४ आश्विन २०८१, शुक्रबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

गाउँ जोगाउन लगाएको तालगाउँको पर्खाल भत्कियो

२५ असार, मनाङ । अविरल वर्षापछि आएको बाढीले हिमाली जिल्ला मनाङमा क्षति पुर्‍याएको छ । नासों गाउँपालिका–१ तालगाउँलाई जोगाउन लगाइएको मेसिनरी पर्खाल आज बिहान भत्किएको छ ।

विसं २०७८ जेठ १४, २९ र असार १ मा मस्र्याङ्दी नदीमा आएको बाढीले तालगाउँ डुबानमा परेपछि बस्तीको सुरक्षाका लागि मेसिनरी पर्खाल लगाइएको थियो । पर्खाल लगाएको तीन वर्षपछि आज भत्किएको हो । उक्त क्षेत्रमा मस्र्याङ्दी नदीको बाढीको वेग सिधा पर्ने र प्रत्यक्ष प्रभाव पार्ने गर्दछ ।

मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले गाउँको माथिल्लो क्षेत्र तथा गाउँमा बाढी पस्ने ठाउँमा लगाइएको पर्खाल भत्किएको जानकारी दिए । उनका अनुसार नदीको बहाव बढेमा पर्खालमा अझ बढी क्षति पुग्नसक्ने अवस्था रहेको छ ।

उनले भने, “पहिला जोखिमबाट गाउँलाई जोगाउनु प्रमुख थियो । त्यसैले तत्कालका लागि पक्की बनाउने गरी बेस बनाउन सकेनौँ अहिले पर्खाल भत्किन पुगेको छ ।”

अहिलेको जोखिमलाई रोक्ने र बस्तीलाई सुरक्षित बनाउन स्थानीय तथा प्रहरीको सहयोगमा पर्खाल मर्मतको काम भइरहेको प्रजिअ लामिछानेले बताए । मनसुनको सुरुआतमा नै क्षति व्यहोरेको मनाङमा वर्षा बढी भएमा अझै उक्त क्षेत्र अझै जोखिम बढ्नसक्ने उनको भनाइ छ ।

यही असार १७ गते अविरल वर्षा भएपछि १८ गते चामे गाउँपालिका–१ तिमाङ झरनामा बाढीसँगै आएको ढुङ्गा तथा गेग्रानले मोटरेवल पुलमा क्षति पुगेको थियो । मोटरेवल पुलमा क्षति भएपछि पूर्णरुपमा डुम्रे–बेँशीसहर–चामे सडक अवरुद्ध छ । त्यस्तै लघु जलविद्युत् नजिकैको तिमाङ खोलाले काठेपुल बगाउँदा आवतजावत गर्ने एक मात्र सडक अवरुद्ध छ । यहाँको मोटरेवल पुल तथा काठेपुल भत्किँदा तल्लो मनाङका स्थानीय सदरमुकाम आवतजावत गर्नसक्ने अवस्था नरहेको प्रजिअ लामिछानेले बताए ।

उनले भने, “वर्षा कम र झरनाको बाढी कम भएपछि मात्रै मर्मत तथा निर्माण थाल्ने अवस्था छ । यसको मर्मत तथा निर्माणका लागि चाइना कम्पनीले सहयोग गर्ने मौखिक प्रतिबद्धता जनाएको छ ।” मौसममा सुधार भएपछि काम थाल्ने भएको उनले बताए । खाद्यान्न तथा औषधिको अभाव हुन नदिन लागिपरेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्