिको समर्पित भाव हो ।
तेरो पैसा नचलाउनु मेरो बडकपन्न हैन । मेरो स्वाभिमान हो । मेरो स्वाभिमानले तेरो पैसा चलाउने अनुमति कहिले दिएन । मान्छे बिना स्वार्थको एक पाइला पनि हिँडदैन । खैर, म को हु र तँलाई सम्झाउने ? तैपनि शुभचिन्तक सम्झेर भन्न मन लाग्यो, तेरो जवानी छउन्जेल हो अरुले तँलाई प्रेम गर्ने । जवानी सकिएलगतै, तँ अरुको बुढी त होस् भन्ने छन् । त्यतिवेला तँलाई थाहा हुने छ लोग्ने स्वास्नी र विवाहको अर्थ, आफन्तको स्नेह, परिवारको मूल्य ।
छोड दे यी कुराहरु । मैले पनि कसलाई सम्झाइरहेको छु जोसित भावना छैन । मुटु छैन । अनुभूति छैन ।
उही….
तेरो बारेमा सोच्नै छोडेको अन्जान
प्रेमराज
उनको मेसेज हेरेर मधु उताबाट मेसेज पठाइन् , म हजुरसित केही कुरा गर्न चाहन्नँ । हजुरले अर्को बिहे गर्नुस् । आफनो जीवन अगाडि बढाउनुस् । यहिमा भलाई छ ।
उनको मेसेज हेरेर लेखे,
प्रिय अन्जान , तँ मेरो बारेमा नसोचेकै राम्रो । म अर्को बिहे गरु, नगरु ? यो तेरो चासोको विषय होइन । म जे गर्छु छोरीको लागि सोचेर गर्छु । घर तोड्नेले जोड्ने कुरा गरेको सुहाउँदैन । खैर केही छैन तेरो अमूल्य सुझावप्रति आभारी छु ।
उनको मेसेज हेरेर मधु केही बोलिनन् ।
मधु वाइन खाँदै काउचमा बसिरहेकी छिन् । वसन्त उनको तिघ्रामा टाउको राखेर पल्टेका छन् । उनी उठेर बस्छन् । मधुकै गिलासबाट एक पेग पिउछन् । फेरि अघिकै जस्तो उनकै तिघ्रामा टाउको राखेर पल्टिन्छन् । मधु उनको कपाल सुमसुम्याएरहेकी छिन् । मधु उनको गालामा चुम्बन गर्दै भनिन्,
मलाई पछि गएर छोड्नुहुन्न नि दाइ ?
उनले पनि मधुको गालामा चुम्बन गर्दै भने,
के भनिस् ? फेरि दाइ ? दाइ, हैन माइ लभ भन् । बुढा भन् ।
उनको कुरा सुनेर मधु एक पेग पिएर वाइनको गिलास छेउको टेबलमा राख्छिन् ।
माइ लभ, भन्दै वसन्तलाई चुम्बन गर्न थाल्छिन् । दुबैजना चुम्बनमा लिप्त छन् । मधुको चुम्बनमा उनले संसार बिर्साइदिने लय देखेँ । मधुको स्पर्शमा उनले मधुमासको धुन देखे । उनीहरु दुईजना सँगै भए संसारमा आगो लागे नि बाल मतलब छैन । संसार बिर्सिन्छन् । लामो चुम्बनपछि उनीहरु एकअर्कामा हराए । मधुलाई बोकेर वसन्तले शयन कक्षमा लगे । शयन कक्षको ढोका बन्द गरे ।
प्रेमराज बिहानै काम खोज्न निस्केका छन् । रविनले दिएको हजार युरोबाट घरभाँडा ३ सय पचाँस तिरे । १० युरोको छोरीका लागि जुत्ता किने । पचास युरोको किताब र कापी किने । ४० युरोले गाडी चढ्नका लागि कार्डमा हाले । उनीसित सिमित पैसा छ ।
