५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

चुरे तथा वनजंगल संरक्षण अभियानको आन्दोलनप्रति ऐक्यबद्धता

४ साउन, काठमाडौं । चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको धर्ना कार्यक्रममा बृहत नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ ।
शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै बृहत नागरिक आन्दोलनले माइतीघर मण्डलामा निरन्तर चलेको धर्ना कार्यक्रममा सहभागी भइ ऐक्यबद्धता जनाउने जानकारी दिएको हो । साथै आन्दोलनमा सहभागीका लागि आव्हान समेत गरेको हो ।

‘बृहत नागरिक आन्दोलन, धर्नारत टोलीसँग अविलम्ब वार्ता गरेर चुरे संरक्षणका मागहरु पूरा गर्न जोडदार माग गर्दछ । चुरे संरक्षणको यस अभियानमा ऐक्यबद्धता जनाउन आयोजना गरिएको माइतीघर–नयाँ बानेश्वर चुरे संरक्षण मार्चमा सहभागी हार्दिक अनुरोध गर्दछ ’विज्ञप्तिमा भनिएको छ।

टोलीले चुरे र वनजंगल संरक्षण, सम्वर्धन, दलित, भूमिहीन, सुकुमवासीहरुको भूमि अधिकारका माग सहित २४ दिने चुरे संरक्षण पदयात्रा सम्पन्न गरिसकेको छ । पदयात्रा पश्चातटोलीले काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना सुरु गरेका हुन् ।

नागरिक आन्दोलनले भू–जैविक, भौगर्भिक आदि दृष्टिकोणले कमलो, संवेदनशील वातावरण रहेको चुरे क्षेत्र विगत केही दशकदेखि विकासका क्रियाकलाप तथा मानवीय क्रियाकलापका कारण व्यापक विनाश भएकोमा चिन्ता समेत व्यक्त गरेको छ ।

विज्ञप्तिमा लेखिएको छ,‘चुरे क्षेत्रले चुरे–तराई, मधेश क्षेत्रमा बसोबास गरेका नेपालको आधाभन्दा बढी जनसंख्या तथा नेपालको दक्षिण सिमानासँग जोडिएको छिमेकी मुलुकको बहुसंख्यक जनताको जीवनरेखाको रुपमा काम गरेको छ । भू–जैविक, भौगर्भिक आदि दृष्टिकोणले कमलो, संवेदनशील वातावरण रहेको चुरे क्षेत्र विगत केही दशकदेखि विकासका क्रियाकलाप तथा मानवीय क्रियाकलापका कारण व्यापक क्षयीकरण र विनाश भएकोछ। चुरेका खोला–नदीबाट बालुवा, ढुङ्गा, गिट्टी अत्यधिक र अवैज्ञानिक किसिमले सङ्कलन हुँदा तराईको जमीन झन् झन् कटान र बाढीको चपेटामा परेको छ। चुरेको क्रमिक विनाशले तल्लो तटीय क्षेत्रमा यसले विपद जोखिम र त्रास बढ्न थालेको छ ।’

प्रतिक्रिया दिनुहोस्