५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार

मालबाहक यातायातका साधन सञ्चालनमा रोक

२७ असार, काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकाले नगरकोट–नयाँगाउँ–कुन्ताबेँसी सडकमा आजदेखि मालबाहक यातायातका साधन सञ्चालनमा रोक लगाएको छ । वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक बुधबारदेखि अवरुद्ध भएपछि उक्त सडकमा चाप बढ्दा नगरले भारबहन क्षमता बढी भएका मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

बुधबार बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध भएपछि रामेछाप, दोलखा, सिन्धुपाल्चोकका सवारीसाधनको नगरकोट–नयाँगाउँ–कुन्ताबेँसी सडकमा चाप बढेको थियो । मण्डनदेउपुरले उक्त सडकखण्डको केही स्थानमा अझै कालोपत्र गर्न बाँकी रहेकाले सडकको क्षमताभन्दा बढी सवारीसाधन सञ्चालन हुँदा सडक बिग्रन गई पहिराको जोखिम बढ्ने भएकाले मालवाहक यातायातका साधनलाई रोक लगाइएको नगरप्रमुख टोकबहादुर वाइबाले बताए।

यस्तै नगरले हिगुवापाटी–गैह्रीबिसौना–नगरकोट सडकमा एम्बुलेन्स तथा आकस्मिकबाहेकका सवारीसाधन सञ्चाचलनमा रोक लगाइएको उनले बताए । अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डमा यातायातका साधन फसेका तथा स–साना पहिरा गएकाले बुधबार बिहानदेखि अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालयले उक्त राजमार्गमा अनिश्चितकालका लागि टिपर सञ्चालनमा रोक लगाएको छ ।

प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले निर्माणाधीन सडकमा हिलो–लेदोका कारण मालवाहकसहित यात्रुवाहक सवारीसाधन बाटोमै थन्किएका बताए ।

प्रतिक्रिया दिनुहोस्