४ आश्विन २०८१, शुक्रबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पर्वतमा मेलाको आम्दानीले विद्यार्थीलाई पोसाक र यातायात सुविधा

१४ साउन, पर्वत । गत जेठमा सम्पन्न २५ सय ६८औँ बुद्धजयन्ती मेलाबाट सङ्कलित रकमले यहाँको एक विद्यालयका विद्यार्थीलाई पोसाक र यातायात सुविधाको व्यवस्था गरिएको छ ।

यहाँको जलजला गाउँपालिका–९ बनौँमा सञ्चालित बनौँ युवा क्लबद्वारा सञ्चालित मेलाको आम्दानीले स्थानीय बनौँ माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई पोसाक वितरण गर्नाका साथै निःशुल्क विद्यालय आवजावत गर्न यातायात सुविधा मिलाइएको हो ।

बनौँ युवा क्लबले विद्यालयमा अध्ययनरत एक सय ४५ जना विद्यार्थीहरूका लागि रु एक लाख ५० हजारमा ‘ट्र्याकसुट’वितरण गरेको क्लबका सचिव लुक पुनले जानकारी दिए । उनका अनुसार गाउँको एकमात्र माविमा रहेका गरिब, विपन्न तथा असहाय परिवारका विद्यार्थीलाई प्रोत्साहनस्वरुप पोसाक वितरण गरिएको हो ।

आइतबार बनौँ माविमा एक कार्यक्रम आयोजना गरी पोसाक वितरण गरिएको थियो । कार्यक्रममा जलजला गाउँपालिका–९ का वडाअध्यक्ष गौबहादुर पुनले पोसाक वितरण गरेर क्लबले सामाजिक उत्तरदायित्व बहन गरेको बताए । उनले विद्यालयको विकास र विद्यार्थीको सहजताका लागि यातायातको सुविधा मिलाइएकामा प्रशंसा गरे ।

टाढाबाट पढ्न आउने विद्यार्थीलाई नियमित विद्यालय आउजाउ गर्न यातायातको सुविधा क्लबले मिलाएको छ । उक्त सुविधाका लागि चालु आर्थिक वर्षमा रु तीन लाख विनियोजन गरेको छ । गाउँमै सञ्चालित जिप तथा बसलाई वार्षिक रु तीन लाख दिएर नियमित विद्यालय लैजाने व्यवस्था मिलाइएको क्लबका अध्यक्ष राजकुमार पुनले जानकारी दिए ।

यो सुविधासँगै टाढाका विद्यार्थीहरु आजैदेखि पैदल हिँडेर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य भएको छ । अहिले डेढदेखि दुई घण्टा टाढासम्मका विद्यार्थीहरु पैदल हिँडेर पढ्न आउने गरेका छन् । कतिपय विद्यालय नजिकै डेरा लिएर बस्नुपर्ने बाध्यतासमेत रहेको क्लबका अध्यक्ष पुनको भनाइ छ ।

समयमै विद्यार्थी विद्यालय आउन पाउँदा उनीहरुको पठनपाठनमा सुधार हुने अपेक्षा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर पुनले बताए । घण्टौँ हिँडेर विद्यालय आउनुपर्ने बाध्यता अन्त्य हुँदा विद्यार्थी र अभिभावक हर्षित छन् ।

बनौँ युवा क्लबले बुद्धजयन्तीका अवसर पारेर गत जेठ १० देखि १९ गतेसम्म मेला सञ्चालन गरेको थियो । उक्त मेलाबाट खर्च कटाएर रु ११ लाख २५ हजार मुनाफा भएको थियो । मुनाफामध्ये रु ५० हजार स्थानीय बनौँ आमा समूहलाई वाद्यवादन सामग्री तथा पोसाक खरिदका लागि सहयोग गरिएको क्लबका सचिव लुक पुनले जानकारी दिए ।

मगर समुदायमा आयोजना हुने बुद्धजयन्ती मेलालाई मनोरञ्जन मात्रै नभई सामाजिक सेवामा जोड्न विद्यालयमा सहयोग गरिएको क्लबका अध्यक्ष पुनको भनाइ छ । मेलामा खेलकुदसहितका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्