७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज

राजधानीको केन्द्रमा स्काई भ्यु टावर : २५औं तलामा ‘वाक’

१६ साउन, काठमाडौं । सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि काठमाडौंको कमलादीमा संचालन भएको स्काई वाक टावर संचालनमा आएको एक वर्ष भयो ।

जमिनदेखि ७८.५ मिटर अग्लो टावरमा ६५ मिटर उचाइमा सिसामाथि हिड्न सकिन्छ । २५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चडेर र बाँकी तीन तलामा सिँढीमार्फत माथि जान सकिन्छ । दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता रहेको वन्डर्स ग्रुप प्रा.लि.का अध्यक्ष आकर्षण पोखरेलले बताए ।

प्राकृतिक परिवेशको मनोरम दृश्यहरू प्रदान गर्ने स्काइ वाक पछिल्लो समय  आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ ।

आगन्तुकहरूले अवलोकन डेकबाट धार्मिक तथा एतिहासिक महत्वका स्थलहरु जस्तै धरहरा, रानीपोखरी, घण्टाघर, स्वयम्भु, नारायणहिटी संग्रहालयका साथै पहाड र हिमालहरूलाई समेत नजिकैबाट अवलोकन गर्न सकिने भएका कारण आन्तरिक एवम्र बाह्य पर्यटकको प्रथम रोजाई बन्न पुगेको वन्डर्स ग्रुपका अध्यक्ष पोख्रेलले बताए ।

उनले भने, ‘साहसिक खेल खेल्न चाहानेका लागि स्काई वाक उचित गन्तव्य बन्न पुगेको छ । यस स्काईवाकबाट काठमाडौंका विभिन्न रमणीय क्षेत्रहरुको अवलोकन गर्न पाइने भएकाले आकर्षण बढ्दै गइरहेको हो । स्काइ वाकमा पाँच प्रतिशत विदेशी र  बाँकी ९५ प्रतिशत नेपालीहरु साहसिक स्काइ वाक गर्नका लागि आउनुहुन्छ । स्काइवाकबाट धरहरा, त्रिभुवन विमानस्थल रानी पोखरी लगायतका सुन्दर दृश्यावलोकन गर्न यहाँबाट सुन्दर देखिन्छ ।’

टावरमा हिँड्नका लागि प्रयोग गरिएको सिसा ब्रिटिस स्ट्याण्डर्डको प्रयोग गरिएको छ ।  टावरको २३ र २४ औँ तलामा रेष्टुरेन्ट र क्लब रहेको छ । जहाँ एकैपटक तीन सय मानिसले सेवा लिन सक्नेछन् । स्काइ वाक टावरको कम्पाउण्डमा एम्फी थिएटर र फास्ट फुड रेष्टुरेन्ट रहेको छ ।

कति छ प्रवेश शुल्क ? 

स्काइ टावरमा जानका लागि प्रतिव्यक्ति एक हजार शुल्क तिर्नुपर्ने वन्डर्स ग्रुप प्रा.लि.का अध्यक्ष आकर्षण पोखरेलले बताए । सेफ्टी इक्युपमेन्टको व्यवस्थापन, कर समेत गरेर प्रतिव्याक्ति एक हजार रुपैयाँ शुल्क लिने गरेको पोख्रेलको भनाइ छ ।

टावरमा प्रवेश गर्नका लागि ८० वर्षमाथिका वृद्ध र ३ फिट उचाइसम्मका बच्चाहरु शुल्क लाग्दैन । त्यस्तै, विषेश क्षमताका मानिहरुको प्रवेशमा ५० प्रतिशत छुटरहेको पोख्रेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्