६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

‘बीपीको सिद्धान्त र लिगेसी डा.शेखरले बचाउँछन्’

काठमाडौं । अहिले मुलुक गम्भीर अवस्थामा छ । पार्टी पनि गम्भीर अवस्थामा छ । अनि मलाई लाग्यो कि हामी एकजुट भएर जानुपर्छ । नत्र भने यो पार्टी रहँदैन । पार्टीको धेरै बदनामी भइसेकको छ ।
तपाईहरु कतिको युट्युब हेर्नुहुन्छ, न्यूज पढ्नुहुन्छ । प्रजातन्त्रको बदनाम भइसकेको छ । प्रजातन्त्र भनेको देख्नु भो यहीँ हो ? ‘तपाईको बुबाहरु त बेकुप हुनुहुँदो रैछ’ मलाई भनेको । कसले भनेको म भन्न चाहन्न । ‘१९÷१९ वर्ष जेल बसेको प्रजातन्त्र ल्याएको आज देखिहाल्नुभो । प्रजातन्त्रको अवस्था कस्तो रैछ । भ्रष्टाचार हुँदोरैछ प्रजातन्त्रमा । सबैलाई माइनस गरिदोरैछ । प्रजातन्त्रमा विदेशीहरु घुस्दा रैछन् । अनि तपाईले के राम्रो काम गर्नुभयो ? तपाईको बुबाहरुले के गर्नुभयो ? यही हो देशको अवस्था ? यही बनाउन बुबाहरु लडेको हो ? १९ वर्ष जेल बसेको कसको लागि ?’ भनेर यस्ता कोइसन्सहरु मलाई आउने गर्दछ ।
म धेरै मान्छेलाई भेटिराखेको हुन्छु राजनीति भन्दा बाहिरको मान्छेलाई । बाहिरको मान्छेहरुसित सल्लाह भइराखेको छ । मलाई यति दुःख लाग्यो, जनताका समस्यामा नेपाली काँग्रेस कहाँ छ ? आज तपाईहरु यहाँ आउनुभएको छ, तपाईहरुलाई धेरै पछि भेटे । मलाई लाग्यो तपाईहरुले नै यो पार्टीलाई बचाउने हो । किनकि बीपीको लिगेसी तपाइँहरुसँग छ । जसरी बीपीको लिगेसीलाई गिरिजाबाबुले बचाएर राख्नुभएको थियो । अब त्यो लिगेसीलाई बचाउने काम तपाईहरुको हो । हाम्रो हो । यसैले हामी एकजुट हुनुपर्छ भन्ने मलाई लाग्यो ।

सानो सानो इगो, घटनाहरु र सानातिना कुराहरुलाई हामीले बिर्सनुपर्छ । हामीले बिर्सेर एक भइकन यो पार्टीलाई बचाउनुपर्छ । जहाँ गणेशमानजी, किसुनजी, सुवर्णशमशेरजी जस्ता नेताहरुको इतिहास बोकेको, पिताजी कृष्णप्रसादले यत्रो राणा शासन हटाउनुभयो, यत्रो काम गरेको पार्टीलाई आज बदनामी बनाएका छौँ । हामी बदनाम भएका छौँ । त्यसैले गर्दा यो सुधार्ने काम तपाईहरुको हो । तपाइँहरुको जिम्मा हो । म अरु कसैबाट आश गर्दिन । बीपीको सत्य रुपले जसले लिगेसी बोकेको छ, जसले बीपीको सिद्धान्तलाई अगाडि बढाएको छ, त्यो व्यक्तिहरुले मात्रै यो पार्टीलाई बचाउन सक्छ ।
आज यत्रा युवाहरु पलायन भइराखेका छन् । त्यो युवाहरुलाई पनि हामीले निराश बनाएका छौँ । नेपाली काँग्रेसले निराश बनाएको छ । मेरो अरु पार्टीहरु माथि आश पनि छैन । म उनीहरुलाई दोष पनि दिन्न । किनभने हाम्रो उनीहरुसँग संलग्नता छैन । उनीहरुसित हाम्रो कुनै सरोकार पनि छैन । तर नेपाली काँग्रेस आज सिद्धान्तविहीन पार्टी भएको छ । सिद्धान्त नभएको कुनै पार्टी बाँच्न सक्छ ? संसारको एउटा पार्टी देखाइदिनुस् जहाँ सिद्धान्त छैन । सिद्धान्त नभएसी पार्टी जिरोमा हुन्छ । खतम भएर जान्छ । आज पार्टीको त्यो अवस्था छ । मैले महसुस गरे ।
