११ आश्विन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार

विपुल र रवि टेबलटेनिस च्याम्पियन

२३ असार, काठमाडौँ । रिभाइभ टेबलटेनिस क्लबका विपुल महर्जन र रवि धाक्वाको जोडी पाँचौँ ‘इन्टरटेन्मेन्ट टेबलटेनिस’ प्रतियोगितामा च्याम्पियन बनेका छन् ।

महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा आज भएको फाइनल खेलमा विपुल र रविको जोडीले आफ्नै क्लबका कैलाश श्रेष्ठ र प्रवेश बस्नेतको जोडीलाई ९–११, ११–६, ११–६ र १४–१२ को सेटमा पराजित गरे । विजेताले रु ४० हजार र उपविजेताले रु ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

इन्टरटेन्मेन्ट टेबलटेनिस ग्रुपको आयोजनामा भएको उक्त प्रतियोगितामा गोड स्पिन टेबलटेनिस एकेडेमीका सुरज बज्राचार्य र सञ्जय शाक्य तथा स्ट्याग च्याम्पियन्स एकेडेमीका सुमन शाक्य र सुस्मिता खड्काको जोडी तेस्रो भए । तेस्रो हुने जोडीले समान रु १०-१० हजार पुरस्कार पाएका छन् ।

सहभागिताका लागि सबैलाई खुला गरिएको प्रतियोगितामा १ मात्र डबल्स स्पर्धामा प्रतिस्पर्धा भएको थियो । डबल्समा पुरुष-महिला, पुरुष-पुरुष र महिला-महिला खेलाडीको जोडी मिलेर खेल्न पाउने प्रावधान थियो । प्रतियोगितामा एक सय २८ खेलाडी सहभागी थिए ।

उत्कृष्ट खेलाडीको उपाधि भने पुरुष-महिलामा छुट्टाछुट्टै प्रदान गरिएको थियो । पुरुषमा रिभाइभका एलेक्स महर्जन र महिलामा राष्ट्रिय च्याम्पियन स्ट्याग च्याम्पियन्स एकेडेमीकी नविता श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही रु १० हजार नगद पुरस्कार जिते ।

विजेतालाई बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जन, साग स्वर्णधारी टेबलटेनिसका सिजरिन शाह र गीता शाह, ललितपुर जिल्ला टेबलटेनिस सङ्घका अध्यक्ष आशिष अवाले, आयोजक ग्रुपका अध्यक्ष सुमन खड्गीलगायतले एक कार्यक्रमकाबीच पुस्कार प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्