१२ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

‘विपद्का बेला सरकार थप गम्भीर बन्नुपर्छ’

२५ असार, काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले मुलुकभर बाढी, पहिरो र डुबानका कारण उत्पन्न विपद्का बेलामा सरकार थप गम्भीर बन्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँहरूले विपद्बाट प्रभावित जनताको उद्धार र राहतका लागि सरकारले उचित ध्यान नदिएको टिप्पणी गरे ।

सांसद मेटमणि चौधरीले १८ महिनामा पाँच पटक विश्वासको मत लिनुपर्ने अवस्थाको मूलकारण नेतृत्व नै भएको बताउँदै शीर्ष नेताहरूले अब देश र जनताको समृद्धिबारे छलफल गर्नुपर्ने बताए । उनले भने, “बेरोजगारी र गरिबी घटाउने समाचार कतै छैन्, भ्रष्टाचारका विषयमा सबै तैँ चुप मै चुपको अवस्थामा छन् । यही गोलचक्करमा फसेर मुलुक बर्बाद बनाउने वा नयाँ तरिकाले सोच्ने? गम्भीररूपमा सोचौँ ।”

सांसद रोशन कार्कीले अविरल वर्षापछि देशमा उत्पन्न अवस्थाका बारेमा गृहमन्त्रीले सदनमा आएर जानकारी दिनुपर्ने माग गरे । उनले भने, “अहिले विपद्का बेलामा जनताको सहयोगमा लाग्ने हो, गृहमन्त्री कहाँ छन् ? अहिलेको अवस्थाबारे सदनलाई जानकारी चाहियो ।”

सांसद अब्दुल खानले २२ प्रतिशत जनसङ्ख्या शिक्षाबाट वञ्चित रहेका र मधेस प्रदेशका आठ जिल्ला साक्षर हुनै बाँकी रहेको बताए । यसबारेमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए । खानले रोजगारीका लागि धेरै युवा विदेशीनुपरेको तर्फ ध्यानाकर्षण गराउँदै प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ भनेर संविधानमा गरिएको मौलिक हकको व्यवस्था कार्यान्वयन गरिनुपर्ने बताए ।

सांसद दयालबहादुर शाहीले वर्तमान प्रधानमन्त्रीले कांग्रेस र एमालेसँग मिलेर सरकार बनाइसकेकाले अब दुई ठूला पार्टी मिलेर सरकार बनाउँछौँ भन्दा हच्किनुनपर्ने बताए । सांसद बिजुला रायमाझीले देशभर अविरल वर्षाका कारण धेरै जनधनको क्षति भएको अवस्थामा गृहमन्त्रीको ध्यान त्यसप्रति नभएको भन्दै दुःख व्यक्त गरे । सांसद पूर्णबहादुर तामाङले निर्माण व्यवसायीले निर्माणसम्पन्न गरेका कामको अझै भुक्तानी नपाएकाबारे सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्