६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

बंगलादेशबाट आइपुगेका विद्यार्थी भन्छन्ः ‘स्थिति असहज छ, प्रधानमन्त्री नै भागिसक्नुभयो’

६ साउन, काठमाडौं । बंगलादेशबाट १७ जना नेपाली विद्यार्थी नेपाल फिर्ता भएका छन् । आइतबार नेपाली विद्यार्थी हवाई र स्थलमार्ग हुँदै नेपाल आएका हुन् ।

बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शन चर्किएपछि सरकारले पहिलो चरणमा आउन चाहने १७ जना नेपाली विद्यार्थीको उद्धार गरेको हो ।

नेपाल फर्कन चाहने अन्य विद्यार्थीलाई ढाकास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलनका कारण आठ सयभन्दा बढी नेपाली विद्यार्थीले बंगालादेश छाडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बंगलादेश सरकारले शुक्रबार रातिदेखि देशभर कर्फ्यु लगाएको छ । त्यस्तै सञ्चार सेवा, इन्टरनेट र टेलिफोनका सेवा विच्छेद गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा बंगलादेशमा एक साताअघिदेखि सुरु आन्दोलन हिंसात्मक बन्दा अहिलेसम्म कम्तीमा सय जनाले ज्यान गुमाइसकेका छन् । साथै, बंगलादेशका विभिन्न भागमा भएका प्रदर्शनीमा सयौं जना घाइते भएको जनाइएको छ ।

बंगलादेशमा तीन हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । आइतबार नेपाल आइपुगेका नेपाली विद्यार्थीहरुले ढाकामा संचार विच्छेद गर्नक्रम सुरु भएको र प्रधानमन्त्री समेत भागेर स्पेन पुगिसकेको आफूहरुले थाहा पाएको सुनाए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएकी दिलिपा सापकोटाले नेपाली दूताबास मजबुद नभएको दुखेसो गरिन् । ‘दूताबासका कर्मचारीले फोन नउठाउने, सम्पर्कमा नआउने र उद्धार गर्न ढिलाइ गरिरहनुभएको छ । यसो नगर्न अनुरोध गर्दछु,’उनले भनिन् ।

दुई महिना अघि बंगलादेश पुगेकी सदिक्षा बस्नेतले आफूहरु असुरक्षित भएपछि नेपाल फर्किएको सुनाइन । ‘ढाकाको अवस्था एकदमै संवेदनशील भइसकेको छ । निषेधाज्ञा सुरु भइसकेको छ । बंगलादेशको प्रधानमन्त्री नै भागेर स्पेन पुग्नुभएको खबर सुनेका छौं । अवस्था चिन्ताजनक छ,’ उनले भनिन् । सदिक्षासँगै विमानस्थलमा उत्रिएकी महिमा फागोले होस्टलमा रहँदा गोलीको आवाजहरु सुनेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्