५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

विपद् प्रभावितलाई सहयोग गर्न सांसदको माग

२४ असार , काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरुले बाढीपहिरो र डुबानलगायत मनसुनजन्य विपद् प्रभावितलाई समयमा नै राहत सामग्री उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँहरुले बाढीपहिराका कारण घाइते भएकाहरुको समयमा उपचार र प्रभावितलाई समयमा नै राहत सामग्री उपलब्ध गराउन माग गरे।

प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले बाढीपहिराका कारण मुलुक आक्रान्त भएको र मनसुनजन्य विपद्का कारण धनजनको क्षति हुनुका साथै सडकखण्डसमेत अवरुद्ध भएको बताए । मनसुनजन्य विपद्मा ज्यान गुमाएकाका परिवार तथा घाइतेलाई उचित क्षतिपूर्ति एवं राहतको प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।

सांसद लक्ष्मी तिवारीले मनसुनजन्य विपद् जोखिम घटाउन र जोखिम व्यवस्थापनमा सरकारको क्षमता अभिवृद्धि गर्न आवश्यक भएको बताए ।

सांसद विद्या भट्टराईले लामाचौर क्षेत्रमा नाला व्यवस्थापन हुन नसक्दा बालकको मृत्यु भएको भन्दै सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । “पोखरा क्षेत्रमा पहिरोको पनि जोखिममा छ । पहिराका कारण आवागमन रोकिएको छ”,उनले भने, “ठाउँठाउँमा सडक भासिएको छ, पोखराका १७ बस्ती डुबानको जोखिममा छन्, विपद् प्रभावितलाई राहत र क्षतिपूर्ति व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्छ ।”

यसैगरी अर्का प्रतिनिधिसभा सदस्य अच्युतप्रसाद मैनालीले पनि बाढीपहिराका कारण मानिसहरुको ज्यानै जोखिममा रहेको भन्दै घाइतेको निःशुल्क उपचार र पीडितलाई समयमा नै राहत सामग्री उपलब्ध गराउन माग गरे।

सांसद किरणकुमार साहले मनसुन सुरु भएसँगै बाढीपहिरोको जोखिममा बढेको भन्दै पूर्वतयारीमा सरकारको तयारी कमजोर रहेको बताए । “जलवायु परिवर्तनका कारण बाढीपहिरोजस्ता मनसुनजन्य विपत्ति बढिरहेको छ, यसबाट बच्न सरकारले प्रतिकार्य र पूर्वतयारीमा जोड दिन आवश्यक छ ।”

सांसद वासुदेव घिमिरेले पनि बाढीपहिराका कारण धनजनको क्षति भएको भन्दै विपद् व्यवस्थापन र पुनःस्थापनामा लाग्नुपर्नेमा जोड दिए । उनले निर्माण–व्यवसायीको बक्यौता भुक्तानी गर्न सरकारसँग अनुरोध पनि गरे ।

 

प्रतिक्रिया दिनुहोस्