४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

डुबानमा परेकाको उद्धारमा सुरक्षा फौज

२५ असार, काठमाडौँ । निरन्तरको अविरल वर्षाकाकारण देशका विभिन्न ठाउँमा डुवानमा परेकाको स्थानीय तह र सुरक्षा फौजको समन्वयमा सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–८ गोइँसारस्थित टेङ्गा खोलाको बाँध भत्किएर जोखिममा परेका २० घरपरिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको सशस्त्र प्रहरी बल नेपालका नायब उपरीक्षक एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

त्यसक्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल राजस्व प्रहरी इकाई इटहरी, नेपाली सेना, नेपाल प्रहरी तथा नगर प्रहरीसहितको टोलीले बाँध बाँध्ने कार्य गरिरहेको उनले जानकारी दिए । त्रियुगा नदीमा जलसतह बढ्दा डुबानमा परेका सप्तरीको सप्तकोशी नगरपालिका–२ सिद्धिपुरको सुकुम्वासी बस्तीका १६ घरपरिवारलाई सुरक्षा बेस फत्तेपुर र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको जनाइएको छ ।

झापाको झापा गाउँपालिका–२ स्थित सुगाँबथानमा माई खोलामा पानीको सतह बढ्दा डुवानमा परेका १० घरपरिवारलाई बिओपी टागनडुब्बा र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको पनि बलले जनाएको छ । सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्राहास्थित कमला नदीमा पानीको सतह बढ्दा नदीको बीच भागमा अड्किएका पाँचजनाको सुरक्षा बेस कल्याणपुर र सुरक्षा बेस दुवरकोटको टोलीले सकुशल उद्धार गरेको छ ।

वर्षाका कारण अवरुद्ध काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित जहरसिंह पौवा–कात्तिके सडक सशस्त्र प्रहरीले आजदेखि सञ्चालनमा ल्याएको छ । त्यस सडक खण्डको खहरे ठाडो खोल्सामा आएको बाढीले एकतर्फी सडक अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लप्सीफेदीबाट खटिएको सुरक्षा फौजले पूर्णरुपमा सञ्चालनमा ल्याएको सह प्रवक्ता थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्