३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाज

मोहर्रममा नेपालगञ्ज ताजियाले झिलीमिली

२ साउन, बाँके । मोहर्रम पर्वका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी चाँदबाबु राहीले करिब ६५ फिट उचाइको ताजिया स्थापना गरेका छन् । यो वर्ष राहीले करिब रु एक लाखमा भारतको आलीनगरबाट ताजिया खरिद गरेर ल्याउनुभएको हो । नेपालगञ्जसम्म ल्याउन ढुवानी र जडान गर्दा करिब रु ६० हजार थप खर्च भएको उनले बताए ।

नेपालगञ्जको गणेशपुर चोकमा पनि विगत सात वर्षदेखि बच्चा राहीको नेतृत्वमा अग्लो ताजिया राख्ने गरिएको छ । यो वर्ष पनि ६० देखि ७० फिटसम्म अग्लो ताजिया राखिएको राहीले बताए । “यो हाम्रो परम्परा बनेको छ, सात–आठजनाले पैसा लगाउँछौँ, टोलका सबैजसोले सहयोग गर्छन्”,राहीले भने, “अग्लो ताजिया ‘फिट’भएपछि मनमा शान्ति र खुसीयाली हुने गरेको छ ।”

राहीले जस्तै बाँकेका अन्य मुसलमान समुदायका व्यक्तिले पनि आफ्नो गच्छेअनुसारको ताजिया घरमा स्थापना गरेका छन् । चाँदबाबुले केही वर्षयता बाँके जिल्लामै सबैभन्दा अग्लो ताजिया राख्ने होडबाजी गर्दै आएका छन् । राहीले चन्दा अथवा दानबाट नभई आफ्नो निजी रकम खर्च गरेर अग्लो ताजिया राख्ने गरेको बताए ।

बाँकेमा मात्रै रु एक करोडभन्दा बढीका ताजिया राखिएको अनुमान गरिएको छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिक रूपमा आज घर नजिकै रहेका कर्बलामा विसर्जन गर्छन् । नेपालगञ्जमा मुस्लिम, हिन्दू तथा अन्य जातिले पनि आ–आफ्नो घर अगाडि ताजिया राखेर पूजाआजा गर्ने गर्छन् । मोहर्रमको अन्तिम दिन घरघरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ ।

आफ्नो आर्थिक हैसियतअनुसार ताजिया स्थापना गरिने परम्परा भए पनि पछिल्ला केही वर्ष ठूलो ताजिया राख्ने अस्वस्थ प्रतिस्पर्धा देखिएको मौलाना अब्दुल जब्बार मञ्जरीले बताए । उनले सानो–ठूलो जस्तो ताजिया राखे पनि विसर्जन गरिने भएकाले ठूलै राख्नुपर्ने कुनै जरुरी नरहेको बताए ।

हिन्दूलगायत अन्य धर्म समुदायले समेत मनाउन थालेपछि मोहर्रम पर्व धार्मिक सद्भावको रूपमा विकसित हुँदै गएको छ । भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृद्धि तथा मनोइच्छा पूरा हुने विश्वास रहेको उनले बताए ।

पैगम्बर हजरत मोहम्मदका नातिहरू हजरत इमाम हुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीले १० दिनसम्म विविध कार्यक्रम गरी मोहर्रम मनाउँदै आएका छन् । बाँकेमा बसोबास गर्ने विभिन्न धर्म समुदायले मिलेर धार्मिक सद्भाव र सामाजिक एकताका रूपमा मोहर्रम पर्वलाई मनाइरहेको मोहर्रम तथा कर्बला संरक्षण समिति नेपालगञ्जका महासचिव मोहम्मद हारुन हलवाईले जानकारी दिए । यो पर्व सबैले मिलेर मनाउने तथा सबैले ताजिया (इमाम हसन र हुसैनको समाधिको प्रतीक) राख्ने हुँदा यसलाई सद्भाव र एकताको पर्व मानिन्छ ।

गए राति घरघरमा राखिएको ताजिया आज जुलुससहित सेलाउने कार्यक्रम रहेको मोहर्रम तथा कर्बला संरक्षण समितिका महासचिव हलवाईले जानकारी दिए । हजरत हुसैन र हसनको सहादतको सम्झनामा अरबी क्यालेण्डरअनुसार मोहर्रम महिनाको पहिलो १० दिन विविध कार्यक्रम गरेर मनाइने यो पर्वमा उहाँहरूकै सम्झनामा कागज र काठबाट बनाइएका ताजिया राख्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्