७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज

चुरेवासीमा जाग्दै आशा

१७ साउन, महोत्तरी । सरकारले आफ्ना क्षेत्रका सम्भावनाबारे चासो बढाएपछि महोत्तरीका चुरेक्षेत्रका बासिन्दामा नयाँ आशा पलाएको छ । केन्द्र, प्रदेश र स्थानीय तहको चासोले चुरे क्षेत्रका बासिन्दामा नयाँ कामको थालनी हुने र यसले आपूmहरुको जीवनमा सकारात्मक प्रभाव पार्ने आश जागेको हो ।

“हाम्रो यो कन्दरामा कोही आउँदैनथे, यसपालि साउन लागेयता उच्च सरकारी अधिकारीहरुको बाक्लै आउजाउ छ, अब त यहाँ केही काम हुन लागेको हो कि”चुरेकाछको बर्दिबास–३ राइमण्डलधामकी ७० वर्षीया चन्द्रमाया पुलामी भन्छन्, “अब यहाँ विकासका काम बढे त हाम्रो ठाउँको मुहार फेरिएला कि ।”साउन पहिलो साता मधेसका मुख्यमन्त्री शतिशकुमार सिंह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिलअली मियाँ छुट्टाछुट्टै पुग्नु भएर स्थानीयवासीसँग छलफल गर्नु भएपछि यस बस्तीमा केही हुने आशा चन्द्रमायामा पलाएको हो ।

चन्द्रमायाजस्तै राइमण्डलधाम बस्तीका बासिन्दा उत्साहित बनेका छन् । “हाम्रो ठाउँको मन्दिर र पाखा वरपर अब विकासका काम हुने कुरा छ”सो बस्तीकै ६० वर्षीय दिलबहादुर रानामगर भन्छन्, “यहाँ बाटोघाटो र अरू विकासका काम भए हामीले उब्जाएका फसल राम्रो मूल्यमा बिक्नेछन् ।”आफुहरुले फलाउने परबल, चना, बेसार, अदुवा र आफ्ना गाईभैँसीको दूधले, बजार पाउने आशा उनीहरुमा पलाएको छ ।

राइमण्डल मात्र नभएर अहिले चुरे क्षेत्रकै बर्दिबास–५ स्थित टुटेश्वरधाम र बर्दिबास–४ को माईस्थानस्थित पञ्चधुरामाईस्थान वरपरका बस्तीमा पनि आफ्नो ठाउँको विकासबारे निकै चासो बढेको छ । यसपालि साउने मेलाको अवसरमा मुख्यमन्त्री सिंह र मन्त्री मियाँले टुटेश्वर, पञ्चधुरा माईमन्दिर, राइमण्डलधाम र बर्दिबास–३ पाटुस्थित मध्यपाषणकालीन हतियार कारखाना क्षेत्रको स्थलगत अवलोकन र स्थानीयवासीसँग विकास निर्माणका बारेमा छलफल गरेका थिए। त्यसअघि प्रदेशकै गृह तथा सञ्चारमन्त्री राजकुमार लेखी र पछि भौतिक पूर्वाधारमन्त्री सरोज यादवको अवलोकन भ्रमणले स्थानीयवासीमा चासो र उत्साह जगाएको हो ।

यसपालि सङ्घीय र प्रदेश सरकारले चुरेक्षेत्रका धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका ठाउँको विकासमा गहिरो रुचि देखाएको यहाँका बासिन्दाको बुझाइ छ । “बजेटमा यहाँका कुरा परेका छन् रे, अनि मन्त्रीहरु पनि आउजाउ र हामीसँग छलफल गरिरहेका छन्,”चुरेकाछकै बर्दिबास–३ पाटु बस्तीका ६५ वर्षीय होमबहादुर खड्का भन्छन्, “अब केही काम अघि बढ्लाजस्तो छ ।”

अवलोकन भ्रमणकै क्रममा मुख्यमन्त्री सिंहले प्रदेश सरकारले रातु राइमण्डल पर्यटन विकास क्षेत्रमा ८० लाख, टुटेश्वरधाम क्षेत्रमा ५० लाख, पञ्चधुरा माईमन्दिरमा ५० लाख र बर्दिबास–३ पाटुमा ताल सौन्दर्यीकरणका लागि रु ५० लाख गरी चुर क्षेत्रमै रु दुई करोड ३० लाख रकम विनियोजित रहेको आपूmहरुलाई बताउनुभएको यहाँका बासिन्दा बताउँछन् । यसबाहेक केन्द्र सरकारले पनि रातु राइमण्डल पर्यटन विकास क्षेत्रमा रु ४५ लाख र टुटेश्वरधाम क्षेत्रको पूर्वाधार विकासमा ३६ लाख विनियोजन गरेको छ ।

