४ माघ २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

सार्वजनिक पुस्तकालयः विद्यार्थीका लागि फुर्सदको साथी

मार्मिसा नगरकोटी र पूजन खड्का

१ साउन, काठमाडौँ । भृकुटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय थुप्रै विद्यार्थीको फुर्सदको साथी बनेको छ । पुस्तकालयमा राजनीति, चिकित्सा, व्यवसाय, धार्मिक, इतिहास, कृषि, कानुन सबै विषयका साथै उपन्यास, कथा, कविताका देशी तथा विदेशी किताब पढ्न पाइन्छ । पुस्तकालयमा सबै उमेर समूहका पाठक आउने गरेका छन् ।

शनिबार पनि पुस्तकालय खुल्ने भएकाले विद्यालयका विद्यार्थीको भिड हुने गर्छ । विगत १३ वर्षदेखि वरिष्ठ लाइब्रेरियनका रुपमा कार्यरत रितेश श्रेष्ठका अनुसार पुस्तकालयमा दुई वटा शाखा छन् । जस्मा ६० हजारभन्दा बढी किताब छन् । पुस्तकालयमा विभिन्न प्रकारका किताब राखिएको छ । विद्यार्थी, व्यवसायी, धार्मिक व्यक्ति वा कुनै पनि विषयको अध्ययन गर्न रुचाउने व्यक्तिका लागि पुस्तकालय एउटा साझा ठाउँ हो ।

पुस्तकालयका लाइबे्ररियन लक्ष्मी खतिवडाअनुसार पुस्तकालयमा आउने मानिसहरु प्रायः लोकसेवा तयारीका लागि आउँछन् । साथै कलेजमा अध्ययनरत विद्यार्थीलगायत धार्मिक र इतिहासमा रुचि राख्ने व्यक्ति पनि आउने गरेका छन् । पुस्तकालयमा आएर किताब पढ्नेको सङ्ख्या बढ्न थालेपछि कहिलेकाँही बस्ने ठाउँको समेत अभाव हुने गरेको छ ।

वरिष्ठ लाइब्रेरियन श्रेष्ठका अनुसार पुस्तकालयमा कुर्सी थप्ने र धेरैभन्दा धेरै पढ्ने ठाउँ बनाउनका लागि सञ्चालन समिति लागि परेको छ । हाल दैनिक एक सय ५० देखि दुई सय जनासम्म अध्ययनकर्ता आउने गरेका छन् ।

यो पुस्तकालय विसं २०६० देखि सञ्चालन हुँदै आइरहेको छ । पूर्वमन्त्री डा नारायण खड्का संस्थापक अध्यक्ष रहेको पुस्तकालयका सञ्चालन समितिका संस्थापक अध्यक्षमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेल हुन् ।

विसं २०६० सालमा पूर्वमन्त्री एंव नेपाली कांग्रेसका नेता डा खड्काको नेतृत्वमा पुस्तकालयको स्थापना भएको थियो । पुस्तकालयले हाल राष्ट्रिय सभागृहको एउटा कोठाबाट विद्युतीय पुस्तकालय सेवाका साथै पुस्तकालय विज्ञान र व्यवास्थापनबारे तीन महिने व्यावसायिक कोर्समा आधारित तालिम पनि सञ्चालन गर्दै आएको छ । पुस्तकालयको मूल उद्देश्य समाजलाई शिक्षित, सभ्य, लोकतान्त्रिक र शान्तिपूर्ण बनाउनु हो ।

प्रतिक्रिया दिनुहोस्