मैंले सबै कुरा बिर्सेर अब शेखर दाइको नेतृत्व स्विकार्छु, शेखर दाइलाई हामीले अगाडि बढाउनैपर्छ । उहाँले जति सक्नुहुन्छ बल र बुत्ताले काम गरिराख्नुभएको छ । उहाँले बीपीको सिद्धान्त, गिरिजाबाबुको संगठनलाई बचाउने प्रयास गर्नुभएको छ । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद जुन बीपीको भन्नुहुन्थ्यो त्यो कुरालाई हामीले अगाडि बढाउनुपर्छ । अहिले न राष्ट्रिय एकता छ, न प्रजातन्त्र छ नत समाजवाद नै छ । कुनै सिद्धान्त छैन। यो त एउटा सिद्धान्त दिएको हो नि बीपीको पार्टीको लागि । यो कुरा हामीले बिर्सिसकेका छौँ । गिरिजाबाबुले जुन सहमति, सहकार्य भन्नुभएको छ त्यो सहमति, सहकार्यलाई कायम राखेर नेपाली काँग्रेसले यो मुलुकलाई लिड गर्ने बेला आएको छ । हामीले लिड गर्ने हो ।
हामीले गठबन्धन गरेर यो नेतालाई जिताउने, त्यो नेतालाई जिताउने ? गठबन्धनबाट जनतामा सबैभन्दा बदनामीहरु जितेर आउँछन् । अचम्म लाग्छ मलाइ त । जब जनताले सपोर्ट गरिराछ त्यो हार्छ । यो कस्तो प्रजातन्त्र हो म नै कोइसन गर्न थाल्या छु । सबैभन्दा अनपपुलर मान्छे जित्छ जो पपुलर छ उ हार्छ यो कस्तो प्रजातन्त्र ?
सही व्यक्ति नआएकाले यो पार्टी ध्वस्त भएर गइरहेको छ । म मात्रै होइन हामी सबै गल्ती गर्छौ । गलत मान्छेलाई भोट हाल्छौँ । जिताएर ल्याउछौँ र पछि पछुताउँछौँ । त्यसले गर्दा यहाँहरु यहाँ आउनुभएको छ । अब हामी जिल्ला जिल्ला जानुपर्छ । काठमाडौँमा बसेर हुँदैन । एउटा म्यासेज लिएर जानुपर्छ । नेपाली काँग्रेसलाई हामीले पुरानो अवस्थामा फर्काउछौँ ।
नेपाली काँग्रेसलाई कसैले पनि समाप्त गर्न सक्दैन । यो एउटा प्रजातान्त्रिक पार्टी हो । यसको मूल्य मान्यता छ, सिद्धान्त छ भने हामीले त्यो आचरण देखाउनुपर्छ । युवाहरुलाई हामीले ल्याउनुपर्छ । उनीहरुको भावना बुझेर अहिलेको परिस्थितिमा, मोर्डन युगमा युवाले के चाहन्छ भन्ने कुरा बुझेर हामीले अगाडि बढ्नुपर्छ ।
अब नयाँ परिस्थितिमा हामी गइरहेका छौँ । नयाँ परिस्थितिमा देश अगाडि बढिरहेको छ । संसार अगाडि बढिरहेको छ । त्यो परिस्थितिलाई बुझेर हामीले हाम्रो पार्टीमा पनि परिवर्तन ल्याउनुपर्छ । युवाहरुले चाहेको कुरालाई हामीले पूर्णता दिन सक्नुपर्छ ।
बीपीले जहिले पनि हामीलाई भन्नुहुन्थ्यो ‘प्रजातन्त्र तब मात्रै सस्टेनेबल हुन्छ जब मुलुकमा विकास हुन्छ । जब हरेक गरीबले विकासलाई महसुस गर्छ । फिल गर्छ । अनिमात्रै प्रजातन्त्र बलियो हुन्छ । नभए प्रजातन्त्रको कुनै आवश्यकता छैन ।’
वास्तवमा अहिले प्रजातन्त्र नै छैन । जनताले विकास फिल गरेको छैन । प्रजातन्त्र फिल गरेको छैन् । गन्जागोल छ मुलुकको अवस्था । त्यो अवस्थाबाट निकास दिनको लागि हामी एक हौं । शेखर दाइलाई जिताएर ल्याउने । पद छोड्नु । पद सबैलाई दिन सकिदैंन । मलाई साथीहरु भन्नुहुन्छ तपाई बार्गेनिङ गर्नुस् शेखर दा सित । के दिने उहाँले तपाइलाई कहाँ एडजस्ट गर्ने, शशांकलाई कहाँ एडजस्ट गर्ने चिन्ता भएर होला सायद । तर मलाई कुनै पद चाहिदैन । उहाँलाई जिताएर ल्याउँ अनि उहाँले आफै विचार गर्नुहुन्छ । कहाँ कसलाई एडजस्ट गर्ने ? के गर्ने?
