३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार समाज

सेनाको आक्रमणबाट हजबुल्लाहका कमाण्डर शुक्रको मृत्यु भएको इजरायलको दाबी 

१६ साउन, काठमाडौं । लेबनानको राजधानी बेरुतमा इजरायलले जवाफी हमला गर्दा ३ जनाको मृत्यु भएको छ । उक्त घटनामा ७४ जना घाइते भएका छन् ।

इजरायली सेनाले इरान समर्थक आतंकवादी संगठन हिजबुल्लाहका कमाण्डर हज मोहसिन उर्फ फुआद शुक्रको मृत्यु भएको दाबी गरेको छ ।

इजरायली सेनाले गोलान हाइट्समा भएको आक्रमणका लागि फुआद शुक्रर जिम्मेवार रहेको आरोप लगाउँदै आएको थियो ।

शनिबार हिजबुल्लाहले इजरायलमा विगत १० महिनामा सबैभन्दा ठूलो हमला गरेको थियो । गोलान हाइट्सको फुटबल मैदानमा लेबनानबाट रकेट प्रहार गरेका थिए । जसमा १२ जनाको मृत्यु भएको थियो भने करिब ३० जना घाइते भएका थिए । यसको जवाफमा इजरायली सेनाले हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इजरायलका रक्षामन्त्री योभ गालान्टले फुआद शुकारको मृत्युपछि खुशी व्यक्त गरेका छन् । उनले शुक्ररले धेरै इजरायलीहरूको हत्या गरेको बताउँदै यसको बदला लिएको उल्लेख गरेका थिए ।

रक्षामन्त्री गालान्टले इजरायली जनताको रगतको मूल्य रहेको बताउँदै  सिपाहीहरूले इजरायली जनताका हत्याराहरूलाई संसारको जुनसुकै कुनाबाट खोजेर मार्ने पनि प्रष्ट पारेका छन् ।

यस्तै, सीएनएनका अनुसार फुआद शुक्रलाई अल–हज मोहसिन पनि भनिन्छ । सन् १९८३ मा बेरुतमा अमेरिकी मरीन कोर्प्स ब्यारेकमा भएको बम विष्फोटमा उनले ठूलो भूमिका खेलेका थिए । जसमा २४१ अमेरिकी सैनिक मारिएका थिए भने १२८ जना घाइते भएका थिए ।

फुआद शुक्रलाई सन् २०१९ मा अमेरिकाले अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गरेको थियो । अमेरिकाले उनको बारेमा जानकारी दिनेलाई ५० लाख डलर इनाम राखेको थियो ।

उता, लेबनानी सरकारी अधिकारीले भने हिजबुल्लाह कमाण्डर फुआद शुक्र इजरायली हमलाबाट बच्न सफल भएको दावी गरेका छन् । मंगलबारको जवाफी कारबाहीपछि इजरायल र हिजबुल्लाहबीच द्वन्द्व बढ्ने खतरा छ । दुवैले केही समयदेखि एकअर्कालाई आक्रमण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्