६ आश्विन २०८१, आईतवार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार समाज

इजरायल नियन्त्रित गोलान हाइटमा रकेट आक्रमण हुँदा १२ जनाको मृत्यु

१३ साउन, इजरायल । शनिबार एक विद्यालयमा इजरायली हमलामा ३० जनाको मृत्यु भएको २४ घण्टाभित्र लेबनानबाट प्रहार गरिएको रकेटले इजरायली कब्जामा रहेको गोलान हाइट्समा १२ युवाहरूको ज्यान गएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हेज्बुल्लाहले लेबनानबाट मजदल शम्सको ड्रुज सहरको फुटबल मैदानमा रकेट प्रहार गरी १० देखि २० वर्षका युवाहरूको हत्या गरेको इजरायली सेनाले बताएको छ । आक्रमणमा अन्य १८ जना युवाहरू घाइते भएका आपतकालीन सेवाले जनाएको हो ।

“इजरायलले यो घातक आक्रमणको जवाफ दिनेछ र हेजबुल्लाहले यो हमलाका लागि अहिलेसम्म कहिल्यै नचुकाएको भारी मुल्य चुकाउनेछ,”प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो कार्यालयबाट जारी विज्ञप्तिमा भने । नेतान्याहूले संयुक्त राज्य अमेरिकाबाट इजरायल फर्केपछि सुरक्षा मन्त्रीमण्डलको बैठक बस्ने बताएका छन् ।

लेबनानका लागि विशेष संयोजक जेनिन हेनिस–प्लास्चर्ट र लेबनानमा संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल) का प्रमुख एरोल्डो लाजारोले संयुक्त वक्तव्य जारी गर्दै यस समयमा अधिकतम संयमता अपनाउन आग्रह गरेका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले यस ‘भयानक आक्रमण’को निन्दा गरेको छ ।

“लेबनानी हेजबुल्लाहसहित सबै इरान समर्थित आतङ्कवादी समूहविरुद्ध इजरायलको सुरक्षाका लागि हाम्रो समर्थन अटल छ,”एक प्रवक्ताले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

इजरायली कब्जामा रहेको गोलान हाइट्समा भएको घातक रकेट आक्रमणमा तेहरान समर्थित हेजबुल्लाहमाथि लगाइएको आरोपको विरोध गर्दै इरानले आइतबार लेबनानमा कुनै पनि नयाँ सैन्य आक्रमणले ‘अप्रत्याशित परिणाम’निम्त्याउन सक्ने चेतावनी इजरायललाई दिएको छ ।

“इजरायलको कुनै पनि अज्ञानी कार्यले यस क्षेत्रमा अस्थिरता, असुरक्षा र युद्धको दायरा विस्तार गर्न सक्छ,”विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले भने । “इजरायल यस्तो मूर्खतापूर्ण व्यवहारको अप्रत्याशित परिणाम र प्रतिक्रियाका लागि जिम्मेवार हुनेछ,”उनले भने ।

युरोपेली सङ्घको विदेश नीति प्रमुख जोसेप बोरेलले आक्रमणको निन्दा गर्दै स्वतन्त्र अनुसन्धानको आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्