१३ आश्विन २०८१, आईतवार
खेलकुद मुख्‍य समाचार समाज

अल्काराजले जिते विम्बल्डनको उपाधि

३१ असार , काठमाडौं । स्पेनिस खेलाडी कार्लोल अल्काराजले विम्बल्डन २०२४ को उपाधि जितेका छन् ।

लण्डनमा आइतबार राति पुरुष सिंगल्सको फाइनलमा सर्वियन स्टार खेलाडी नोभाक जोकोविचलाई पराजित गर्दै अल्काराजले विम्बल्डनको उपाधि रक्षा पनि गरेका हुन् ।

अघिल्लो संस्करणमा पनि जोकोविचलाई पराजित गर्दै अल्काराजले उपाधि जितेको थियो । अल्काराजको यो चौथो ग्राण्डस्लाम उपाधि रहेको छ ।

फाइनल खेलमा अल्काराजले स्टार टेनिस खेलाडी जोकोभिचलाई ६–२, ६–२, ७–६ को सोझो सेटमा हराए । ३६ वर्षीय सर्बियाई स्टारसँग अघिल्लो हारको बदला लिने सुनौलो अवसर थियो ।

तर, उनले यो अवसरलाई सदुपयोग गर्न सकेनन् र अल्काराजले ग्रान्डस्लाम उपाधि रक्षा गर्न सफल भए ।

अल्काराज र जोकोभिचबीचको खेल २.२७ घण्टा चलेको थियो । खेलको सुरुदेखि नै स्पेनिस खेलाडीको दबदबा थियो ।

उनले पहिलो दुई सेट जितेका थिए । यसपछि जोकोभिचले तेस्रो सेटमा पुनरागमन गरे पनि खेल जित्न सकेनन् ।

फाइनल खेलको तेस्रो सेट निकै रोमाञ्चक रह्यो । जोकोभिचले बलियो पुनरागमन गर्दा अल्काराजले ५–४ को अग्रता लिएका थिए र सेट ६–६ को बराबरी गर्दै टाइब्रेकमा पठाए । तर, फेरि पनि अल्काराजले सेट ७–४ ले जिते । उनले तेस्रो सेट ७–६ ले जितेर उपाधि जिते ।

अल्काराजले हालसम्म चारवटा ग्रान्डस्लाम फाइनल खेलेका छन् र सबै फाइनल पनि जितेका छन् ।

२१ वर्षीय टेनिस स्टार अल्काराज सबै तीन प्रकारका कोर्टः ग्रास, क्ले र हार्ड कोर्टमा ग्रान्ड स्लाम ट्रफी जित्ने सबैभन्दा कान्छो खेलाडी पनि हुन् । उनले आफ्नो पहिलो उपाधि, २०२२ मा यूएस ओपन जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्