१४ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति

‘मावन–वन्यजन्तु द्वन्द्वलाई शून्यमा झार्दै संरक्षणमा ध्यान दिऔँ’

१४ साउन, काठमाडौँ । सांसद ठाकुरप्रसाद गैरेले लोपोन्मुख बाघको संरक्षणमा नेपालले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई शून्यमा झार्दै लोपोन्मुख वन्यजन्तुको संरक्षणमा ध्यान दिन आग्रह गरे ।

अन्तर्राष्ट्रिय बाघ दिवसको सन्दर्भलाई उल्लेख गर्दै सांसद गैरेले बाघको संरक्षणसँगै स्थानीय रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन र अर्थतन्त्रको सुदृढीकरणसँग जोड्ने गरी राष्ट्रिय नीति बनाउन सुझाव दिए ।

सांसद तारा लामा तामाङले बाघको संरक्षण र मानवको सुरक्षालाई ध्यान दिनुपर्नेमा जोड दिए । भरपर्दो विद्युत्को व्यवस्था नहुँदा कञ्चनपुरका दक्षिणी क्षेत्रका किसान प्रभावित बनेको उल्लेख गर्दै उनले बैकल्पिक व्यवस्था गरेरै भए पनि सिँचाइको प्रबन्ध मिलाउन आग्रह गरे।

सांसद डा तोसिमा कार्कीले भ्रष्टाचारको मुद्दा दायर भएसँगै ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख र उपप्रमुखसहित १४ जना निलम्बित परेको घटना सुनाउँदै स्थानीय तह अभिभावकविहीन बनेकाले राज्यले सो समस्या छिटो सम्बोधन गर्न माग गरे ।

“आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट अलपत्र छ । कार्यवाहक कसले लिने भन्ने अन्योलता छ । निलम्बित हुँदा वैकल्पिक नेतृत्व कसलाई दिने कानुनी स्पष्टता हुनुपर्छ”, उनले भने ।

सांसद दामोदर पौडेल बैरागीले कास्कीमा भएको स्कुल बस दुर्घटनाप्रति दुःख व्यक्त गरे ।

सांसद दिपक गिरीले नेपाल जडिबुटी उपलब्धताको दृष्टिकोणले विश्वकै सम्पन्न मुलुक हुँदा पनि हालसम्म उच्च हिमाली क्षेत्रमा पाइने जडिबुटीका बारेमा अनुसन्धान नहुनु बिडम्बना भएको बताए ।

सांसद दिपकबहादुर सिंहले जथाभावी सडक निर्माण गर्ने कार्यले मनसुनका समयमा राष्ट्रिय राजमार्ग अस्तव्यस्त भएको उल्लेख गर्दै सुरक्षित सडकका लागि नीति र मापदण्ड बनाउन सुझाव दिए ।

सांसद दुर्लभ थापा क्षेत्रीले भूकम्पबाट क्षतिग्रस्त भएको भक्तपुरकै जेठो पद्म हाइस्कुलका लागि सुविधा सम्पन भवन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद देवप्रसाद तिमिल्सेनाले दुग्ध किसानले नौ महिनासम्म भुक्तानी पाउन नसकेको यथार्थ प्रस्तुत गर्दै साउन महिनाभित्र दूधको बक्यौता भुक्तानी गर्न माग गरे ।

सांसद नारायणप्रसाद आचार्यले किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद निशा डाँगीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको भौतिक प्रगति कस्तो भइरहेको छ ? भनी प्रधानमन्त्री र खेलकुदमन्त्रीसँग जवाफ माग गरे।

सांसद विन्दवासिनी कङ्साकारले पूराना सवारी साधनबाट वायु प्रदूषण बढेको उल्लेख गर्दै नियमित जाँच गरी प्रदूषण निणन्त्रणमा ध्यान दिन आग्रह गरे ।

बैठकमा सांसदहरु विनिता कठायत, विमला सुवेदी, धनराज गुरुङ, ध्रुवबहादुर प्रधान, नारायणप्रकाश साउद, प्रेमबहादुर महर्जन, वासुदेव घिमिरे, पुष्पबहादुर शाह, पूर्णबहादुर घर्ती मगर, प्रतीक्षा तिवारी, नारायणी शर्मा र दुर्गा राईले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्