१२ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

२५ असार, काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले बाढीपहिरोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद अनिता देवीले बाढीपहिराले देशका विभिन्न स्थानमा यातायात अवरुद्ध, पठनपाठन ठप्प, खेतीयोग्य जमिन पानीमा डुबानमा परेका बताउँदै यस्तो अवस्थामा सरकारले के गरिरहेको छ भनी प्रश्न गरे ।

सांसद अम्बरबहादुर रायमाझीले अविरल वर्षाका कारण उदयपुरका विभिन्न गाउँपालिकामा सडक र विद्युत् सेवा अवरुद्ध, खानेपानी, टेलिफोन सेवा बन्द भएकाबारे सरकारको ध्यानाकर्षण गराए । सांसद ईश्वरीदेवी न्यौपानेले बाढीपहिराले वितण्डा मच्चाएका बेला सरकारको नेतृत्व गरेका दलहरूको ध्यान सरकारको आयु लम्ब्याउनमा केन्द्रीत भएको आरोप लगाए । उनले विपद् आउनुअघि नै पूर्व तयारीका लागि खासै काम नगरेकाले बढी समस्या भएको धारणा राखे ।

सांसद किरणकुमार साहले दक्षिण कोरियामा रहेका लाखौँ नेपाली युवाले महँगो हवाई टिकटबारे श्रममन्त्रीलाई ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाइ नभएको उल्लेख गर्दै कोरिया जाने श्रमिकको भाडादर पुनरावलोकन गर्न सरकाररसँग आग्रह गरे ।

सांसद कुसुमदेवी थापाले असहाय, शारीरिकरूपमा कमजोर बालबालिकालाई राज्यले संरक्षण दिए पनि बालिग भएपछि व्यवस्थापन गर्ने विषयमा आवश्यक स्पष्ट नीति नभएकाले सोसम्बन्धी व्यवस्था गर्न जरूरी रहेको धारणा राखे ।

सांसद गङ्गाप्रसाद यादवले अविरल वर्षाका कारण धेरै जनधनको क्षति भइरहे पनि सरकारले आवश्यकतानुसार काम गर्न नसकेको बताए । सांसद चन्दा चौधरीले वर्षाका कारण भएको धनजनको क्षतिबारे गृहमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताए ।

सांसद अच्युतप्रसाद मैनालीले मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई थप विस्तार र व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद अमृतलाल राजवंशीले सरकार अल्पमतमा परेको र संवैधानिक तथा नैतिक अधिकार नभएकाले छिटोभन्दा छिटो राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए।

सांसद उर्मिला माझीले अहिले संसद्का दुई ठूला दल मिलेर नयाँ सरकार बनाउने सहमति गरेका र संविधान संशोधनमार्फत परिवर्तनलाई नै चुनौती दिनसक्ने आशङ्का व्यक्त गरे । सांसद एकनाथ ढकालले पूर्वसासंदको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।

सांसद कान्तिका सेजुवालले स्थानीय तह र प्रदेशले गर्ने कारोबारको भुक्तानी गर्ने ‘सफ्टेवयर’ सोमबार राति १२ बजेबाट बन्द भएको बताउँदै वर्षाको समयमा विद्युतीय कारोबार गर्न आवश्यक सफ्टवेयर सञ्चालनका लागि आग्रह गरे। सांसद गोमा लाभ (सापकोटा) ले विपद्को बेला सरकारको आश नगरी दुःख परेको बेलामा उद्धार र राहतमा मद्दत पुर्‍याउने गरी आफ्नो पारिश्रमिकबाट प्रति महिना केही रकम छुट्याएर सङ्घीय सांसद राहत कोष स्थापना गर्न आग्रह गरे । सांसद चन्द्रबहादुर विश्वकर्माले देशका विभिन्न स्थानमा यातायात अवरुद्ध भएकाले तत्काल यातायात सञ्चालनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षाण गराए ।

सांसद छिरिङ ल्हामु लामा (तामाङ) ले नेकपा (माओवादी केन्द्र) ले संविधानको पालना गर्ने बताउँदै प्रधानमन्त्रीले संविधानअनुसार नै विश्वासको मत लिँदासम्म अन्य दललाई धैर्य गर्न आग्रह गरे । सांसद छिरिङ डम्डु लामा भोटेले कांग्रेस र एमालेबीच भएको नयाँ गठबन्धनले भ्रष्टाचार र अनियमितताका फाइल खोलेर छानबिन गर्न सक्नुपर्ने बताए ।

सांसद जावेदा खातुन जागाले वर्षाका कारण बाढीपहिराबाट प्रभावितको उद्धार तथा राहतका लागि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्