३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय मुख्‍य समाचार राजनीति

भेनेजुएला : मडुरो राष्ट्रपतिको चौथो कार्यकालका लागि अनुमोदित, विपक्षीद्वारा मतपरिणामलाई अस्वीकार

१४ साउन, भेनेजुएला । भेनेजुएलाको राष्ट्रपति चुनावमा निकोलस मडुरो चौथो कार्यकालका लागि विजयी घोषित भएका छन् ।

मडुरोले ५१.२ प्रतिशत मत प्राप्त गरी विजयी भएको र विपक्षी उम्मेदवार एडमुन्डो गोन्जालेज उरुटियाले ४४.२ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन परिषद्ले जनाएको छ ।

विपक्षी र क्षेत्रीय छिमेकी केही मुलुकले तत्काल आधिकारिक नतिजालाई अमान्य बताएका छन् ।

निर्वाचन परिषद्बाट मतपरिणामको घोषणापछि राष्ट्रपति मडुरोले राष्ट्रपति भवनमा समर्थकहरूलाई सम्बोधन गरे। सम्बोधनमा उनले भने, “भेनेजुएला र विश्वका जनतासामु बोलिभारियाली गणतन्त्र भेनेजुएलाको पुनः निर्वाचित राष्ट्रपतिमा म निर्वाचित भएको छु । मेरो आगामी जिम्मेवारी देशमा शान्ति, स्थायित्व र न्यायका लागि हुनेछ । सबैले शान्ति र सुव्यवस्थाको सम्मान गरौँ ।”

तर भेनेजुएलाको विपक्षी गठबन्धनले निर्वाचन परिषद् तथ्याङ्क (मत परिणाम) लाई अस्वीकार गर्दै आफूले ७० प्रतिशत मत प्राप्त गरेको दाबी गरेको छ ।

“हामी भेनेजुएला र विश्व समुदायलाई भेनेजुएलाको नयाँ राष्ट्रपतिमा डमुन्डो गोन्जालेज उरुटिया निर्वाचित भएको जानकारी गराउन चाहन्छौँ,”विपक्षी नेता मारिया कोरिना माचाडोले पत्रकार सम्मेलन गरी बताए । उनले चुनावमा आफ्नो दलले बृहत् समर्थनसहित निर्वाचित बनेको दावी गरे ।

कोस्टारिकाका राष्ट्रपति रोड्रिगो चाभेजले नतिजालाई ‘कपटपूर्ण’भन्दै निर्वाचनको आधिकारिकतामाथि प्रश्न उठाएका छन् भने चिलीका राष्ट्रपतिले परिणामलाई ‘विश्वास गर्न’ कठिन भनी प्रतिक्रिया दिएका छन् ।

पेरुले मतपरिणामबारे परामर्शका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको बताएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भेनेजुएलाको निर्वाचन परिणामले भेनेजुएलाका मतदाताको इच्छालाई प्रतिबिम्बित नगरेको भन्दै मतपरिणामप्रति अविश्वास प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्