५ माघ २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

‘अभिभावक शिक्षामा जोड दिनुपर्ने’

१० असार, काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सांसद रोशन कार्कीले अभिभावक शिक्षालाई जोड दिनुपर्ने बताएका छन् । उनले कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी नरहेको विषयलाई हेर्नुपर्नेमा जोड दिए ।

नेपालमा बालबालिकाको शैक्षिक विकासमा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को)ले खेल्दै आएको भूमिकाबारे आज भएको छलफलमा सांसद शान्ति श्रेष्ठले युनेस्कोले शिक्षाको क्षेत्रमा राम्रो भूमिका निर्वाह गरेको बताए । उनले अभिभावक तथा शिक्षकहरुलाई पनि अनौपचारिक शिक्षाको खाँचो रहेको औँल्याए ।

सांसद सीताकुमारी रानाले भविष्य राम्रो बनाउने हो भने बालबालिकामा लगानी गर्नुपर्ने धारणा राखे । युनेस्कोको शिक्षा विभाग प्रमुख ध्रुवराज रेग्मीले युनेस्कोले शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै आइरहेको बताए । उनले सरकारले औपचारिक शैक्षिक क्षेत्र प्राथमिकतामा राखे पनि अनौपचारिक क्षेत्र छुटाएको बताए । उनले भने, “अनौपचारिक क्षेत्रलाई छुटाउनुभएन । तथ्याङ्क हेर्ने हो भने साक्षरतामा मुलुकले राम्रो गरिरहेको छ । समयसँगै साक्षरताको परिभाषा फरक बनिसकेको छ । त्यसैले पाठ्यक्रममा परिमार्जन ल्याउन जरुरी देखिन्छ ।”

उनले युनेस्कोले ‘ग्रिनिङ एजुकेसन’ को अवधारणा ल्याएको जसले जलवायु परिवर्तनको विषयलाई कसरी पाठ्यक्रममा लान सकिन्छ भन्नेमा काम भइरहेको बताए ।

युनेस्कोका सञ्चार तथा सूचना अधिकारी निर्जना शर्माले कोभिडका बेला धेरै बालबालिका अनलाइन शिक्षामा जोडिन पुगेको तर अहिले त्यसको नकारात्मक असर देखिरहेको तथ्य उजागर गरे । उनले भने, “कोभिडका बेला सिकाइको माध्यम नै ‘भर्चुअल’ माध्यम बन्यो तर सही र गलत छुट्याउन नसक्दा धेरै बालबालिका विशेषगरी छात्राहरु अनलाइनबाट दुव्र्यवहार भोगिरहेका छन्, जसले गर्दा मानसिक समस्या बढेको छ ।”

उनले अनलाइन हिंसालाई कम गर्ने विषय युनेस्कोले प्राथमिकतामा राखेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्