छोरीलाई कुनै कुराको कमी नहोस् भनेर छोरीको सामान किन्नका लागि मात्र पैसा खर्च गर्छन् । आफ्नो लागि केही किन्दैनन् । उनी दिनभरि काम खोज्न निस्किँदा थकाइ र भोक लग्छ । बाहिर खाना वा खाजा खाए पैसा खर्च हुन्छ सोचेर उनी पछाडि झोला बोक्छन् सधैँ । आज पनि उनी झोलामा एक बोतल पानी र पाउरोटी हालेका छन् । उनी दिनभरि भौतारिए । तर काम पाएनन् । उनी काम खोज्नेवेला पनि छोरीलाई सम्झिरहन्छन् । छोरीले स्कुलमा खाजा खाई कि खाइनन् ? उनी पेटभरि खान्छिन कि खाँदिन् यस्तै यस्तै कुराले उनलाई भित्रभित्रै पिरोलिरहन्छ । उनी छोरीको अनुहार हेर्न आतुर हुन्छन् । छोरीको अनुहार हेर्न उनलाई घर फर्किन हतारइरहेको हुन्छ । तर, आज पनि काम नपाएर उनी निरास छन् ।
भोक लागेको छ तर खाने मन छैन । थकाइ लागेको छ तर ऊर्जा कम भएको छैन । उनको ओठ, मुख सुकेको छ । तर काम खोज्ने आसा मरेको छैन । उनी भौतारिरहँदा उनको जिउ गलेको अनुभव हुन्छ । अँध्यारो देख्छ । लड्छु जस्तै हुन्छ । उनी आफैँलाई छाम्छन् । रिङ्गटा लागे जस्तो हुन्छ । पर एउटा पार्क देख्छन् । विस्तारै त्यही पार्कमा जान्छन् । बस्छन । उनलाई केही खान मन छैन । खान मन नभए पनि छोरीका लागि बाँच्नु छ । उनलाई केही भइहाल्यो भने छोरीलाई कसले हेर्छ सोचेर झोलाबाट पाउरोटी झिक्छन् ।
पाउरोटी सुकेर सारो भइसकेको हुन्छ । त्यही पाउरोटी टोक्दै खान्छन् । गाउँमा नुनरोटी खाँदा उनलाई यति बेस्वादिलो लागेको थिएन तर, यहाँ चिनी मिसाइएको गुलियो पाउरोटी उनलाई बेस्वादिलो लाग्यो । गाउँमा बासी रोटी पनि मिठो लाग्थ्यो तर, विदेशमा गुलियो पाउरोटी पनि खल्लो अनुभव भयो उनलाई । उनी छोरीका लागि बाँच्नका लागि खाए । पेट भर्नका लागि खाए ।
उनी काम नपाएर तनावमा छन् । पाउरोटी खाइरहेका छन् तर उनको मनमा धेरै कुरा खेलिरहेको छ । पाउरोटीको स्वाद पाएका छैनन । मात्र पेट भर्न खाइरहेका छन् । मनमा कुरा खेलाउँदा सारो पाउरोटी खाए । के खाए स्वाद पाएन । पानी पिए । घर फर्किँए । छोरी स्कुलबाट फर्किकेकी थिइन् ।
एक महिना भइसकेको छ उनी काम पाएका छैनन् ।
बेलुकी रविनले फोन गरे दाइ,
काम पाउनुभो ?
छैन केटो ।
खेतीमा काम गर्न जानुहुन्छ ? खाली छ । मेरै साथी प्रलय त्यहाँ काममा लगाउने काम गरिरहेको छ । उसले काममा लगाए वापत् ५० युरो लिन्छ । अहिले पैसा दिनपर्दैन । तलब आएपछि उसलाई दिनुहोला ।
कति टाढा छ ?
यहाँबाट मेट्रोमा १ घन्टा लाग्छ । छोरी नभइदिएकी भए हजुर उतै बस्न मिल्थ्यो । ठिकै छ दाइ यहीबाट जाँदा हुन्छ ।
उनले सोचे तत्काल काम नपाएर के बसिराख्नु । पैसा कमाउनु त छ । काम गरे पैसा आउँछ । फेरि जीवन धान्नु छ । रविनले दिएको पैसा पाँच सय खर्च भइसकेको थियो । उनलाई डर लागिरहेको थियो । सबै पैसा सकेर पनि काम पाएन भने छोरीलाई कसरी पाल्ने ?
