७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज

तीन लाख ४० हजारको आँखाको उपचार

१६ साउन, चितवन । पाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा तीन लाख ४० हजार दुई सय ६२ जनालाई आँखाको उपचार गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या तीन लाख २१ हजार छ रहेको थियो । झण्डै छ प्रतिशत बढी बिरामीलाई अस्पतालले सेवा दिएको हो । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार बाह्य शिविरबाट ३९ हजार २३ जनालाई सेवा दिइएको छ ।

स्कुलमा पुगेर ३५ हजार चार सय ८० बालबालिकाको आँखा परीक्षण गरिएको घिमिरेले बताए । चितवनसहित छिमेकी जिल्लामा अस्पताल मातहत १७ आँखा उपचार केन्द्रमार्फत सेवा दिँदै आएको छ ।

ती केन्द्रबाट ५२ हजार एक सय ४९ जनाले सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ३४ हजार एक सय रहेको थियो । यो अघिल्लो वर्ष भन्दा ५२ दशमलव ९१ प्रतिशतले बढी हो । मुख्य अस्पताल रहेको भरतपुरबाट एक लाख ६१ हजार सात सय ७६ जनाले सेवा लिएका छन् । यो अघिल्लो वर्षको भन्दा चार प्रतिशतले बढी हो ।

सूचना अधिकारी घिमिरेका अनुसार सो अवधिमा ११ हजार चार सय ३५ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अघिल्लो आर्थिक वर्ष यो सङ्ख्या १० हजार चार सय १५ रहेको थियो । अघिल्लो वर्ष भन्दा गत आर्थिक वर्षमा नौ दशमलव ७९ प्रतिशत बढीको आँखाको शल्यक्रिया गरिएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठका अनुसार एउटा विशेषज्ञ सेवा सहितको अस्पताल, तीन सेकेन्डरी अस्पताल र १७ आँखा उपचार केन्द्र रहेका छन् । भरतपुर महानगरपालिका वडा नं १० मा विशेषज्ञ सेवासहितको सुविधा सम्पन्न अस्पताल रहेको छ । पर्साको ठोरी, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को कावासोती र बाराको सिम्रनगढमा आँखाको सेकेण्डरी अस्पताल रहेको छ ।

भरतपुर नजिकै आँखाको सहरी क्लिनिक रहेको छ । चितवन, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), धादिङ्, तनहुँ, बारा, पर्सा, सर्लाही र सिन्धुलीमा १७ वटा आँखा उपचार केन्द्रमार्फत सेवा दिँदै आएको अध्यक्ष श्रेष्ठले बताए। अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा बिरामीको चाप बढेको उनले बताए ।

अस्पतालका निर्देशक डा पुष्पा गिरी श्रेष्ठले सहरसँगै ग्रामीण क्षेत्रमा आँखाका बिरामी विभिन्न कारणबाट अस्पतालसम्म आउन नसकेको भन्दै गाउँगाउँमा शिविरमार्फत उपचार दिने गरिएको बताए ।

शिविरहरुमा समस्या देखिएका बिरामीलाई सेकेण्डेरी अस्पताल र विशेषज्ञ अस्पतालमार्फत थप उपचार सेवा दिने गरेको उनले बताए । अहिले नेपालमा उपलव्ध अधिकांश आँखा उपचार सेवा दिन अस्पताल सक्षम रहेको निर्देशक श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्