केन्द्र र प्रदेश सरकारबाट विनियोजित रकम विस्तृत परियोजना प्रस्ताव निर्माण र पूर्वाधार विकासमा एउटै डालाबाट खर्च गरिनुपर्ने यहाँका स्थानीयवासी बताउँछन् । “केन्द्र र प्रदेश सरकार मात्र हैन, स्थानीय तहले पनि यी क्षेत्रमा लगाउने रकम एक ठाउँ जम्मा गरेर खर्च गर्ने प्रणाली बसाउनुपर्छ, यसले कामको गुणस्तर र मात्रा दुवैमा सकारात्मक प्रभाव पार्छ,”बर्दिबास–४ का सामाजिक कार्यकर्ता सोम कार्की भन्छन्, “सबैतिरबाट विनियोजित रकम एउटै डालामा राखेर विस्तृत परियोजना प्रस्ताव बनाएर सोअनुसार काम अघि बढे राम्रो परिणाम प्राप्त हुनेछ ।”

चुर क्षेत्रका धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका ठाउँबारे केन्द्र र प्रदेशका सरकारले यहाँका पर्यटकीय गन्तव्यबारे बढाएका चासोले अब चुरे क्षेत्रमा पर्ने मध्यपाषण युगकालीन हतियार कारखाना, गिद्धबास, परेवा पाखा र राइमण्डलधाममा रातु राइमण्डल पर्यटन विकास क्षेत्र शीर्षकबाट काम हुने प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री मियाँले स्पष्ट पारेका छन् । यी ठाउँका कामलाई एक ठाउँबाट काम गर्ने वातावरण मिलाउन केन्द्र सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बर्दिबास नगरपालिकासँग समन्वयको प्रयत्न गरिने मन्त्री मियाँको भनाइ छ ।

नयाँ आर्थिक वर्षको प्रारम्भताका नै यस भेगका बासिन्दा र प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको चासोले यसपालि समयमै यी प्रस्तावित क्षेत्रका काम अघि बढ्ने यहाँका सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको धारणा बनेको छ । नयाँ आर्थिक वर्ष सुरु हुनासाथै यहाँका कामबारे सरकारी चासो देखिनु सुखद भएको होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका महासचिव नारायण घिमिरे बताउछन् । “मुख्यमन्त्री सिंहले चुरे क्षेत्रका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका ठाउँको पूर्वाधार विकासका लागि स्थानीय मौलिकता गुम्न नदिई दीर्घकालीन योजना बनाइन पहल थालिने आश्वासन दिनुभएको छ,”खड्का भन्छन्, “अहिले मुख्यमन्त्रीको दौडधुपमा कामको हुटहुटी देखिन्छ, अब यस भेगका कामले गति लिनेछन् ।”

खड्काले पछिल्लोपटक सरकारले आपूmहरुका प्रस्तावबारे लचकता देखाएको प्रतिक्रिया दिएका छन्। “हामीले गत माघ ६ गतेदेखि गत जेठ मसान्तसम्म चुरेक्षेत्रका पर्यटकीय गन्तव्यको पहिचान गर्न १० वटा सामाजिक सङ्घसंस्थाको पहलकदमीमा पदयात्रा गर्दा ठम्याइएका ३५ स्थानबारे मुख्यमन्त्रीलाई जानकारी गरायौँ,”बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले भने, “मुख्यमन्त्री र प्रदेश सरकारका मन्त्रीहरुको सकारात्मक चासो बढेको छ, अब यस क्षेत्रका विकास कार्यले गति लिने विश्वास जागेको छ ।”

पर्यटन गन्तव्यका लागि पदमार्गीले पहिचान गरेका ३५ ठाउँको परिचयसहित सो क्षेत्रमा गर्न सकिने कामबारे पदमार्गमा सम्मिलित संस्थाहरुले स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारलाई प्रतिवेदन नै दिइएको खड्काको भनाइ छ । यसपालि नयाँ आर्थिक वर्षको बजेटमा प्रदेश र केन्द्र सरकारले गरेको सम्बोधनले सर्वसाधारणमा आशा जगाएको खड्का बताउछन्।