उनले केही नसोचि तुरुन्तै रविनलाई भने,
केटो म काम गर्न जान्छु ।
रविनले मेट्रो चढ्ने र ओलिर्ने स्टेसनको नाम बताइदिए । काममा लगाउने साथीको मोबाइल नम्बर उनलाई दिए । उनी बिहानै छोरीलाई स्कुल पुर्याए । आफू पनि काममा निस्के ।
खेतीमा कम गर्न गए । लटरम्मै फलेका गोलभेँडाका झाङ्हरु थिए । लटरम्मै फलेका गोलभेँडाका झाङ्हरु उनले कहिले देखेका थिएनन् । एउटा झाङ्मा २०–२५ किलो गोलभेँडा झुन्डिरहेका थिए । पाकेका गोलभेँडाहरु टिप्नुपर्ने थियो । उनले देखेँ त्यहाँ टन्नै नेपाली कामदारहरु छन् । उनीहरुको हात फटाफट चलिरहेको थियो । फटाफट फटाफट मेसिन जसरी काम गर्ने केटाहरुको हात चलिरेको थियो । मानौँ कुनै रोबोटको हातले बिनाआदेश फटाफट टिपिरहेको छ । उनलाई त्यो दृश्य पिल्मभन्दा कम लागेन । हेर्दा त्यो दृश्य कति रमाइलो थियो । उनी एकछिन आँखा नचिम्लि हेरिरहे । हेर्न रमणीय र जादुमय, फिल्मी लाग्ने त्यो दृश्यमा उनले आम नेपालीहरुको बेरोजगारी, गरिबी, गर्जो टार्ने अथाह पीडा देखे ।
उनी पनि गोलभेँडा टिप्न थाले ।
उनको हात गोलभेँडा टिप्नलाई त्यति धेरै त चलेन तर उनले जति सके दिनभरि टिपेँ । उनी गोलभेँडा टिपिराख्दा नेपालमा आफ्नो खेतबारी सम्झिरहे । नेपालमा आफ्नो खेतबारी बाँझो राखेर विदेशमा खेताला बनेर गोलभेँडा टिप्नुलाई गौरव कसरी मान्नूँ ? सोचेर उनी उदास भए ।
तीन दिन भयो उनी काममा निरन्तर गइरहेका छन । चौथो दिन बेलुकी साहु आउँदा एउटा डयाङ्भरिको गोलभेँडाका झाङहरु ओइलाइसकेको थियो । कसैले गोलभेँडाको झाङ् जरैदेखि काटिदिएका रहेछन् । सहूले यी झाङ्हरु कसले काटे सोध्दा अरुहरुले, प्रेमराजकै नाम लगाइदिए । तर, उनले काटेका थिएनन् । उनी भाषा पनि बुझ्दैनथे । उनलाई पोर्तुगिज भाषा बोल्न आउँदैन्थ्यो । सि (हो) नाउ (होइन) भन्न मात्र आउथ्यो । बेलुकी एक्लै बोलाएर उनलाई साहुले सोधेँ,
गोलभेँडाको झाङ् तैँले काटिस् ?
सि (हजुर हो ।)
किन काटिस् ?
सि (हजुर हो ।)
तैँले काटेर मलाई कति घाँटा भयो ? थाहा छ तँलाई ?
सि । (हजुर, थाहा छ ।)
भोलिदेखि काममा नआइज ।
सि । (हस् हजुर)
तीन दिन काम गरेको तेरो पैसा हिसाब गरेर दिन्छु । भोलिदेखि काममा आउनुपर्दैन ।
सि (हस् हजुर )
उनको हातमा साहुले पैसा थमाइदिए । उनलाई लाग्यो । उनले धेरै र राम्ररी काम गरेर पैसा दिएका हुन् ।
उनी छोरीलाई किताब, कापी र नयाँ लुगा किनिदिने सपना साँचेर घर फर्के ।
उनी बिहानै काममा गए । त्यहाँ गएपछि उनलाई साहुले खेतमा पस्न दिएनन् । उनी काममा लगाउने केटो प्रलयलाई बोलाए । प्रलय काम गर्न व्यस्त थिए । उनले बोलाएको देखेर आए । उनले आफूलाई साहुले काम गर्न खेतमा पस्न नदिएको गुनासो गरे । गुनासो गर्दा प्रलयले साहुलाई उनलाई किन खेतमा पस्न नदिएको सोधे । उनले सोधेपछि हिजोको सबै घटना साहुले उनलाई बताए ।
साहुको कुरा सुनेर प्रलयले भने,
तपाईले गोलभेँडाको झाङ् काटेर तपाईलाई साहुले कामबाट निकालेका हुन् ।
उनको कुरा सुनेर प्रेमराजले भनेँ,
मैले कतिवेला काटे ? कसले भन्यो ? मेले कटेको हैन । कसले काटे मलाई थाहा भएन । मैले नगरेको काम मैले गरेँ भनेर कसरी भन्नूँ ?