अहिले हामीले पद खोज्यौँ भने कसरी हामी अगाडि बढ्न सक्छौँ ? एउटा व्यक्तिले सबैलाई पद दिन सक्छ ? सक्दैन नि । कतिले त स्याक्रिफाइस गर्नुपर्छ । जसरी बीपीलाई जिताउनका लागि बीपीको लिडरसिपलाई अगाडि बढाउनको लागि सबै परिवार भाइहरु मिलेर सहयोग गरेको थिए त्यसरी नै हामीले शेखर दाइलाई सहयोग गर्नुपर्छ । मंैले हाम्रो परिवारले सहयोग गर्नुपर्छ भनेको तपाईहरुको सहयोग त छँदैछ । अहिले परिवारको कुरा आएकाले मैले भनेको ।
अर्को कुरा मैंले मेरो भाउजुहरुसित कुरा गरेको थिँए । मैले प्रकाश दाईको श्रीमतीसित कुरा गरेको थिए । उहाँले भन्नुभयो, ‘तपाई भन्दिनुस् हाम्रो पुरा परिवारले शेखरलाई सहयोग गर्छ । सबैले शेखरलाई सपोर्ट गर्छ । प्रकाशले मनिषाले, सिद्धार्थले सपोर्ट गर्छन् ।’
त्यसपछि मैंले इन्दिा भाउजुसँग सोधे (ज्योति दाको परिवार) तपाईंको के छ विचार ? म त शेखरदा लाई सपोर्ट गर्ने भए भन्दा उहाँले हाम्रो पुरा परिवारले शेखरलाई सपोर्ट गर्ने हो भन्नुभयो । भनेसि हामी सबै एक ठाउँमा आइसक्यौं । मलाई विश्वास छ शशांकले पनि अहिलेको परिस्थिति बुझेर सपोर्ट गर्नुहुन्छ । किनभने बीपीको लिगेसी यही हो । शेखरले बोकेर हिड्या छन् बिपीको लिगेसीलाई । त्यसलाई हामीले समर्थन गर्नुपर्छ । सानातिना कुरा बिर्सनुपर्छ । अब बीपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त लिएर हिड्ने हो भने शशांकले पनि यहाँ आउनैपर्छ । र उहाँ आउनुहुन्छ मलाई विश्वास छ ।
अब राष्ट्रपतिको बारेमा सानो कुरा भन्छु । मलाई चित नबुझ्या कुरा । राष्ट्रपति भन्या साझा हो कुनै पार्टीको हैन । राष्ट्रपतिले को मान्छेलाई कहाँ नियुक्ति गर्ने त्यो राष्ट्रपतिले भन्ने हैन । कसलाई यो ठाउँमा राख्ने नराख्ने त्यो कुरा राष्ट्रपतिको हैन । राष्ट्रपति धेरै माथि उठेर काम गर्ने हो । राष्ट्रपतिले कोटा लिने हैन । तर हिजोआज के भयो भने नेपाली काँग्रेसले कोटा दिन्छ राष्ट्रपतिलाई । राष्ट्रपतिले कोटा लिन हुन्छ ? त्यत्रो हाइपोष्टले कोटा लिने ? मैले मन्त्रीको विरोध गर्या हैन । मन्त्री राम्रो मान्छे बन्नुभाछ समर्थन छ । तर पार्टीले मन्त्री बनाउन सक्थ्यो नि त राष्ट्रपतिको कोटा रे । अनलाइनमा न्युज हेर्दा नि लाज लाग्यो मलाई ।
(पूर्वजिल्ला सभापतिहरुले काठमाडौंको आनन्द इभेन्टमा गरेको कार्यक्रममा सुजाता कोइरालाले गरेको भाषण जस्ताको त्यस्तै)

प्रतिक्रिया दिनुहोस्