सन् १९७५ देखि १९८५ सम्म १० वर्ष लगाएर जर्मन नागरिक गुडन कर्विन्सले चुरे क्षेत्रको पाटु वरपर गरेको खोज अन्वेषणमा रातो माटोले पुरिएको अवस्थामा ढुङ्गे हतियारहरु भेटिएपछि यो नै मध्यपाषण युगको हतियार कारखाना भएको निष्कर्ष कर्विन्सले निकालेका थिए । सो समय १० देखि १२ हजार वर्ष पुरानो रहेको उहाँले आफ्नो खोज कृति ‘प्री हिस्टोरिकल कल्चर्स इन नेपाल’–भाग १ मा उल्लेख गरेका छन् । हतियार कारखाना रहेको अहिलेको पाटु र रातु नदी वरपरको त्यतिखेरको मानव सभ्यता भियतनामसँग मेल खाने कर्विन्सले उल्लेख गर्नुभएको सन्दर्भ मुख्यमन्त्री सिंहले यसबारे निरन्तर खोज अध्ययन गरिरहनुभएका पत्रकार विशाल बस्नेतबाट जानकारी लिए । कर्विन्सको खोज अन्वेषणका सामग्री हाल पुरातत्व विभागमा रहेका छन् ।

कर्विन्सले आफ्नो पुस्तकमा उल्लेख गरेअनुसार ढुङ्गा, पशुवस्तुका हाड र काठबाट निर्मित एकातिरको भाग धारिलो बनेका हतियार हजारौँ सङ्ख्यामा भेटिएका थिए । अहिलेको पाटुको रातमाटे डाँडाक्षेत्रमा खनिदा ३० देखि ७० सेन्टिमिटरमुनि यस्ता हतियार भेटिएका कर्विन्सको वर्णन छ । यी हतियार त्यतिखेरको भारतका हतियारसँग मेल नखाएका हुँदा यहाँ भारततर्फबाट दक्षिणपूर्व तर्फबाट आएका हुनसक्ने कर्विन्सको अड्कल छ ।

पछिल्ला तीन महिनायता नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेश समितिले ‘घुमौँ मधेस, बुझौँ मधेस’भन्ने नारासहित प्रदेशभित्रका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा वातावरणीय दृष्टिले खास महत्वका ठाउँको पहिचान गर्दै यिनको विकासमा स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । “हामीले पर्यटन विकासको प्रचुर सम्भावना बोकेको मधेसबारे अब स्थलगत रुपमै चासो जगाउने अभियान थालेका छौँ,”बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिका संयोजकसमेत रहेका महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतम भन्छन्, “अभियानको पहिलो चरणमा राज्यका विभिन्न निकायका पदाधिकारी तथा पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिसहित सर्वसाधारणको चासो बढेको छ ।”महोत्तरीका चुरे क्षेत्रका पर्यटकीय गन्तव्य र यिनको विकासका कुरामा सरकारका प्रतिनिधि र विभिन्न निकायमा बढेको चासोले अब काम अघि बढ्ने वातावरण मिल्दै गएको गौतम बताउछन् ।

महोत्तरीमा चुरे पहाडी क्षेत्र बर्दिबास नगरपालिकाले मात्र ओगटेको छ । त्यसैले यस ठाउँको विकासमा मुख्यतः बर्दिवास नगर नेतृत्वकै पहलकदमी हुनपर्ने यस भेगका बासिन्दा बताउँछन् । वन सम्पदा तथा जलाधार क्षेत्रले जिल्लाभरि नै प्रभाव पार्ने हुँदा यिनको संरक्षणमा सबै स्थानीय तहको ध्यान पुग्नपर्ने चुरे तथा जलाधार क्षेत्रको संरक्षणमा लामो अनुभव सँगाल्नु भएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउछन् ।

चुरे क्षेत्रका पर्यटकीय गन्तव्यको पहिचान र यिनको संवद्र्धनका क्षेत्रमा यहाँका सामाजिक सङ्घसंस्थाले औँल्याएका स्थलबारे नगरपालिकाको चासो रहेको बर्दिबास नगरप्रमुख प्रह्लादकुमार क्षेत्री बताउछन्। “हामीले पर्यटन र संस्कृतिका क्षेत्रमा मसिनो गरी काम बढाउन संस्थागत प्रयत्न थालेका छौँ, यस क्षेत्रका काम हेर्न नगरमा संस्कृति तथा पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ,”क्षेत्रीले भने, “हाम्रो साधन स्रोत सीमित छ, हामी यसलाई अधिकतम परिचालित गर्दैछौँ, प्रदेश र केन्द्र सरकारको सहयोग जरुरत पर्दछ ।”पछिल्लो समय तीनै तहका सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी र सामाजिक सङ्घसंस्थाको चुरे क्षेत्रका पर्यटकीय गन्तव्यबारे चासो बढेपछि अब यस भेगमा योजनाबद्ध काम अघि बढ्ने यस भेगका बासिन्दामा विश्वास बढेको छ ।

प्रतिक्रिया दिनुहोस्