हिजो साहुले सोध्दा हो मैले काटेको हुँ भनेको हैन ?
मैले कतिवेला भनेँ ।
सि, सि भनेको हैन ?
हो त्यो त भने ।
त्यही सि भनेको मैले काटेँ भन्नुभो तपाईले ।
भाषा नबुझ्दा कस्तो फसाउने रहेछ दुष्टहरुले । प्रेमराज निराश र क्रोधित हुँदै बोले ।
त्यही भएर तपाईलाई हिसाब किताब गरेर पैसा दिएर पठाए । काममा नआ समेत भने साहुले हिजो । आज काममा किन आउनुभो ?
साहुले भनेको केही बुझदै बुझिनँ । मात्र सि, सि भनेँ । त्यही सि ले काम बिगार्यो भाइ । म बर्बाद भएँ भाइ । म त फसेँ । साहुसित कुरा गरिदे न भाइ । म समस्यामा छु । मैले काटेको हैन भनिदे न । उनलाई अनुरोध गर्दै भने ।
आफै गएर भन्नुस् । म भन्दिनँ । प्रलयले झर्किँदै जवाफ दिए ।
भने के हुन्छ मेरो भाइ ? कृपया भनिदे न । मलाई बोल्न आउँदैन ।
तपाईको पक्ष लिएँ भने मलाई पनि कामबाट निकालिदिन्छन् । काम नपाउने ठाउँमा तपाईको पक्ष लिएर म बेरोजगार हुनु छैन । मलाई कामबाट निकाले भने मेरो कामको जिम्मा तपाईले लिनुहुन्छ ?
सहि कुरा भनिदिँदा के हुन्छ मेरो भाइ ?
तपाईले मैले काटेँ भनेर साहुको अगाडि स्वीकारिसकेपछि अब म झुठो बोलेको जस्तो हुन्छ दाइ ।
यति भनेर उनलाई वेवास्ता गर्दै प्रलय काम गर्न पसे ।
उनलाई खेतमा पस्न दिएनन् । उनी खेतबाहिर घन्टौँ कुरिरहे तर, साहुले बोलाएनन् । उनको कुनै वास्ता गरेनन् । न कुनै नेपालीले उनको पक्षमा बोले । दुई घन्टा कुरे । उनलाई काममा पस्न दिएनन् । उनलार्य झुटो आरोप लगाउनेहरुसित क्रोध उत्पन्न भयो । यस्तो झुठो आरोप लगाएर फसाउने ठाउँमा पनि काम गर्ने ? के मेरो स्वाभिमान छैन ? यिनीहरुले मलाई के ठानेका ? योभन्दा राम्रो काम खोजेर देखाइदिन्छु ? अब त बोलाए पनि यस्तो घटिया ठाउँमा काम गर्न आउँदिनँ सोच्दै उनी त्यहाँबाट निस्के ।
उनको अनुहारमा आएको खुसी दुःखमा परिवर्तन भयो । तर, पनि उनी दुःखी छैनन् । त्यो ठाउँमा काम नगरेर उनलाई सही निर्णय लिएजस्तो लाग्यो । उनी आफूले गोलभेँडाको झाङ्हरु नकाटेको कुरा प्रमाणित गर्न नसक्दा दुःखी र क्रोधित भए । निन्याउरो अनुहार लिएर घर फर्के ।
प्रतिक्रिया दिनुहोस्