६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

खलासीलाई भाडा दिनको लागि हात खल्तीमा लान मात्र आँटेको थिएँ…………

१३ साउन, काठमाडौँ । खलासीलाई भाडा दिनको लागि हात खल्तीमा लान मात्र आँटेको थिएँ, सँगै बसेको अपरिचितले भन्यो – “हैन हजुर ! हजुरको भाडा म दिइहाल्छु नि !”
मैले भनेँ – हैन, मेरो भाडा म आफै दिन्छु नि, तपाईंले किन दिनुपर्यो हजुर ?

तर, अपरिचितले मलाई पैसा झिक्नै दिएन, मेरो भाडा पनि तिर्यो । अर्को स्टेशनमा त्यो अपरिचित झर्यो । त्यसपछि मैले खै के झिक्न पाइन्टको गोजीमा हात लगेको त दिमाग चकराए झैँ भयो । पकेटमारा रहेछ, पाइन्टको पछाडिको खल्तीमा भएको पैसा सबै लिएर झरेको रहेछ ।

केही दिन पछि मैले त्यो चोरलाई बजारमा भेटेँ । चोर मलाई अँगालो हालेर रुँदै भन्यो – हजुर ! मलाई माफ गर्नुस् ! हजुरको पैसा चोरेको बेलुका नै मेरी श्रीमती र छोरी एकाएक मरे । सायद मैले चोरी गरेको पापले हो कि ? माफ गर्नुस् हजुर ! यो अभागीलाई माफ गर्नुहोस् ।

उसको कुरा सुनेर म पग्लिएँ । हृदय ठूलो बनाएर माफी दिएँ । चोर गयो तर अँगालो हालेर रुँदै माफी माग्ने बेला मेरो कमिजको खल्तीबाट फेरी पनि सबै पैसा चोरेर लगेछ ।

केही दिनपछि म कामविशेषले मोटरसाइकलमा कतै जाँदै थिएँ, बाटोमा त्यही चोरले मलाई रोक्यो । चोरले फेरी पनि रूँदै माफी माग्यो अनि चोरेको सबै पैसा फिर्ता पनि गरिदियो । त्यसपछि त्यो चोरले मलाई नजिकैको होटलमा लग्यो, मलाई चिया नास्ताको व्यवस्था गरिदियो अनि विदा माग्यो र निस्कियो । खाइसकेपछि जब म बाहिर निस्केँ, न त गोजीमा चाबी थियो न त रोकेको ठाउँमा मोटरसाइकल । चोरले यसपटक त मेरो मोटरसाइकल नै उछिट्याएछ।

ठ्याक्कै यही चोरको हालत नेपालका राजनीतिक पार्टीमा देखिएकोछ । सोझा साझा जनताले यिनीहरूलाई हरेक पटक विश्वास गरे तर यिनीहरू हरेक पटक नयाँ नयाँ तरिकाले जनतालाई नै लुटिरहेका छन् !

प्रतिक्रिया दिनुहोस्