४ आश्विन २०८१, शुक्रबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पोखरेली जेठो बुढो धानको उन्नत बीउ पर्वतमा उत्पादन गरिँदै

३० असार, पर्वत । स्वाद, बास्ना र गुणस्तरका हिसाबले छुट्टै पहिचान बनाउन सफल पोखरेली जेठो बुढो धानको यहाँ उन्नत बीउ उत्पादन गर्न थालिएको छ ।

धान उत्पादनको पकेट क्षेत्रका रुपमा रहेका जिल्लाको कुश्मा नगरपालिका–१ पाङ, वडा नं २ खुर्कोट र वडा नं ११ पकुवा तथा फलेबास नगरपालिकाको वडा नं ६ देविस्थान र विहादी गाउँपालिका वडा नं २ बर्राचौरमा पोखरेली जेठो बुढोको उन्नत बीउ उत्पादन गर्न लागिएको हो ।

पछिल्लो समय नेपाली भान्छामा मात्र नभई विदेशमा रहेका नेपाली रेष्टुरेन्टमा पनि जेठो बुढो धानको चामलको माग अत्यधिकमात्रामा बढ्दै गएपछि जिल्लामा यसको व्यावसायिक खेती सुरु गरिएको हो । यस वर्ष जिल्लाको तीन सय रोपनी क्षेत्रफलमा स्रोत बीउ उत्पादन गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङ एकाइ पर्वतले जनाएको छ ।

अहिले रोपिएको धान कात्तिक अन्तिम साता भित्र्याइन्छ । अहिले कार्यक्रम लागू भएका पाँचवटै स्थानमा धमाधम पोखरेली जेठो बुढो धानको रोपाइँ भइरहेको परियोजनाका निमित्त प्रमुख नारायण पौडेलले जानकारी दिए । उक्त क्षेत्रफलबाट ४० टन धानको स्रोत बीउ उत्पादन हुने अनुमान गरिएको पौडेलले बताए ।

कुश्मा नगरपालिका वडा नं ११ पकुवामा मात्रै एक सय पाँच रोपनी क्षेत्रफलमा जेठो बुढो धान रोपिएको छ । स्थानीय साना किसान कृषि सहकारी संस्थामार्फत धानखेती गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना सञ्चालन भएपछि धान उत्पादनमा प्रविधि, यन्त्र उपकरण र उन्नत बीउका साथै सिँचाइलगायत अन्य प्राविधिक विषयमा कृषकलाई सहयोग पुगेको कुश्मा वडा नं ११ मा रहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष अगुवा कृषक डम्बर विकले बताए ।

उनले एक सय पाँच रोपनी क्षेत्रफलमा पोखरेली जेठो बुढोको उन्नत बीउ उत्पादन गर्दै आएको बताए । उनले यहाँ उत्पादित बीउ पोखरासँगै बागलुङ र पर्वतका विभिन्न ठाउँमा बिक्री गर्ने गरेको बताए । उनले धान उत्पादनभन्दा बीउबाट दोब्बर आम्दानी गर्न सकिने भएकाले कृषक बीउ उत्पादनमा आकर्षित भएको बताए ।

विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा जेठो बुढोको धानखेती हुँदै आए पनि यस वर्ष बीउसमेत उत्पादन गर्न थालिएको परियोजना प्रमुख नारायण पौडेलले बताए । कार्यालयले खेतमा धानको बीउ उमार्नेदेखि रोप्ने, गोडमेल गर्ने, उत्पादन, बीउ छनोट तथा भण्डारणसम्मका काममा प्राविधिक सहयोग गर्ने उनले बताए । त्यसैगरी मिनिटेलर हलो, मूल बीउ, साना सिँचाइ योजनालगायतका सहयोग कार्यालयले गरेको छ ।

परियोजनाको धान जोन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा रु एक करोडभन्दा बढी सहयोग गरिएको परियोजनाले जनाएको छ । कृषकले बीउ बिक्री गरेर राम्रो आम्दानी गर्नसक्ने भएका छन् । प्रतिकिलो रु एक सय ८० का दरले बीउ बिक्री हुने गरेको कार्यालयले जनाएको छ । बीउ उत्पादनका लागि यस वर्ष परियोजनाले पाँच सय ८० किलो मूल बीउ वितरण गरेको थियो ।

पोखरेली जेठो बुढो धानको उन्नत बीउ उत्पादनका लागि चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन भएको कार्यालयले जनाएको छ । सिँचाइको सुविधा पुगेका समथर र समुद्री सतहदेखि एक हजार मिटरसम्मको उचाइमा उत्पादन गर्न सकिने यो धानखेतीको विस्तारक्रम बर्सेनि बढ्दो क्रममा रहेको छ ।

पर्वतको करिब नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । जिल्लाभर २६ हजार मेट्रिकटनभन्दा बढी धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा असार अन्तिमसम्म झण्डै ६५ प्रतिशत खेतमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शङ्कर पौडेलले जानकारी दिए ।

जेठो बुढोबाहेक जिल्लामा सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, युएस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, खुमल–१६, बास्मती, पहेँले, गौरिया, झिनुवा, वीरमफूल, गुर्जा, लुम्ले, माछापुच्छ्रे, जर्नेली, सुगन्ध, हाइब्रिडलगायत जातको धान लगाउने गरिन्छ । केही रैथाने जातको धान भने लोप भइसकेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्